- प्रविण भट्ट
- 2025-06-13

अनलाइनखबरको एआईद्वारा तयार ‘न्युज समरी’मा मिथ्या सूचना
अनलाइनखबरले समाचारको सारसंक्षेपका लागि समाचारसँगै राख्ने गरेको यान्त्रिक सुझबुझमा आधारित एआई प्रविधिद्वारा सिर्जना गरिएको ‘न्युज समरी’मा Editorially reviewed अर्थात् सम्पादकीय (मानवद्वारा) समीक्षा गरिएको भनिए पनि मिथ्या सूचनासमेत सम्प्रेषण भएको भेटिएको छ।
जेठ २९ गते नेदरल्यान्डस् र स्कटल्यान्डबीच भएको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलसम्बन्धी समाचारमा एआईको न्युज समरीमा ‘दुवै इनिङमा १५०+ रन बनाउने पहिलो खेलाडी जर्ज मन्से बनेको’ दावी गरिए पनि त्यो मिथ्या सूचना हो।
के हो दावी?
गत जेठ २९ गते नेदरल्याण्डस् र स्कटल्याण्डबीच भएको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलका बारेमा अनलाइनखबरले ‘कीर्तिमानले भरिएको खेलमा नेदरल्याण्ड्सले स्कटल्याण्डलाई हरायो’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। समाचारको हेडलाइन पछि राखिएको एआईद्वारा तयार र Editorially reviewed समेत गरिएको भनिएको समाचारको सारको दोस्रो बूँदामा लेखिएको छः
जर्ज मन्सेले (स्कटल्याण्ड) १९१ रन बनाएर एकदिवसीय क्रिकेटमा दुवै इनिङमा १५०+ रन बनाउने पहिलो खेलाडी बने।
हेर्नुस् स्क्रिनसट
पढ्नुस् समाचारको अर्काइभ
नेपाली अनलाइन पत्रकारितामा यान्त्रिक सुझबुझमा आधारित एआईको प्रयोग बढ्दै गएको परिप्रेक्ष्यमा यसबाट तयार पारिएका सामग्रीको पनि तथ्य जाँच गरिनु पर्ने आवश्यकता महसूस गर्दै हामीले यसबारे तथ्य जाँच गर्ने निर्णय गर्यौँ।
के हो तथ्य?
अनलाइनखबरको एआईद्वारा तयार पारिएको सामग्रीमा एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा हुने दुवै इनिङ्स मा एकै टिमको ब्याटरले खेल्न सक्ने दावी गरिएको छ।
सो दावीको तथ्यजाँच गर्न हामिले ICC MEN’S ONE DAY INTERNATIONAL PLAYING CONDITIONS पढ्यौं। एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा प्रत्येक टीमले एक ईनिङ्स खेल्न सकिने प्रावधान अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको नियम रहेको छ।
अर्थात एक टिमबाट ब्याटरले एक ईनिङ्स खेल्न सक्छन्।
हेर्नुस स्क्रिनसट
एक-दिवसीय अन्तर्राष्ट्रिय खेलको नियम यहाँ पढ्न सकिन्छ।
यसैगरी स्कटल्याण्डका जर्ज मन्से एक दिवसीय क्रिकेटमा १५०+ रन बनाउने पहिलो खेलाडी बनेको पनि दावी गरिएको छ। ESPN cricinfo नामक वेबसाइटमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूची हेर्न सकिन्छ।
ESPN cricinfo ले तयार पारेको सूची अनुसार भारतका रोहित शर्माले सन् २०१४ मा एक इनिङ्समा सर्वाधिक २६४ रन बनाएका थिए।
हेर्नुस् स्क्रिनसट
यसर्थ, एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा कुनै पनि ब्याटरले एक मात्र इनिङ्स खेल्न पाउछ। स्कटल्याण्डका जर्ज मन्से १५०+ रन बनाउने पहिलो खेलाडी होइनन्, यसअघि सन् २०१४ मै भारतका रोहित शर्माले २६४ रन बनाएको देखिन्छ।
तथ्यजाँच
दावीः स्कटल्याण्डका जर्ज मन्सेले १९१ रन बनाएर एकदिवसीय क्रिकेटमा दुवै इनिङ्समा १५०+ रन बनाउने पहिलो खेलाडी बने।
दावीकर्ताः अनलाइनखबर।
तथ्यः मिथ्या सूचना। एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा कुनै पनि ब्याटरले एक मात्र इनिङ्स खेल्न पाउछ। एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा एक इनिङ्समा १५०+ रन बनाउने खेलाडीको सूची लामो छ। भारतका रोहित शर्माले सन २०१४ मा सर्वाधिक २६४ रन बनाएको देखिन्छ।