- सागर बुढाथोकी
- बैशाख २८, २०८२

के पाकिस्तानले भारतको फाइटर विमान ध्वस्त गरेको फोटो सार्वजनिक गरेको हो ?
पाकिस्तानले भारतका ५ फाइटर विमान ध्वस्त गरेको फोटो सार्वजानिक गरेको भन्दै एक्समा (पहिले ट्विटर भनिने) एउटा फोटो भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले उक्त दावी भ्रामक रहेको ठहर गरेको छ ।
पाकिस्तानले सार्वजानिक गरेको भनिएको फोटो २०१९ फेब्रअरी १७ जम्मु-कश्मीरको बडगाममा खसेको भारतीय वायुसेना हेलिकप्टरको हो।
के छ दावी ?
एक्समा पाँच हजार फलोअर्स भएका अर्जुन ज्ञवाली (@arjungyawali999) नामक प्रयोगकर्ताले मे ७ मा ‘पाकिस्तानले भारतका ५ फाइटर विमान ध्वस्त गरेको सार्वजनिक गर्यो’ क्याप्सन राखेर एउटा फोटो पोस्ट गरेका छन् ।
हेर्नुस्, स्क्रिनसट । अर्काइभ लिंक
यो तथ्यजाँच गर्दासम्म उक्त पोस्ट ३५ हजार जनाले हेरेका छन भने १९२ रियाक्सन, १०३ वटा कमेन्ट र २७ पटक रिपोस्ट गरिएको छ ।
तथ्य के हो ?
यो फोटोबारे तथ्यजाँच गर्नका लागि सुरुमा हामीले रिभर्स इमेज सर्च गर्यौँ । त्यो क्रममा सोही फोटो प्रयोग गरेर न्युयोर्करमा ‘Why the War for Kashmir Burns On’ शीर्षकमा प्रकाशित स्टोरी फेला पार्यौँ।
न्यूयोर्करमा प्रकाशित उक्त फोटो हेर्दा ज्ञवालीले सोही फोटोलाई क्रप गरेर हालेको बुझ्न सकिन्छ ।
२०१९ फेब्रुअरी २८ मा प्रकाशित भएको उक्त फोटोको क्याप्सनमा ‘पाकिस्तानी सेनाले बुधबार भारतीय सेनाको दुई विमान खसालेको दावी गरेको छ, उक्त फोटो सोही घटनासँग सम्बन्धित रहेको बुझ्न सकिन्छ।
उक्त स्टोरीमा सोही दिन जम्मू र कश्मीरको बडगाममा भएको भारतीय वायुसेनाको विमान दुर्घटनाको सन्दर्भ पनि उल्लेख छ।
हेर्नुस्, स्क्रिनसट
त्यसपछि हामीले २०१९ फेब्रुअरी २७ मा भारत- पाकिस्तान जोडिएका विवादलाई विस्तृतमा बुझ्न गुगलमा सर्च गर्यौँ । त्यो क्रममा न्यूज १८ मा फ्रेब्रुअरी २७ मा प्रकाशित ‘PHOTOS: IAF Aircraft Crashes in J&K’s Budgam District’ शीर्षकमा प्रकाशित एउटा फोटो स्टोरी फेला पार्यौँ ।
उक्त स्टोरीमा जम्मु र कश्मीरको बडगाम जिल्लामा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार चारैजना सैनिकको मृत्यु भएको उल्लेख छ। पाकिस्तानसँगको सीमावर्ती तनावबीच भएको उक्त दुर्घटनाले थप चिन्ता उत्पन्न गराएको छ।
त्यो फोटो स्टोरीमा ज्ञवालीले पोस्ट गरेको फोटो नै उल्लेख नभएपनि न्यूयोर्कर र न्यूज १८ को फोटो र समाचारको सन्दर्भबाट त्यो फोटो सोही घटनाको भएको बुझ्न सकिन्छ।
तसर्थ, अर्जुन ज्ञवालीले गरेको दावी भ्रामक हो।
तथ्यजाँच
दावी : पाकिस्तानले भारतका ५ फाइटर विमान ध्वस्त गरेको फोटो सार्वजनिक गर्यो
दावीकर्ता : अर्जुन ज्ञवाली (एक्स प्रयोगकर्ता)
तथ्यजाँच : भ्रामक सूचना। अर्जुन ज्ञवालीले अहिले भारत पाकिस्तान विवादको सन्दर्भ उल्लेख गरेर हालिएको फोटो २०१९ फ्रेब्रुअरीको २७ मा जम्मु र कश्मीरको बडगाम जिल्लामा भएको भारतीय सेनाको हेलिकप्टरको हो।