- प्रविण भट्ट
- चैत्र ५, २०८१

तथ्य जाँच : योगी आदित्यनाथको तस्बिर र्यालीमा थियो कि थिएन?
गएको फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्कने क्रममा विमानस्थलदेखि निर्मल निवाससम्म समर्थकहरुले स्वागत र्याली गरे। उक्त र्यालीमा एक व्यक्तिले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री तथा योगी आदित्यनाथको ठूलो फोटोसहितको फ्लेक्स बोर्ड बोकेको फोटो सामाजिक सञ्जालमा भाइरल भयो।
फोटोको बारेमा चर्चापरिचर्चा भएपछि यो फोटोमा आदित्यनाथको फोटो सम्पादन (म्यानिपुलेट) गरेर राखिएको दाबीसहितको अर्को भिडियो पनि फैलियो। तर, हाम्रो तथ्यजाँचमा यो दाबी गलत भएको पुष्टि भएको छ।
के हो दावी?
गत मार्च ११ (फागुन २७ गते) पुराना सञ्चारकर्मी रमा सिंहले “फेक फोटो – फेक पब्लिसिटी” लेख्दै एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखिन्। (अर्काइभ लिङ्क)
भिडियोमा एक जना व्यक्ति राजावादीको ऱ्यालीमा योगी आदित्यनाथको फोटो साँच्चै राखिएको हो कि होइन फोटोफरेन्सिक र च्याटजिपिटीको सहयोगमा फ्याक्टचेक गरेको दावी गरिरहेका छन्।
उनी ऱ्यालीमा देखिएको फोटो म्यानिपुलेट (सम्पादन) गरेर राखिएको ठोकुवा गर्छन् र दर्शक आफैले पनि यस्ता टूलहरु प्रयोग गरेर तथ्यजाँच गर्न सक्ने पनि बताउँछन्।
सञ्चारकर्मी सिंहले अमेरिकाको भर्जिनियामा बस्ने गुणराज लुइँटेलले सो तथ्यजाँच तयार गरेको समेत उल्लेख गरेकी छन्।
हेर्नुस् स्क्रिनसट-
स्क्रिनरेकर्ड हेर्न यहाँ क्लिक गर्नुस्
यो तथ्यजाँच तयार पार्दा सम्म उक्त भिडियोमा २४७ जनाले रियाक्ट गरेका छन् भने ४५ पटक सेयर पनि गरिएको छ। त्यसमा २७ वटा कमेन्ट पनि छन्।
सञ्चारकर्मी सिंहले फेसबुकमा सेयर गरेको भिडियो टिकटकमा @luiteljee ह्यान्डलबाट गुणराज लुइँटेलले सार्वजनिक गरेका छन्। अर्काइभ लिङ्क।
यो तथ्यजाँच तयार पार्दा सम्म ७ हजार १२४ जनाले लाइक गरेको सो भिडियोमा ४७४ कमेन्ट रहेका छन्। कमेन्ट लेख्नेहरु फोटो वास्तविक भएको र नभएको विषयमा बहस गरिरहेका छन्। उक्त भिडियो २०७ पटक सेयर समेत गरिएको छ।
के हो तथ्य?
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले फेसबुकमा राखेपछि यो फोटोको चर्चा चुलिएको हो।
यो फोटोमा उत्तर प्रदेशको गोरखपुरस्थित गोरखपुर मठका प्रमुखसमेत रहेका योगी आदित्यनाथको फोटोमुनि के लेखिएको छ प्रष्ट देखिँदैन।
तर अनलाइनखबरमा सोही दिन प्रकाशित पूर्वराजाको स्वागतमा देखियो उदेकलाग्दो दृश्य समाचारमा राखिएको फोटोमा भने मुनि ‘राज संस्था पुनः स्थापना गरौं, हिन्दुवादी प्रदिप विक्रम राणा’ लेखेको देखिन्छ।
प्रदीप विक्रम राणाबारे खोज्दै जाँदा उनको फेसबुक प्रोफाइल भेटियो। राणाको फेसबुक प्रोफाइलमा र्याली भएको दिन अर्थात् गत मार्च ९ (फागुन २५ गते) को लाइभ भिडियो भेटियो। अङ्ग्रेजीमा ‘तयारी भइरहेको छ..’ लेख्दै लाइभ गरिएको सो भिडियोमा योगी आदित्यनाथको फोटो भएको फ्लेक्स पनि देखिन्छ।
स्क्रिनरेकर्ड हेर्न यहाँ क्लिक गर्नुस्।
हामीले राणासँगै यसबारे बुझ्न पटक – पटक सम्पर्क गर्ने कोशिश गर्यौँ। उनको मोबाइल नम्बर स्विच अफ थियो भने फेसबुक मेसेन्जरमा पनि उनले जवाफ फर्काएनन्।
भारतीय मिडिया नवभारत टाइम्समा मार्च १२ मा प्रकाशित एक समाचारका अनुसार उनी अहिले भारतको गोरखपुरमा छन्। नवभारत टाइम्ससँग कुरा गर्दै उनले योगी आदित्यनाथको तस्बिर ऱ्यालीमा प्रयोग गरेको स्वीकार गर्दै, यही विषयमा प्रहरीले समेत खोजी गरेकाले आफू भागेर भारत पसेको जानकारी दिएका छन्।
हेर्नुस नवभारत टाइम्सको समाचारको अर्काइभ लिङ्क
यसर्थ, समाजिक सञ्जालमा दावी गरिएजस्तो राजावादीको ऱ्यालीमा योगी आदित्यनाथको फोटो सम्पादन गरेर राखिएको होइन। प्रदीपविक्रम राणाले उक्त फोटोसहितको फ्लेक्स बोर्ड ऱ्यालीमा लगेको उनको फेसबुक लाइभ भिडियो र नवभारत टाइम्ससँग गरेको कुराकानीबाटै थाहा हुन्छ।
तथ्यजाँच
दावीः राजावादीको ऱ्यालीमा योगी आदित्यनाथको तस्विर सम्पादन गरेर राखिएको।
दावीकर्ताः गुणराज लुइँटेल, रमा सिंह।
तथ्यः मिथ्या सूचना। फागुन २५ गते भएको ऱ्यालीमा प्रदिपविक्रम राणाले योगी आदित्यनाथको तस्बिर प्रयोग गरेको उनको फेसबुक लाइभबाटै थाहा हुन्छ। उनले भारतीय मिडिया नवभारत टाइम्ससँग कुरा गर्दै आफूले ऱ्यालीमा सो फोटो प्रयोग गरेको स्वीकारेका छन्।