- प्रविण भट्ट
- जेष्ठ १४, २०८२

कान्तिपुरका प्रकाशित लेखका तीन दावी तथ्यगत रुपमा गलत
आत्महत्याको विकराल स्थितिबारे प्रकाशित एक लेखमा नेपालमा पुरुषको तुलनामा महिलाले बढी आत्महत्या गर्ने दावी गरिएको छ। ‘कान्तिपुर’मा प्रकाशित संगीतादेवी रौनियारको लेखमा महिलाले आत्महत्या गर्ने सम्बन्धमा नेपाल विश्वकै तेस्रो स्थानमा रहेको दावी गरिएको छ।
तर हामीले आधिकारिक तथ्याङ्कहरु हेर्दा भने यो दावी गलत देखिएको छ।
के हो दावी?
२०८२ जेठ १३ गते कान्तिपुरमा “विकराल बन्दै आत्महत्या” शीर्षकमा प्रकाशित संगीतादेवी रौनियारको लेखमा आत्महत्या सम्बन्धी केही तथ्याङ्क प्रस्तुत गरिएको छ।
दावी १: “नेपालमा वर्षेनी औसत ८ हजार ६ सय ४० जनाले आत्महत्या गर्ने गरेका छन्। ”
दावी २: “नेपालमा पुरुषको तुलनामा आत्महत्या गर्ने महिलाको संख्या बढी छ। ”
दावी ३ : “विश्वमा आत्महत्या गर्ने महिलाको तुलना गर्ने हो भने नेपाल तेस्रो स्थानमा छ ।”


के हो तथ्य?
पहिलो दावीको तथ्यजाँच गर्न हामीले नेपाल प्रहरीले गत वर्ष प्रकाशित गरेको प्रतिवेदन हेर्यौँ। प्रहरीले २०८१ असारमा “आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन” प्रकाशित गरेको छ। सो प्रतिवेदन अनुसार नेपालमा औसत प्रति वर्ष ५ हजार ७ सय ५२ जनाले आत्महत्या गर्ने गरेका छन्।
हेर्नुस् स्क्रिनसट

अतः आत्महत्याको तथ्याङ्क आधिकारिक रुपमा राख्ने नेपाल प्रहरीका अनुसार विगत १० वर्षको तथ्याङ्कका आधारमा औसत निकाल्दा नेपालमा प्रति वर्ष ५ हजार ७५२ जनाले आत्महत्या गरेको पाइएको छ, लेखमा दावी गरिए जस्तो ८ हजार ६४० जना होइन।
महिला हैन पुरुषले बढी आत्महत्या गर्छन्
दोस्रो दावी थियो- नेपालमा पुरुषको तुलनामा आत्महत्या गर्ने महिलाको संख्या बढी छ। यसको तथ्यजाँच गर्न हामीले नेपाल प्रहरीको प्रतिवेदनबाट लैङ्गिक तथ्याङ्क संकलन गर्यौँ। आर्थिक वर्ष ०७५/७६ देखि २०८०/८१ सम्मको तथ्याङ्क एक ठाउँमा राखेर अध्ययन गर्यौँ। यसरी अध्ययन गर्दा नेपालमा महिला र पुरुष मध्ये आत्महत्या गर्ने संख्या पुरुषको नै बढी रहेको देखियो।
हेर्नुस् तथ्याङ्क
आत्महत्या गर्ने महिलाको संख्या- विश्वको तेस्रो स्थानमा?
लेखमा गरिएको तेस्रो दावी छ- विश्वमा आत्महत्या गर्ने महिलाको तुलना गर्ने हो भने नेपाल तेस्रो स्थानमा छ ।
यसको तथ्य जाँच गर्न हामीले विश्व स्वास्थ्य संगठनको वेबसाइटमा हेर्यौँ। ८ जनवरी २०२४ मा पछिल्लो पटक अपडेट गरिएको उक्त तथ्याङ्कमा महिलाको आत्महत्या प्रति एक लाख जनसंख्यामा नेपालको ७.२ रहेको छ। यो लेखमा दावी गरिएको जस्तो तेस्रो स्थान होइन। उक्त सूची अनुसार पहिलोमा दक्षिण कोरिया, दोस्रोमा लेसोथो र तेस्रोमा सुरिनाम देखिन्छ। उक्त सूचीमा नेपाल ३० औँ स्थानमा देखिन्छ।

WHO को सूचीको स्क्रिनसट। तथ्याङ्क हेर्न यहाँ क्लिक गर्नुस्।
अर्थात, सो लेख मा आत्महत्या सम्बन्धी गरिएका यी दावी तथ्यपरक छैनन्।
तथ्यजाँच
दावीः नेपालमा वर्षेनी औसत ८ हजार ६ सय ४० जनाले आत्महत्या गर्छन्, आत्महत्या गर्नेमा महिलाको संख्या पुरुषभन्दा बढी छ, र विश्वमा महिलाको आत्महत्या दरमा नेपाल तेस्रो स्थानमा पर्छ।
दावीकर्ताः संगीतादेवी रौनियार (कान्तिपुर राष्ट्रिय दैनिक)
तथ्यः मिथ्या सूचना। आधिकारिक तथ्याङ्क अनुसार नेपालको वार्षिक औसत पनि ५ हजार ७ सय ५२ रहेको पाइयो। नेपालको हकमा लैङ्गिक तथ्याङ्क हेर्ने हो भने आत्महत्या गर्ने पुरुष बढी भएको पाइयो। त्यसैगरी विश्वमा तेस्रो स्थानमा महिलाको आत्महत्या हुने देश नेपाल पनि होइन।