- प्रविण भट्ट
- 2025-05-20

प्रचण्डको सम्पादित भिडियो गलत दावीका साथ फैलाइयो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र संघर्षका क्रममा भारतीय गुप्तचर संस्थाहरुको संरक्षण लिएको स्वीकार गरेको भन्दै एक भिडियो भाइरल भइरहेको छ। सामाजिक सञ्जाल फेसबुकमा फैलिरहेको भिडियोमा प्रचण्डले ‘हो’ भनेर स्वीकार गरेको दावी गरिएको छ। तर हाम्रो तथ्यजाँचमा भने उक्त दावी भ्रामक भएको पाइएको छ। प्रचण्डले अर्कै सन्दर्भमा ‘हो’ भनेको भिडियोलाई सम्पादन गरी भ्रम फैलाउने हिसाबले भिडियो बनाएको देखियो।
के हो दावी?
१४ हजार फलोअर रहेको चुमन बम नमक फेसबुक प्रयोगकर्ताले गत मे १५ (जेठ १ गते) एक भिडियो सेयर गरेका छन्। सो भिडियोमा पत्रकार विजयकुमारले प्रश्न गरिरहेको र प्रचण्डले उत्तर दिइरहेको देख्न सकिन्छ।
भिडियोमा विजय कुमारले “अथवा भारतीय गुप्तचर संस्थानहरुको संरक्षण, विशेषगरिकन भारतीय गुप्तचर एजेन्सीज हरुको ट्रेनिङमा सहयोग ” भनेर प्रश्न गरिरहेको सुन्न सकिन्छ। उत्तरमा प्रचण्डले “चाईँ हो ” भनेको सुन्न सकिन्छ।
भिडियोको अग्रभागमा “भारतबाट परिचालित, प्रचण्ड कै मुखबाट सुनौं ” लेखिएको छ।
हेर्नुस् स्क्रिनरेकर्ड
यो तथ्यजाँच तयार पार्दा सम्म ३ हजार ६ सय जनाले रियाक्ट गरेको सो भिडियो ८ सय ४ पटक सेयर गरिएको छ। भिडियोमा १ सय ५५ कमेन्ट पनि छन्।
के हो तथ्य?
भिडियोको सूक्ष्म अध्ययन गर्दा भिडियो पुरानो हो भन्ने देखिन्छ। भिडियोमा देखिने प्रचण्ड र अन्तर्वार्ताकार विजयकुमार अहिलेको तुलनामा निकै कम उमेरका देखिन्छन्।
हामीले प्रचण्ड र विजयकुमार की-वर्ड राखेर गुगलमा सर्च गरेर हेर्यौँ। सो क्रममा ४ वर्ष अगाडि दिशानिर्देश टिभी नामक युट्युब च्यानलले अपलोड गरेको एक भिडियो फेला पर्यो। प्रचण्डको पहिलो टेलिभिजन अन्तर्वार्ता भनेर राखिएको भिडियो सन् २००६ सेप्टेम्बर महिनाको रहेछ।
सो भिडियोमा देखिने दृश्य र भाइरल भिडियोमा देखिने दृश्य दुरुस्तै मिलेको पाइयो।
भिडियो पूरै हेर्दा १५ मिनट ८ सेकेण्ड जाँदा विजयकुमारले प्रचण्डलाई एक प्रश्न सोध्छन्।
“भन्नेहरुले यो पनि भन्ने गर्दछन् कि यो जनयुद्ध यत्ति चाँडै विकास हुनुमा तपाईंलाई , तत्कालीन दरबारको संरक्षण अथवा भारतीय गुप्तचर संस्थानहरुको संरक्षण, विशेषगरिकन भारतीय गुप्तचर एजेन्सिजहरुको ट्रेनिङमा सहयोग ”
उत्तरमा प्रचण्डले “ गलत कुरा हो, सम्पूर्ण रुपले गलत कुरा हो ” भनिरहेको सुन्न सकिन्छ। त्यसपछि अर्को प्रश्न सुरु हुन्छ।
हेर्नुस् स्क्रिनरेकर्ड
अर्थात भाइरल भिडियोमा पूरा प्रश्नको आधा भाग मात्र राखिएको रहेछ। उत्तर पनि काटेर राखिएको रहेछ। प्रचण्डले सम्पूर्ण रुपले नकारेको तथ्यलाई सम्पादन गरेर “हो” भनिरहेको देखाइएको हाम्रो निश्कर्ष रह्यो।
तथ्यजाँच
दावीः पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका दौरान भारतीय गुप्तचर संस्थानहरुको संरक्षण लिएको स्वीकार गरेको भिडियो।
दावीकर्ताः चुमन बम, फेसबुक प्रयोगकर्ता।
तथ्यः भ्रामक सूचना। प्रचण्डको अन्तर्वार्ताबाट प्रश्नको आधा भाग झिकेर सम्पादन गरिएको भिडियो फेसबुकमा फैलाइएको हो। भिडियो सम्पादन गरेर प्रचण्डले उत्तरमा हो भनिरहेको देखाइएको हो।