तथ्यजाँच भ्रामक सूचना वागमती

पोलियो खोपमा बाँदरको कोशिका मिसाइएको भनेर फैलाइएको हल्ला भ्रामक


पोलियो खोपमा बाँदरको कोशिका मिसाइएको भनेर फैलाइएको हल्ला भ्रामक

पोलियो खोपमा बाँदरको मिर्गौलाको कोशिका हालिएको र त्यसले बालबालिकाको स्वास्थ्यमा खराब असर गर्ने दावीसहितको एक पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ।

तर हाम्रो तथ्यजाँचले यस्तो दावी भ्रामक भएको पुष्टि गरेको छ। पोलियो खोप बनाउन बाँदरको कोशिका कल्चर गरेर भाइरस उत्पादन गरिए पनि, ती कोशिकालाई खोपको इन्ग्रिडिएन्ट मानिँदैन। अर्थात् त्यो खोपमा मिसिँदैन। साथै, यो खोपले कुनै गम्भीर दुष्प्रभाव पार्ने प्रमाण समेत छैन।

दावी के छ?

फेसबुक प्रयोगकर्ता इमरान आलम ले २०२५ फेब्रुअरी २७ मा एक पोस्ट गर्दै पोलियो खोपमा बाँदरको मिर्गौलाको कोशिका मिसाइएको दावी गरेका छन्। साथै, यस्तो खोपले बालबालिकाको स्वास्थ्यमा असर पार्ने भन्दै प्रश्न उठाउन आह्वान गरिएको छ। पोस्टमा उनले पोलियो खोपमार्फत बालबालिकाको स्वास्थ्यसँग ‘हदैसम्मको खेलवाड’ भइरहेको उल्लेख गरेका छन्।

हेर्नुस् स्क्रिनसट, अर्काइभ लिंक

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा एक सय २१ रियाक्सन, १४ कमेन्ट र ८२ पटक सेयर छ।

जनस्वास्थ्यसँग सम्बन्धित भएको, फेसबुकमा धेरै फैलिएको र हाम्रो फेसबुकमा  यो विषयमा तथ्यजाँच गर्न अनुरोध आएकोले हामीले यो विषयमा तथ्य जाँच गरेका छौँ।

तथ्य के हो ?

यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले स्टानफोर्ड विश्वविद्यालयमा कार्यरत भाइरोलोजी, इम्युनोलोजी र पब्लिक हेल्थमा अनुसन्धान गरिरहेका वैज्ञानिक सुदीप खड्कासँग सम्पर्क गर्‍यौँ।

उनले बताए अनुसार, खोप बनाउन आवश्यक पर्ने भाइरस उत्पादनका लागि बाँदरको मिर्गौलाबाट लिइएका कोशिकाको प्रयोग गरिन्छ। तर, यी कोशिका अन्ततः खोपको अंश हुँदैनन्।

उनी भन्छन्, “खोप बनाउन आवश्यक पर्ने भाइरस आफै बनाउन सकिन्न, त्यसको लागि कुनै न कुनै सेलमा संक्रमण गर्नुपर्छ। र, उत्पादित भाइरसलाई प्रशोधन गरेर शुद्ध बनाइन्छ। यो प्रकियामा भाइरस उत्पादन गर्न प्रयोग गरिएको सेल वा त्यसको अरु कुनै तत्व खोपमा मिसिँदैन। उत्पादित भाइरसलाई प्रशोधन गरेर शुद्ध बनाइन्छ अनि प्रयोग गरिन्छ।”

उनी भन्छन्,  “यसको अर्थ खोपमा बाँदरको मिर्गौला सेल हुन्छ भन्ने हुँदैन।”

हामीले गुगलमा ‘monkey kidney cells in polio virus’ की वर्ड राखेर सर्च गर्‍यौँ। त्यो क्रममा एसोसियट प्रेसमा Post misleads on vaccine ‘ingredients शीर्षकमा प्रकाशित तथ्यजाँच फेला पार्‍यौँ।

यसमा पनि बाँदरको किड्नी सेललाई इन्ग्रिडिएन्ट भनेर दावी गर्नु भ्रामक भएको उल्लेख छ। वैज्ञानिकहरूले भाइरस उत्पादनका लागि ती सेल प्रयोग गर्ने भए पनि, खोपको अन्तिम संरचनामा ती कोशिका हुँदैनन्।

यस्ता कोशिका मेडिकल अनुसन्धान र औषधि परीक्षणका लागि सामान्यतया प्रयोग गरिन्छन् र मानव स्वास्थ्यमा नकारात्मक असर गर्दैनन् भन्ने कुरा पनि त्यसमा उल्लेख छ।

त्यस्तै, दि कलेज अफ फिजिसियन अफ फिलाडेल्फियाको ‘History of Vaccines’ वेबसाइटमा पनि खोप विकासमा सेल कल्चर प्रयोग गरिने तर त्यो इन्ग्रिडिएन्ट नभएको प्रस्ट गरिएको छ।

उक्त लेख अनुसार, अहिले पोलियो मात्र नभएर अन्य धेरै प्रकारका खोप बनाउन बाँदरको मिर्गौलाको कोषिका कल्चर गरेर प्रयोग गरिन्छन्। तर, त्यसलाई भ्याक्सिन इन्ग्रिडिएन्ट भनिन्न।

पोस्टमा दावी गरेजस्तै भ्याक्सिनले असर गर्छ त ?

हामीले तथ्यजाँचको क्रममा विश्व स्वास्थ्य संगठनको ग्लोबल पोलियो इराडिकेशन इनिसियटिभमा प्रकाशित ‘Fighting polio vaccine misinformation’ शीर्षकमा प्रकाशित आलेख भेट्यौँ। उक्त आलेखमा हालसम्म विभिन्न देशमा पोलियो भ्याक्सिनका बारेमा फैलिएको मिथ्या सूचनाको बारेमा चिरफार गरिएको छ । पोलियो खोपले क्यान्सर, एचआइभी र बालबालिका बिरामी हुने जस्ता मिथ्या सूचना फैलिएका थिए।

उक्त आलेखमा पोलियो भ्याक्सिन सुरक्षित र प्रभावकारी भएकाले विश्वका धेरै देशमा पोलियोको महामारी नियन्त्रण गर्न महत्वपूर्ण भूमिका रहेको उल्लेख छ।

तथ्यजाँच

दावी : भ्याक्सिनमा बाँदरको किड्नीका कोषहरु राखिएको हुन्छ।

दावीकर्ता : इमरान आलम नामक फेसबुक प्रयोगकर्ता।

तथ्य : भ्रामक सूचना। पोलियो खोप बनाउन बाँदरको कोष प्रयोग गरिए पनि त्यो अन्ततः खोपमा मिसिँदैन। साथै, खोपले बालबालिकालाई कुनै नकरात्मक असर पार्ने प्रमाण छैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add