- प्रविण भट्ट
- फाल्गुन १९, २०८१

नेपालमा ‘मुसलमान भगाऊ’ अभियान सुरु गरिएको छैन, भाइरल भिडियो भ्रामक
नेपालमा ‘मुसलमान भगाऊ’ अभियान सुरु गरिएको दावी गर्दै सामाजिक सञ्जाल एक्समा एउटा भिडियो भाइरल भएको छ। ३६ सेकेन्ड लामो उक्त भिडियोमा धार्मिक झण्डा र ब्यानर बोकेका केही व्यक्तिहरु र्यालीमा सहभागी भएको देखिन्छ।
तर हाम्रो तथ्यजाँच अनुसार, यो दावी भ्रामक रहेको छ। भिडियो नेपालकै भएतापनि, यसमा देखिएको कार्यक्रम कुनै ‘मुसलमान भगाऊ’ अभियान भने होइन।
के हो दावी?
गत फेब्रुअरी २५ तारिखमा द मुस्लिम नामक एक्स प्रयोगकर्ताले नेपालमा हिन्दु चरमपन्थीले हिन्दुराष्ट्रको नारा लगाउँदै ‘मुसलमान भगाऊ नेपाल बचाऊ’ अभियान सुरु गरेको दावी गरेको हो।
“नेपाल”, “सनातन” जस्ता शब्द देखिने ब्यानर बोकेको भीडले हिन्दु राष्ट्रको माग गरिरहेको सुन्न सकिन्छ। सो भीडबाट “जाग नेपाली जाग हिन्दु राष्ट्र माग” जस्ता नारा लागाइएको सुन्न सकिन्छ।
भिडियोको अग्रभागमा हिन्दीमा “नेपालमे शुरु हुआ ‘मुसलमान भगाओ नेपाल बचाओ’ अभियान लेखेको देख्न सकिन्छ।
हेर्नुस् स्क्रिनसट
हेर्नुस् स्क्रिनरेकर्ड
यो तथ्यजाँच तयार पार्दासम्म १ हजार जनाले लाइक गरेको सो पोस्ट ४ सय ८४ पटक रिपोस्ट समेत गरिएको छ। यसबाट यो भिडियो भाइरल भएको प्रष्ट हुन्छ।
धर्म जस्तो संवेदनशील विषय भएका कारण यसको तथ्य जाँच गर्ने निर्णयमा हामी पुग्यौँ।
के हो तथ्य?
भाइरल भिडियोको दायाँ किनारामा News World India लेखिएको प्रस्ट देखिएपछि सो समाचार च्यानलले नै कुनै भिडियो बनाएको हो कि भनेर हामिले गुगलमा सर्च गरेर हेर्यौ। नभन्दै News World India नामक च्यानलले युट्युवमा राखेको सर्ट भिडियो भेटियो।
हेर्नुस् स्क्रिनसट
भिडियोको सूक्ष्म अध्ययन गर्दा ‘मुसलमान भगाऊ’ भन्ने नारा लगाइएको भने सुनिएन। भिडियोमा देखिएको ब्यानरमा “नेपाल”, “सनातन”, “धार्मिक पदयात्रा” जस्ता शब्दहरु देखिए। हामीले यही शब्दहरु फेसबुक, एक्स लगायत सामाजिक सञ्जालमा सर्च गरेर हेर्यौँ।
फेसबुकमा पुष्पराज पुरुष नामक पेजबाट जुलाई २३, २०२४ (२०८१ साउन ८ गते) अपलोड भएको एक भिडियो फेला पर्यो।
फेसबुकमा पुष्पराज पुरुषले अपलोड गरेको भिडियो र नेपालमा मुस्लिम भगाऊ अभियान सुरु भएको दावी गरिएको भिडियो एकै भएको पाइयो।
हेर्नुस् तुलनात्मक फोटोः
फेसबुकमा पुष्प राज पुरुषले राखेको भिडियोको क्याप्सनमा सो कार्यक्रम “नेपाल सनातन धर्म संस्कृति संगठनले गरेको सनातन हिन्दुराष्ट्रको लागि धार्मिक पदयात्रा” भएको उल्लेख गरिएको छ। यसबारे थप बुझ्न पुष्प राज पुरुषको फेसबुक पेजमा खोजेर हेर्दा साउन ७ गतेको मैतिदेवी देखि पशुपतिसम्म हुने धार्मिक पदयात्रामा सहभागी हुन आह्वान गरेको भिडियो फेला पर्यो।
हेर्नुस फेसबुक पोष्टको स्क्रिनसट
यसर्थ, नेपालमा मुसलमान भगाऊ अभियान सुरु गरिएको भन्दै सामाजिक सञ्जाल एक्समा फैलाइएको भिडियो भ्रामक सूचना हो।
गत साउन ७ गते आयोजना गरिएको धार्मिक पदयात्रामा “जाग नेपाली जाग, हिन्दु राष्ट्र माग” जस्ता नारा लगाइएको भएतापनि मुसलमान भगाऊ अभियान सुरु गरिएको होइन।
तथ्यजाँच
दावीः नेपालमा हिन्दु चरमपन्थीले हिन्दुराष्ट्रको नारा लगाउँदै ‘मुसलमान भगाऊ, नेपाल बचाऊ’ अभियान सुरु गरेको।
दावीकर्ताः द मुस्लिम नामक एक्स प्रयोगकर्ता
तथ्यः भ्रामक सूचना। सो भिडियो गत साउन ७ गते आयोजना गरिएको धार्मिक पदयात्राबाट लिइएको बुझिन्छ। धार्मिक पदयात्रामा “जाग नेपाली जाग हिन्दु राष्ट्र माग” जस्ता नारा लगाइएको भएतापनि मुसलमान भगाऊ अभियान सुरु गरिएको होइन।