तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

फेसबुकले निजी तस्बिर प्रयोग गर्ने नयाँ नियम ल्याएको दावी झुटो


फेसबुकले निजी तस्बिर प्रयोग गर्ने नयाँ नियम ल्याएको दावी झुटो

सामाजिक सञ्जाल फेसबुकमा नयाँ नियम लागू भएको भन्दै प्रयोगकर्ताको निजी तस्बिर प्रयोग गर्न सक्ने दाबीसमेत समेटिएका स्टाटसहरू हाल भाइरल भइरहेका छन्।

तर, हाम्रो तथ्यजाँचमा यो दाबी पूर्णतः मिथ्या सूचना भएको पुष्टि भएको छ।

के हो दावी?

भाइरल भएको फेसबुक पोस्टका अनुसार, फेसबुकले नयाँ नियम ल्याएर प्रयोगकर्ताको निजी तस्बिर प्रयोग गर्न सक्ने दाबी गरिएको छ। पोस्टमा यो जानकारी टेलिभिजनमा पनि प्रसारण भएको उल्लेख छ। साथै, त्यसमा “कृपया यो सन्देशलाई प्रतिलिपि गरेर आफ्नो प्रोफाइलमा नयाँ पोष्टको रूपमा टाँस्नुहोस्। जसले यस्तो गर्दैनन्, तिनीहरूलाई अनुमति दिएको मानिनेछ” भन्ने भनाइसमेत समावेश गरिएको छ।

हेर्नुस् फेसबुक पोस्टहरुको स्क्रिनरेकर्ड

के हो तथ्य?

फेसबुकले कुनै नयाँ नियम लागू गर्दै गरेको भन्ने दावीको तथ्यजाँच गर्न हामीले गुगलमा अंग्रेजीमा खोजी गरेर हेर्‍यौँ। गुगलमा फेसबुकको नयाँ नियम र निजी तस्बिरको प्रयोग बारे खोजी गरेर हेर्दा तथ्यजाँच संस्था स्नुप्स ले गरेको तथ्यजाँच भेटियो।

सन् २०२४ मार्चमा प्रकाशित तथ्यजाँचका अनुसार सो स्टाटस कपिपास्टा (copypasta) अर्थात कपी र पेस्ट गरेर फैलाउन प्रेरित गरिएको स्टाटस हो। यस्तै कमसेकम दुई फरक फरक स्टाटसहरुको तथ्यजाँच गरिसकेको सो तथ्यजाँचमा उल्लेख गरिएको छ। 

पढ्नुस् स्नुप्स को तथ्यजाँच

फोर्ब्समा गत २०२४ मार्च मा प्रकाशित समाचारका अनुसार फेसबुकले सन् २०१२ मै यस्तो स्टाटसको खण्डन गरेको थियो। फेसबुकले प्रयोगकर्ताले वेबसाइटमा राख्ने सामग्री बारे अफवाह फैलिएको बताउदै उक्त कुरा झुटो भएको बताएको थियो।

हेर्नुस् फेसबुकले सन् २०१२ मा प्रकाशित गरेको खण्डन

तसर्थ, फेसबुकले नयाँ नियम लागू गर्दै गरेको र सो नियमका अनुसार प्रयोगकर्ताको तस्बिर प्रयोग गर्ने दावी मिथ्या सूचना हो। उक्त दावी कपीपास्टाका रुपमा सन् २०१२ देखि नै फैलिरहेको बुझ्न सकिन्छ। यसअघि पनि यस्तै शैलीको मिथ्या सूचना ह्वाट्सएप सन्दर्भमा फैलिएको थियो, जसमा ‘ह्वाट्सएप कल रेकर्ड गरिन्छ’ भन्ने दावी गरिएको थियो। नेपाल फ्याक्ट चेकले सो दावीको पनि खण्डन गरिसकेको छ — हेर्नुहोस् यहाँ

तथ्यजाँच

दावीः  फेसबुकले नयाँ नियम लागु गर्दै गरेको र सो नियमका अनुसार प्रयोगकर्ताको तस्बिर प्रयोग गर्न सक्ने।

दावीकर्ताः सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता।

तथ्यः मिथ्या सूचना। फेसबुक आफैले यो सूचना सही नभएको बताइसकेको छ। कपि र पेस्ट गरेर फैलाउन प्रेरित गरिएको सो स्टाटस सन २०१२ बाटै फैलिरहेको देख्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add