- प्रविण भट्ट
- साउन ११, २०८२

नझुक्किनुस्, प्रेगनेन्सी टेस्ट किटमा पिताको फोटो देखिने प्रविधि आइसकेको छैन
गर्भावस्था परीक्षण गर्ने मेसिनबाटै बच्चाको बुबाबारे थाहा हुने दावी सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ। जापानमा भएको अनुसन्धानको हवाला दिँदै प्रेगनेन्सी टेस्ट किटमा जसको बच्चा हो, उसको फोटो देखिने दावी गरिएको छ।
तर हाम्रो तथ्यजाँचमा भने सो दावी मिथ्या सूचना भएको पाइएको छ। यस्तो कुनै पनि टेस्ट किट हालसम्म उपलब्ध छैन।
के हो दावी?
१७ हजार फलोअर रहेको क्षेत्री राकेश रोमन नामक फेसबुक प्रयोगकर्ताले गत जुलाई २० (साउन ४) मा एक फोटोसहितको पोस्ट गरेका छन्। सो पोस्टमा गरिएको दावी अनुसार अब प्रेगनेन्सी टेस्ट किटमै गर्भावस्थामै बच्चाको बाबुको फोटो देखिनेछ। रोमनले सेयर गरेको फोटोमा पनि टेस्ट किटमै एउटा फोटो राखेको देख्न सकिन्छ।
हेर्नुस् स्क्रिनसट

यो तथ्यजाँच तयार पार्दासम्म ८६ पटक सेयर गरिएको सो पोस्टमा १०५ कमेन्ट छन्। रियाक्सन भने कति छन् भनेर हेर्न नमिल्ने बनाइएको छ।
यसैगरी गत जुलाई २१ अर्थात् साउन ५ गते विशेष मिडिया नामको फेसबुक पेजले पनि रिलमार्फत् सोही दावी गरेको छ। समाचार वाचनको शैलीमा राखिएको भिडियोमा प्रेगनेन्सी टेस्ट गर्दा टेस्ट किटले नै बच्चाको बुबाको अनुहार देखाउने भएको दावी गरिएको छ। भिडियोमा जापानका वैज्ञानिकले उक्त किट विकास गरेको भनिएको छ। किटले गर्भमा रहेको भ्रुणको विश्लेषणमार्फत् पेटभित्र रहेको बच्चाको पिताको तस्बिर देखाउने दावी गरिएको हो।
हेर्नुस् स्क्रिनरेकर्ड
यो तथ्यजाँच तयार पार्दा सम्म १४ हजार ६ सय जनाले रियाक्ट गरेको सो भिडियोमा ३७३ पटक सेयर गरिएको छ। भिडियोमा २४२ कमेन्ट रहेका छन्
के हो तथ्य?
फेसबुकमा फैलिएको सूचना अनुसार जापानका वैज्ञानिकले बच्चाको पिताको तस्बिर देखिने टेस्ट किट विकास गरेका हुन्। हामीले सो दावी अनुसार डिप सर्च गरेर हेऱ्यौं। यसरी डिप सर्च गरेर हेर्दा कुनै पनि त्यस्तो किट जापानका वैज्ञानिकले विकास गरेको भेटिएन।
पिताको फोटो देखाउने प्रेगनेन्सी टेस्ट किट बारे सर्च गरेर हेर्दा भने भारतको फ्याक्टली नामक तथ्यजाँच संस्थाले २ वर्ष अगाडि प्रकाशित गरेको तथ्यजाँच फेला पऱ्यो। सो तथ्यजाँच अनुसार प्रेग्नेन्सी टेस्ट किटमा पिताको फोटो देखिने भन्दै फैलिएको फोटो सम्पादित थियो।
हेर्नुस् स्क्रिनसट

बच्चा जन्मिनु अगाडि नै बुबा पत्ता लगाउन गर्न सकिने टेस्ट बारे सटिक जानकारी खोजी गर्दा American Pregnancy Association नामक संस्थाको वेबसाइटमा एक ब्लग भेटियो। American Pregnancy Association का अनुसार गर्भावस्थामा पिता पत्ता लगाउन तीन प्रकारको टेस्ट गर्न सकिन्छ। सो ब्लगमा तीनवटा तरिका मध्ये Non-Invasive Prenatal Paternity (NIPP) टेस्ट गर्न सुझाव दिइएको छ।
सन् २०१९मा फरेन्सिक साइन्स इन्टरनेशनल मा प्रकाशित अनुसन्धान लेखका अनुसार Non-Invasive Prenatal Paternity (NIPP) टेस्ट उपयोगी हुने बताइएको छ।
यसर्थ गर्भावस्थामै रहेको बेला बच्चाको पिता पत्ता लगाउन सकिने भए पनि, प्रेगनेन्सी टेस्ट किटमै पिताको फोटो देखिँदैन। प्रेगनेन्सी टेस्ट किटमा पिताको फोटो देखिने भन्ने दावी मिथ्या सूचना हो।
तथ्यजाँच
दावीः प्रेगनेन्सी टेस्ट किटले अब बच्चाको पिताको फोटो देखाउने भएको छ।
दावीकर्ताः फेसबुक प्रयोगकर्ता क्षेत्री राकेश रोमन र विशेष मिडिया।
तथ्यः मिथ्या सूचना। प्रेगनेन्सी टेस्ट किटमा बच्चाको पिताको फोटो देखिने कुनै प्रविधि विकास भएको छैन। गर्भावस्थामा बच्चाको पिता पत्ता लगाउने अन्य तरिका विद्यमान भएतापनि प्रेगनेन्सी टेस्ट किटबाटै थाहा हुने होइन।