तथ्यजाँच भ्रामक सूचना

के आगामी वर्षदेखि एसइइ परीक्षा नहुने भएको हो ?


के आगामी वर्षदेखि एसइइ परीक्षा नहुने भएको हो ?

आगामी वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) नहुने दावी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको ठहर गरेको छ। अहिलेसम्म आगामी वर्षदेखि एसइइ नहुने कुनै निर्णय भइसकेको छैन।

के छ दावी ?

फेसबुकमा आठ लाख ९७ हजार फलोअर्स रहेको नेपाली मन टिभीले अप्रिल १३ मा ‘SEE Nahune’ क्याप्सन राखेर एउटा भिडियो पोस्ट गरेको छ। समाचार वाचनको शैलीमा तयार पारिएको भिडियोमा प्रस्तोता ‘आउने वर्षबाट अब एसइइ परीक्षा नहुने भएको छ’ भन्दै गरेको देखिन्छ।

प्रस्तोताले थपेका छन् ‘अब सिधै कक्षा १२ मा मात्रै विद्यालय तहको अन्तिम परीक्षा हुनेछ। संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिले एसइइ नलिने सहमति गरेको हो। यसअघि १० कक्षासम्म विद्यालय तह थियो भने अब १२ कक्षासम्मलाई विद्यालय तह मानिने भएको छ। र, विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को हुनेछ जसको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिनेछ।’

हेर्नुस्, भिडियोको स्क्रिन रेकर्ड

यो तथ्यजाँच गर्दासम्म १७ लाख पटक हेरिएको उक्त भिडियोमा ५९ हजार भन्दा बढी रियाक्सन, ५६० कमेन्ट र १२ सय वटा सेयर गरिएको छ।

तथ्य के हो ?

यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले समाचारलाई ध्यानपूर्वक सुन्यौँ। समाचारमा ‘संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिले एसइइ नलिने सहमति गरेको हो’ भनिएको छ।

हामीले यो विषयमा बुझ्न उपसमितिका सचिव दशरथ धमलालाई सोध्यौँ।

उनले संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिले अहिले द्रूत गतिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल गरिरहेको बताए। धमलाका अनुसार, उपसमितिमा  एसइइ परीक्षाको विषयमा पक्ष-विपक्षमा छलफल भइरहेको छ।

‘अहिले छलफल परिपक्‍व भइसकेको छैन, माननीयज्यूहरु र विज्ञहरुले आ-आफ्नो विचार राखिरहनुभएको छ,  विभिन्न कोणबाट छलफल भइरहेकाले अहिले एसइइ हुने या नहुने भन्ने विषयमा कुनै निष्कर्ष निकालिसकेको छैन’, उपसमितिका सचिव धमलाले भने।

यदि उपसमितिले एसइइ परीक्षा नहुने सहमति जुटाएको खण्डमा त्यस्तो हुन्छ?

उपसमितिका सचिव धमलाले भने – “होइन, नहुन पनि सक्छ, प्रतिनिधि सभा नियमावली २०७९ अनुसार प्रकिया अघि बढ्छ।”

त्यसपछि हामीले प्रतिनिधि सभा नियमावली २०७९ हेर्‍यौँ । नियमावलीको परिच्छेद १५ मा विधेयकको व्यवस्थापन कार्यविधि सम्बन्धमा उल्लेख छ। यसमा विधेयक कसरी अघि बढ्छ भन्ने प्रक्रिया बताइएको छ।

यस परिच्छेदमा भएको व्यवस्था अनुसार

  • विधेयक उपसमितिमा दफावार छलफलपछि पूर्ण समितिमा पुनः छलफल गरिन्छ। आवश्यक परेमा परिमार्जनसहित प्रतिवेदन तयार पारिन्छ।

  • समितिबाट पारित प्रतिवेदन प्रतिनिधि सभामा पेस गरिन्छ, जहाँ सदस्यहरूले पुनः छलफल गर्न सक्छन् र आवश्यक परेमा संशोधन गर्न सक्छन्।

  •  प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभामा पठाइन्छ। राष्ट्रिय सभाले विधेयकमा सुझाव वा संशोधन गर्न सक्छ। यदि राष्ट्रिय सभाले विधेयकमा संशोधन गरेमा, त्यो विधेयक पुनः प्रतिनिधि सभामा फिर्ता पठाइन्छ। प्रतिनिधि सभाले राष्ट्रिय सभाको संशोधन स्वीकार गरेमा, विधेयक प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पठाइन्छ।

  • असहमति भएमा : यदि राष्ट्रिय सभाले विधेयक अस्वीकृत गर्छ वा संशोधन प्रस्ताव गर्छ जुन प्रतिनिधि सभाले स्वीकार गर्दैन भने, प्रतिनिधि सभाले आफ्नो सदस्यहरूको बहुमतले विधेयक पारित गरेमा, सो विधेयक प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पठाइन्छ।

  • प्रतिनिधि सभाबाट प्रमाणीकरणको लागि पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र कानूनको रूपमा कार्यान्वयनमा आउँछ। (हेर्नुस् प्रतिनिधि सभा नियमावली २०७९)

‘छलफलमा उठेका कुरालाई लिएर यस्तो निर्णय भयो भन्नु गलत हुन्छ। किनकि विधेयक पारित हुने चरणमा गइसकेको छैन’, धमलाले भने।

तसर्थ, नेपाली मन टिभीले गरेको दावी भ्रामक हो।

तथ्यजाँच

दावी : आगामी वर्षदेखि एसइइ परीक्षा नहुने

दावीकर्ता : नेपाली मन टिभी

तथ्यजाँच : भ्रामक सूचना । आगामी वर्षदेखि एसइइ परीक्षा नहुने आधिकारिक निर्णय भएको छैन। संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकको बारेमा छलफल हुने क्रममा एसइइ परीक्षाको विषयमा कुरा उठे पनि कुनै ठोस निर्णय भएको छैन। उक्त विधेयक छलफलको क्रममा भएकाले पारित भएको छैन। त्यसैले नेपाली मन टिभीको दावी भ्रामक छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add