तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

भारतको गुजरातमा नेपाली सेना भन्दै भाइरल भएको भिडियो वास्तवमा काठमाडौँको


भारतको गुजरातमा नेपाली सेना भन्दै भाइरल भएको भिडियो वास्तवमा काठमाडौँको

भारतको गुजरात राज्यस्थित कच्छ जिल्लाको भुजमा नेपाली सेना तैनाथ रहेको दावीसहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ। सडकमा सेना देखिने सो भिडियो २ लाख ७३ हजार पटक हेरिएको छ। तर हाम्रो तथ्यजाँचमा भने उक्त दावी भ्रामक सूचना भएको पाइएको छ। 

के हो दावी?

भारतको गुजरात राज्यस्थित कच्छ जिल्लाको भुजमा नेपाली सेना तैनाथ रहेको दावीसहित एक फेसबुक भिडियो वैशाख २८ गते १४ हजार फलोअर रहेको पुनिथ क्षेत्री साउद नामक फेसबुक पेजबाट पोस्ट भएको छ। 

भिडियोमा सेना सडकमा देख्न सकिन्छ। सडक पारिपट्टीबाट धुँवाको मुस्लो पनि उडिरहेको देख्न सकिन्छ।

हेर्नुस् स्क्रिनरेकर्ड

यो तथ्यजाँच तयार पार्दा सम्म रियाक्सन हेर्न नमिल्ने बनाइएको उक्त भिडियो ३ सय ४९ पटक सेयर गरिएको छ। भिडियोमा २ सय २८ कमेन्ट पनि रहेका छन्। 

के हो तथ्य?

भिडियोमा सडकमा उभिरहेका सेनाका जवान र पछाडि पट्टी धुँवाको मुस्लो उडिरहेको देखिन्छ। हामीले भिडियोलाई फ्रेम-फ्रेम गरी रिभर्स इमेज सर्च गरेर हेर्यौं। यस क्रममा टिकटकमा स्पष्ट रुपमा सोही भिडियोको दृश्य देखा पर्‍यो। 

हेर्नुस् टिकटक भिडियो

गत चैत १६ गते (मार्च २९) मा अपलोड गरिएको टिकटक भिडियोको स्टाटसमा तीनकुने, राजा र जडिबुटी लेखिएको छ। भिडियोको क्याप्सनमा Exploring the Power of Jadibuti in Kathmandu समेत लेखिएको हुनाले हामीले सो भिडियोको सूक्ष्म अध्ययन गरेर हेर्यौं।

भिडियोमा देखिने दृश्य जडिबुटीको हुनसक्ने हाम्रो आंकलन रह्यो। यसको पुष्टि गर्न हामीले भिडियोमा देखिने दृश्यलाई गुगलम्यापसँग दाँजेर हेर्यौं।

हेर्नुस तुलनात्मक फोटो

हेर्नुस् तुलनात्मक फोटो

यसरी सँगै राखेर हेर्दा गुगल म्यापमा देखिने जडिबुट्टीको दृश्य र भाइरल भिडियोमा देखिने दृश्य दुरुस्तै मिलेको पाइयो।

गत चैत १५, २०८१ मा तीनकुनेमा भएको राजावादी आन्दोलनले उग्र रुप लिंदा आगजनी र तोडफोडका घटना घटे। सोही दिन जडिबुटी प्रशोधन केन्द्रमा समेत आन्दोलनकारीले आगो लगाइदिए। लगत्तै सरकारले कर्फ्यू आदेश जारी गरेपछि काठमाडौंको सडकमा सेना सुरक्षार्थ खटिएका थिए। 

भिडियोमा देखिने दृश्य, र क्याप्सनमा उल्लेखित राजा, तीनकुने लगायत चैत १६ गते पोस्ट गरिएको तथ्यबाट उक्त भिडियो चैत १५ कै हुनसक्ने हाम्रो निश्कर्ष रह्यो। 

यसर्थ, गुजरातको कच्छ जिल्लाको भुजमा नेपाली सेना तैनाथ रहेको भन्दै भाइरल भइरहेको भिडियो भ्रामक हो। यो भिडियो काठमाडौंको जडिबुटीमा खिचिएको हो।

तथ्यजाँच

दावीः भारतको गुजरात राज्य स्थित कच्छ जिल्लामा नेपाली सेना तैनाथ रहेको।

दावीकर्ताः पुनिथ क्षेत्री साउद फेसबुक पेज।

तथ्यः भ्रामक सूचना। गुजरातको कच्छ जिल्लाको भुजमा नेपाली सेना तैनाथ रहेको भन्दै भाइरल भइरहेको भिडियो काठमाडौंको जडिबुटीमा खिचिएको हो। गुगलम्यापको सहायताले भिडियोका दृश्यको सूक्ष्म अध्ययम गर्दा सो भिडियो काठमाडौंको जडिबुटीमा खिचिएको पाइएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add