तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

राजावादी आन्दोलनको भन्दै भाइरल फोटो वास्तवमा मच्छिन्द्रनाथ जात्राको


राजावादी आन्दोलनको भन्दै भाइरल फोटो वास्तवमा मच्छिन्द्रनाथ जात्राको

हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि गरिएको आन्दोलनको फोटो भन्दै धैरै भिडभाड देखिने फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भाइरल फोटोमा धैरै भिडभाड देखिन्छ र छतबाट सो फोटो खिचेको जस्तो देखिन्छ।

तर हाम्रो तथ्यजाँचमा भने सो फोटो भ्रामक सूचना भएको पाइएको छ। ती फोटोहरु राजावादी आन्दोलनको नभई सांस्कृतिक जात्राको हो। 

के हो दावी?

गत जेठ १६ गते अर्जुन ज्ञवाली नामक एक्स (पहिला ट्विटर भनेर चिनिने) प्रयोगकर्ताले आकाशबाट खिचिएको भिड देखिने दुई फोटो पोस्ट गरेका हुन्। राजावादी आन्दोलनको फोटो भएको आसय सहित पोस्ट गर्दै उनले लेखेका छन्ः

 ड्रोनबाट खिचिएको आजको मास।यो जुलुस २०४६ सालमा भुटानी शरणार्थी उतारेर गरेको आन्दोलन जस्तो होइन। नत यो २०६२/०६३ मा ८० करोड भारु भित्र्याएर गरिएको आन्दोलन जस्तो हो।यो स्वस्फूर्त आन्दोलन हो। यो बेबिकिङ,सांस्कृतिक राजा, संवैधानिक राजाको लागि होइन, पृथ्वीपथका लागि हो । हेक्का रहोस् ।

हेर्नुस् स्क्रिनसट

यो तथ्यजाँच तयार पार्दा सम्म ५ सय २६ जनाले लाइक गरेको सो पोस्ट १ सय ९ पटक रिपोस्ट गरिएको छ। सो पोस्टमा ५५ रिप्लाई समेत देख्न सकिन्छ। 

यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि जेठ १६ गते नै विभिन्न फोटोहरु पोस्ट गरेका छन। राजावादी आन्दोलनका फोटोहरु भएको दावीसहित अर्जुन ज्ञवालीले पोस्ट गरेको एक फोटो कमल थापाले पनि पोस्ट गरेका हुन्।

कमल थापाले अझ बढी व्यापक सहभागिताको निम्ति अपिल  गर्दै आन्दोलनमा उत्साहजनक सहभागिता भएको दावी गरेका छन्। ४ वटा फोटो पोस्ट गरेका थापाको तेस्रो फोटो ज्ञवालीले राखेको फोटोसँग मिल्छ।

हेर्नुस् स्क्रिनसट

यो तथ्यजाँच तयार पार्दा सम्म १ सय ६० जनाले लाइक गरेको सो पोस्ट ३३ पटक रिपोस्ट गरिएको छ। सो पोस्टमा २० रिप्लाई पनि देख्न सकिन्छ।

के हो तथ्य?

अर्जुन ज्ञवाली र कमल थापाले एकै फोटो राजावादी आन्दोलनको भएको दावी गर्दै पोस्ट गरेका छन्। सडक भरिने गरी देखिएको भिड राजावादी आन्दोलनको भएको ती पोस्टहरुको दावी छ।

हामीले सो फोटोको सूक्ष्म अध्ययन गरेर हेर्दा फोटोको तल पट्टी बीच भागमा एक वाटरमार्क देखिन्छ। सो फोटोमा भएको वाटरमार्कमा अंग्रेजीमा प्रकाश मानन्धर लेखिएको देख्न सकिन्छ।

हेर्नुस् फोटो

हामिले सो वाटरमार्क फेला परेपछि फोटोग्राफर प्रकाश मानन्धरको फेसबुक पेज हेर्‍यौँ। मानन्धरको फेसबुक पेजमा गत मे २९ अर्थात् जेठ १५ गते रातो मच्छिन्द्रनाथको जात्राको फोटोहरु राखिएको थियो। सो फोटोहरु स्क्रोल गरेर हेर्दा एक फोटो भाइरल फोटोसँग दुरुस्तै मिल्यो।

हेर्नुस् स्क्रिनसट

अर्थात, राजावादी आन्दोलनको भन्दै राखिएको फोटो प्रकाश मानन्धरले खिचेको रातो मछिन्द्रनाथको जात्राको फोटो हो। 

अर्जुन ज्ञवालीले भने थप एक फोटो समेत राखेको देख्न सकिन्छ। घरको छतबाट खिचेको देखिने फोटोमा विभिन्न पसलका नाम देख्न सकिन्छ।

हेर्नुस् स्क्रिनसट

देखिने साइनबोर्ड मध्ये ला फेबेक नामक साइनबोर्ड  जुम गरेर हेर्दा राम्रोसँग चिनिन्छ। सोही नाम गुगल म्यापमा राखेर हेर्दा ललितपुरको कुमारीपाटीमा रहेको ला फेबेक नामक कपडा पसल रहेको भेटियो। हामीले सो ठाउँको स्ट्रिट भ्यू पनि खोलेर हेर्‍यौँ।

स्ट्रिट भ्यू र भाइरल फोटो साथमै राखेर हेर्दा, अर्जुन ज्ञवालीले पोस्ट गरेको फोटो ललितपुरको कुमारीपाटीमा खिचिएको भेटियो। 

हेर्नुस् तुलनात्मक फोटो

हामीले यसबारे थप बुझ्न खोज्दा अनिलवीर बज्राचार्य नामक फेसबुक प्रयोगकर्ताले गत जेठ १५ गते सो फोटो आफ्नो फेसबुक प्रोफाइलमा अपलोड गरेको भेटियो। सो फोटो रातो मच्छिन्द्रनाथको जात्रा सँगै राखिएको छ।

हेर्नुस् स्क्रिनसट

अर्थात सो फोटो पनि राजावादी आन्दोलनको नभई अनिलवीर बज्राचार्यले फेसबुकमा रातो मछिन्द्रनाथको जात्राको फोटोसँगै अपलोड गरेको फोटो हो।

तथ्यजाँच

दावीः राजसंस्था पुनःबहाली गराउन गरिएको आन्दोलनको सहभागिता देखाउने फोटो।

दावीकर्ताः अर्जुन ज्ञवाली र कमल थापा।

तथ्यः भ्रामक सूचना। राजावादी आन्दोलनको भन्दै फैलाइएको एक फोटो फोटोग्राफर प्रकाश मानन्धरले रातो मछिन्द्रनाथको जात्रामा खिचेको फोटो हो। अर्को फोटो भने कुमारीपाटीमा खिचिएको पाइयो। सो फोटो पनि राजावादी आन्दोलनको नभई अनिलवीर बज्राचार्यले फेसबुकमा रातो मछिन्द्रनाथको जात्रा संगै अपलोड गरेको फोटो हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add