तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

तथ्य जाँच : के पशुपतिनाथ मन्दिरको गजुर खसेको हो?


तथ्य जाँच : के पशुपतिनाथ मन्दिरको गजुर खसेको हो?

काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिरको गजुर खसेको र अब अनिष्ट हुने दावी सोसल मिडियामा भाइरल भएको छ।

तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक पुष्टि भएको छ। पशुपति क्षेत्र विकास कोषका पदाधिकारीका अनुसार पशुपतिनाथ मन्दिरको गजुर खसेको छैन। गजुरको दायाँ बायाँ राखिएको पाताको छत्रावलीको एउटा सानो टुक्रा चोइटिएको मात्र हो जसलाई गजुर भन्न मिल्दैन।

के छ दावी ?

२०२५ मार्च ११ मा मूलधारन्युज नामको फेसबुक पेजले महेन्द्रनगरपोष्ट डट कममा प्रकाशित ‘पशुपतिनाथको गजुर खस्यो, अनिष्ट संकेत’ शीर्षकको ‘समाचार’ सेयर गरेको छ।

यो तथ्यजाँच गर्दासम्म यो पोस्टमा १ हजारभन्दा बढी रियाक्सन, ७० कमेन्ट र २१ सेयर छन्। अर्काइभ लिङ्क। हेर्नुस् स्क्रिनसट-

उक्त समाचारको लिडलाइनमा लेखिएको छ, ‘काठमाडौँ जिल्लास्थित नेपालकै प्रमुख ऐतिहासिक, धार्मिक एवं पर्यटकीय तीर्थस्थल पशुपतिनाथको गजुर खसेको छ। आज मन्दिरको मूल सुनको गजुर खसेको हो। ज्ञाताहरुका अनुसार धार्मिक दृष्टिले यो अनिष्टको संकेतसमेत हो’

त्यसैगरी अर्को सामाजिक सञ्जाल टिकटकमा यही दावीसहितको एउटा भिडियो झन् धेरै भाइरल भएको छ। @ravidhami462 ह्यान्डलबाट पोस्ट भएको भिडियोमा १६ हजारभन्दा बढी लाइक, ५ सयभन्दा बढी कमेन्ट, १९९ सेयर र ३६० फेभरेट देखिन्छ। यो तथ्य जाँच गर्दासम्म २ लाख ३९ हजारले भिडियो हेरिसकेका छन्। अर्काइभ लिङ्क।

हेर्नुस् स्क्रिनरेकर्ड-


हिन्दुहरुको आस्थाको केन्द्रका रुपमा रहेको मन्दिरको विषय रहेको र हाम्रो इमेल [email protected] र हाम्रो ह्वाटसएप नम्बर +9779886069780 मा यो विषयको तथ्य पत्ता लगाउन अनुरोध आएकोले हामीले यसबारे तथ्य जाँच गर्‍यौँ।

तथ्य के हो ?

यो विषयमा बुझ्न हामी पशुपतिनाथ मन्दिर परिसरमा पनि पुग्यौँ । मन्दिर परिसरबाट हेर्दा गजुर खसेको देखेनौँ। मन्दिरको गजुर स्वभाविक रुपमा देखिन्थ्यो ।

हेर्नुस् फोटो-

थप बुझ्नका लागि हामीले हामीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापालाई सम्पर्क गर्‍यौँ।

उनले पशुपतिनाथको गजुरलाई केही नभएको बताए।

उनका अनुसार, बाँदरको चकचकको कारण गजुरको दायाँ बायाँ राखिएको पाताको छत्रावलीको एउटा सानो टुक्रा चोइटिएको हो।

“गजुर खसेको होइन, गजुरको दायाँ बायाँ राखिएको पाताको छत्रावली हनुमानजीको चकचकको कारण चोइटिएको हो, त्यस्तो ठूलो क्षति भएको छैन,” उनले भने।

थापाका अनुसार, कोषले कोषकै संस्कृति महाशाखाका प्रमुख डम्बरबहादुर कार्कीको संयोजकत्वमा छत्रावली मर्मत समिति बनाएको छ। पशुपतिनाथका मूलभट्ट गणेश भट्टको निर्देशनमा छत्रावलीको मर्मत कसरी गर्ने भन्ने कार्यविधि बनाएपछि मर्मतको काम सुरु भएको छ।

तथ्यजाँच

दावी : पशुपतिनाथ मन्दिरको गजुर खस्यो।

दावीकर्ता : महेन्द्रनगर पोष्ट

तथ्यजाँच : भ्रामक सूचना। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाका अनुसार गजुरमा कुनै समस्या आएको छैन। गजुरको छेउमा रहेको पाताको छत्रावली चोइटिएको छ जसलाई गजुर भन्न मिल्दैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add