तथ्यजाँच गण्डकी भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

नझुक्किनुस्, बालेनले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका होइनन्


नझुक्किनुस्, बालेनले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका होइनन्

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका आफ्ना सभापति रवि लामिछानेको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।अभियानमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले हस्ताक्षर गरेको दावी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भइरहेको छ।

तर हाम्रो तथ्यजाँचमा भने उक्त दावी भ्रामक रहेको पाइएको छ। बालेनले हस्ताक्षर त गरेका हुन् तर दावी गरिएको विषयमा नभई फरक प्रसंगमा। 

के हो दावी?

६ लाख ६७ हजार फलोअर रहेको साथीखबर नामक फेसबुक पेजले गत जुलाई २८ अर्थात् साउन १२ गते एक भिडियो पोष्ट गरेको छ। भिडियोमा काठमाडौं महानगरपालिकाका मेयर बालेनले हस्ताक्षर गर्दै गरेको देख्न सकिन्छ।

भिडियोमा रवि लामिछानेको समर्थनमा बालेन शाह पनि आइसक्नु भएको दावी गरिएको छ। 

हेर्नुस् स्क्रिनरेकर्ड

स्क्रिनसट यहाँ हेर्न सकिन्छ

 

यो तथ्यजाँच तयार पार्दा सम्म २८ हजार ७ सय जनाले रियाक्ट गरेको सो भिडियोमा ७४१ कमेन्ट रहेका छन्। सो भिडियो २ हजार १ सय पटक सेयर समेत गरिएको छ।

यसैगरी सामाजिक सञ्जाल टिकटकमा समेत सोही दावीसहित भिडियो पोस्ट गरिएको छ। १ लाख २४ हजार फलोअर रहेका devrajbhantana69 नामक टिकटक ह्यान्डलबाट गत साउन १२ गते भिडियो पोस्ट गरिएको हो। भिडियोमा रवि लामिछानेको समर्थनमा गीत बजिरहेको सुन्न सकिन्छ। टिकटकमा राखिएको यो भिडियोमा पनि बालेनले हस्ताक्षर गरेजस्तो देखिन्छ। भिडियोको क्याप्सनमा # balen र # rabilamichhane लेखिएको छ।

हेर्नुस् स्क्रिनरेकर्ड

स्क्रिनसट यहाँ हेर्न सकिन्छ

यो तथ्यजाँच तयार पार्दा सम्म १९ हजार ४ सय जनाले लाइक गरेको सो भिडियोमा ३५४ कमेन्ट रहेका छन्। सो भिडियो ३५६ पटक सेयर समेत गरिएको छ।

भाइरल विषय भएकोले हामीले यसको तथ्य जाँच गरेका छौँ।

के हो तथ्य?

बालेनले हस्ताक्षर गरेको जस्तो देखिने भिडियोमा पछाडीपट्टी हरियो बोर्ड देखिन्छ। हरियो बोर्डमा गण्डकी ट्राउट रेस्टुरेन्ट लेखेको देख्न सकिन्छ।

हेर्नुस् स्क्रिनसट

गण्डकी ट्राउट रेस्टुरेन्ट बारे खोजी गर्दा एक फेसबुक पेज भने भेटिन्छ। गण्डकी रेन्बो ट्राउट फिस फार्म नामक उक्त फेसबुक पेजमा भेटिने फोटोहरु बालेनले हस्ताक्षर गरेको ठाउँको जस्तो देखिन्छ।  तर सो फेसबुक पेजमा सन् २०१६ पछि कुनै फोटो अथवा पोस्ट राखिएको भने देखिँदैन।

गण्डकी ट्राउट फार्म र बालेन की वर्ड राखेर गुगलमा सर्च गरी हेर्दा एउटा समाचार फेला पऱ्यो। खबरहबमा गत बैशाख १४ गते प्रकाशित समाचारमा बालेन जन्मदिनका लागि पोखरामा रहेको उल्लेख छ। समाचार अनुसार उनी गण्डकी रेन्बो ट्राउट फार्ममा पनि पुगेका थिए। ट्राउट फार्मका सञ्चालक लक्षिन र अमृत गुरुङ्गले मेयर शाहको तस्बिर सार्वजनिक गरेका हुन्।

पढ्नुस् समाचारको अर्काइभ

ट्राउट फार्मका सञ्चालक अमृत गुरुङ्गको फेसबुक प्रोफाइल हेर्दा गत बैशाख १४ गते केही फोटो सहित एक पोस्ट राखिएको भेटियो। काठमाण्डौंको मेयर बालेन शाहा गण्डकी रेन्बो ट्राउट फार्ममा  भन्ने क्याप्सन राख्दै फोटो र भिडियो राखिएको हो।  सो पोस्टमा मेयर शाहले हस्ताक्षर गर्दै गरेको जस्तो देखिने भिडियो पनि राखिएको छ। शाहले खाना र आतिथ्यता मन परेको उल्लेख गर्दै डायरीमा लेखेको जनाउँदै गुरुङ्गले अन्तिममा डायरीको फोटो पनि पोस्ट गरेका छन्।

हेर्नुस् स्क्रिनसट

यसर्थ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको दावी गर्दै पोस्ट गरिएको भिडियो भ्रामक हो। भिडियो गत बैशाखमा कास्कीको रेन्बो ट्राउट फिस फार्ममा खिचिएको हो।

तथ्यजाँच

दावीः रवि लामिछानेको पक्षमा बालेन शाहले हस्ताक्षर गर्दै गरेको भिडियो।

दावीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्यः भ्रामक सूचना। गत बैशाख महिनामा कास्की जिल्ला स्थित रेन्बो ट्राउट फिस फार्ममा खिचिएको भिडियो फरक सन्दर्भमा प्रयोग गरिएको हो। मेयर शाहले ट्राउट फार्ममा खाना र आतिथ्यता मन परेको उल्लेख गर्दै डायरीमा लेखेका हुन्। रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका होइनन्।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add