तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

के मेयर बालेनले कार्यविधिमा नभएको इ-बीपीएसबारे उल्लेख गर्दै स्टायटस लेखेका हुन्?


के मेयर बालेनले कार्यविधिमा नभएको इ-बीपीएसबारे उल्लेख गर्दै स्टायटस लेखेका हुन्?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाको भवन निर्माणका लागि नक्सा पास प्रक्रियामा  ‘कानुनमै नभएको कुरा’ उल्लेख गरेर स्टाटस लेखेको दावीसहित सेतोपाटीले समाचार प्रकाशन गरेको छ।

तर हाम्रो तथ्यजाँचमा यो दावी मिथ्या देखिएको छ। समाचारमा दावी गरिए झैँ नभई मेयर बालेनले कार्यविधिमा भएको व्यवस्था नै उल्लेख गरेर स्टायटस लेखेका हुन्।

के छ दावी ?

सेतोपाटी अनलाइनमा वैशाख ११ गते ‘मेयर बालेनले ‘कानुनमै नभएको कुरा’ उल्लेख गर्दै लेखे स्ट्याटस’ शीर्षकमा एउटा समाचार प्रकाशित भएको छ।

समाचारको लिडलाइनमा लेखिएको छ – ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुनमै नभएको कुरालाई उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन‍्।’

उक्त लिडलाइनलाई पुष्टि गर्न अगाडि लेखिएको छ – ‘बिहीबार मेयर बालेन शाहले ‘काठमाडौँ महानगरपालिकाको भवन निर्माणसम्बन्धी कार्यविधि २०८०’ लाई उल्लेख गर्दै उक्त कार्यविधिमा नक्सा पास प्रक्रिया तथा स्वीकृति अनिवार्य रूपमा इबिपिएस-इलेक्ट्रोनिक भवन निर्माण अनुमति प्रणाली) मार्फत गर्नुपर्नेछ भन्ने व्यवस्था भएको दाबी गरेका छन्। तर उक्त कार्यविधिमा नक्सापास कुन प्रणालीमार्फत गर्नुपर्छ भनेर उल्लेख गरिएको छैन।’

हेर्नुस्, स्क्रिनसट । अर्काइभ लिंक

तथ्यजाँच

के ‘सेतोपाटी’ले समाचारमा दावी गरे झैँ मेयर बालेनले कानुनमै नभएको कुरा उल्लेख गरेर स्टायटस लेखेका हुन् त ?

यो विषयको तथ्यजाँच गर्न ‘सेतोपाटी’ले समाचारमा उल्लेख गरेको ‘काठमाडौँ महानगरपालिकाको भवन निर्माणसम्बन्धी कार्यविधि २०८०’ खोज्यौँ।

काठमाडौँ महानगरपालिकाको वेबसाइटमा गएर कार्यविधि सेक्सनमा क्लिक गर्दा कार्यविधि भेटियो। हामीले कार्यविधि पढ्यौँ।

कार्यविधिको परिच्छेद २ मा भवन निर्माण अनुमति सम्बन्धि व्यवस्था छ।

परिच्छेद २ को दफा ३ मा ‘ महानगरपालिका क्षेत्रभित्र निर्माण हुने सम्पूर्ण भवनको ‘eBPS’ मार्फत नक्सापास गरी भवन निर्माण कार्य गर्नुपर्नेछ’ उल्लेख छ।

हेर्नुस्, स्क्रिनसट-

त्यस्तै सोही कार्यविधिको परिच्छेद १ को परिभाषा खण्डमा ‘eBPS’ भन्नाले विद्युतीय प्रणालीमार्फत् भवन निर्माण अनुमति र सम्बद्ध कार्य गर्ने Electronic Building Permit System सम्झनुपर्छ’ भनिएको छ।

त्यस्तै परिच्छेद २ को उपदफा ‘क’ मा ‘ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा भवन निर्माण गर्न चाहने व्यक्ति वा संस्थाले महानगरपालिकामा दर्ता भएका डिजाइनरबाट डिजाइन गराई सोही डिजाइनरले EBPS को डिजाइनर डेस्कमार्फत् आवश्यक कागजातहरु संलग्न गरी महानगरपालिकामा नक्सापासको लागि अनुसूचि -१ मा उल्लेख गरे बमोजिमका कागजातहरुमा डिजिटल सिग्नेचर गरी रजिष्ट्रेशन डेस्कमा दरखास्त पेश गर्नुपर्नेछ भन्ने उल्लेख छ।

उक्त कार्यविधिको परिच्छेद ३ मा भवन निर्माण सम्पन्नता प्रमाणपत्र सम्बन्धि व्यवस्था छ। उक्त परिच्छेदमा भवन निर्माण सम्पन्नता सम्बन्धि प्रमाणपत्र प्राप्त गर्नका लागि पनि घरधनीले आवश्यक सम्पूर्ण कागजात ebps प्रणालीको डिजाइनर डेस्क मार्फत् महानगरपालिकालाई निवेदन दिनुपर्ने उल्लेख छ।

कार्यविधिमा भवन निर्माण अनुमति, नक्सा पास, भवन निर्माण सम्पन्नता प्रमाणपत्र , नक्सापासको दरखास्त र सरजमिन लगायतका काम कसरी अघि बढ्छन् भन्ने व्यवस्था राखिएको छ।

कार्यविधिको व्यवस्था अनुसार,

  • नक्सापासको दरखास्त दिँदा पेश गर्नुपर्ने आवश्यक कागजातको सक्कल प्रति स्क्यान गरी epbs प्रणालीमा अपलोड गर्नुपर्छ।
  • वडा कार्यालयबाट नक्सापासको लागि सरजमिन गर्दा आवश्यक कागजात पनि ebps प्रणालीमा अपलोड गर्नुपर्छ।
  • सुपर स्ट्रक्चरको अनुमतीको लागि आवश्यक कागजात पनि ebps प्रणालीमा अपलोड गर्नुपर्छ।
  • भवन निर्माण सम्पन्नता प्रमाणपत्र प्राप्त गर्नपनि आवश्यक सम्पुर्ण कागजात ebps प्रणालीमा अपलोड गर्नुपर्छ।

तसर्थ, मेयर बालेन शाहले कानुनमै नभएको कुरा उल्लेख गरेर स्टायटस लेखेको दावी गरिएको ‘सेतोपाटी’को समाचार सही होइन।

तथ्यजाँच

दावी : कानुनमै नभएको कुरा उल्लेख गर्दै काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहले लेखे स्टायटस।

दावीकर्ता : सेतोपाटी अनलाइन।

तथ्य जाँच : मिथ्या सूचना। सेतोपाटी अनलाइनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ‘काठमाडौँ महानगरपालिकाको भवन निर्माणसम्बन्धी कार्यविधि २०८०’ मा नभएको e-BPS को विषय उल्लेख गरेर स्टायटस लेखेको दावी गरेको छ। तर, मेयर शाहले स्टाटसमा लेखेको ‘eBPS’ अर्थात् विद्युतीय प्रणालीमार्फत् भवन निर्माण अनुमति र सम्बद्ध कार्य गर्ने Electronic Building Permit System को बारेमा कार्यविधिमा उल्लेख छ। तसर्थ सेतोपाटी अनलाइनले लेखेको समाचार मिथ्या हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add