- प्रविण भट्ट
- भदौ १०, २०८२

स्टारलिङ्कको इन्टरनेट अफरका नाममा स्क्याम विज्ञापन फेसबुकमा फैलँदै
स्टारलिंक इन्टरनेटले आजीवन अफर दिइरहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट विज्ञापनको रुपमा चलिरहेको छ। विज्ञापनको रुपमा आएको यो पोस्ट हाम्रो तथ्यजाँचमा भने स्क्याम वेबसाइट भएको पाइएको छ।
के हो दावी?
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट विज्ञापनको रुपमा देखा परिरहेको छ। स्टारलिंक ग्लोबल नामक पेजबाट चलाइएको विज्ञापनमा स्टारलिंक इन्टरनेट सेवाको स्टारलिंक मिनी आजीवन प्रयोग गर्न मिल्ने गरी किन्न सकिने दावी गरिएको छ। एक वर्षको लागि १० हजार ९ सय र आजीवन प्रयोग गर्न २० हजार ६ सय रुपैयाँ लाग्ने सो विज्ञापनमा दावी गरिएको छ।
अन्तिम मौका लेखिएको विज्ञापनमा क्लिक गरेर हेर्दा एक वेबसाइट खुल्छ। सो वेबसाइटमा पनि नेपाली भाषामै स्टारलिंक इन्टरनेट प्याकेज खरिद गर्न सकिने उल्लेख गरिएको छ।
हेर्नुस् स्क्रिनसट

के हो तथ्य?
स्टारलिंक इन्टरनेट सेवा नेपालमा आधिकारिक रुपमा उपलब्ध छैन। स्टारलिंककै आधिकारिक वेबसाइटले पनि नेपाललाई छिट्टै उपलब्ध हुने सूचीमा समावेस गरेको छ ।
हेर्नुस् स्क्रिनसट

यसरी नेपालमा सेवा नै उपलब्ध नभएको कम्पनीले कुनै सेवा आजीवन दिन सक्ने कुरा भएन। त्यसैले हामीले यो फेसबुक पेजबारे विस्तृत अध्ययन गऱ्यौं।
पेज खोलेर हेर्दा भने प्रोफाइल फोटो अपलोड गरेको बाहेक कुनै पोस्ट देखिदैन। तर पेजको विवरण खोलेर हेर्दा पेज भियतनामको भएको बताइएको छ। तर पेजका एडमिन भने ब्राजिलमा रहेको उल्लेख गरिएको छ। यो फेसबुक पेजमा मात्र ५० लाइक र ६७ फलोअर्स छ।

यसबाट एलन मस्कको स्वामित्वमा रहेको स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने अमेरिकामा मुख्य कार्यालय रहेको स्टारलिङ्क कम्पनीको यो आधिकारिक पेज नभएको बुझ्न सकिन्छ।
पेजबारे फेसबुकको एड लाइब्रेरीमा खोजी गर्दा पुराना ७७ वटा विज्ञापन भेटिए। यी विज्ञापन ८ घण्टादेखि १७ घण्टा सम्म चलिरहेको देख्न सकिन्छ। अधिकांश विज्ञापन युरोप लक्षित पनि देखिन्छ। अगष्ट १७ तारेखका दिन चलाइएको एक विज्ञापनमा Consejos de la Cami नाम देखा पर्छ भने सोहीदिन चलाइएको अर्को विज्ञापनमा भने PASTILHART COMERCIO DE REVESTIMENTOS PARA CONSTRUCAO LTDA नाम देखा पर्छ।
हेर्नुस् फेसबुक एड लाइब्रेरीमा स्टारलिंक ग्लोबलका पुराना विज्ञापन

विज्ञापनको पैसा तिर्ने संस्थाको बारेमा खोजी गर्दा Consejos de la Cami नामक एक फेसबुक पेज भेटियो, सो फेसबुक पेजमा केवल ५ वटा पोस्ट गरिएको छ।
स्टारलिंक इन्टरनेट सस्तोमा आजीवन प्रयोग गर्न पाउने दावी गर्दै स्क्याम गर्ने रणनीति विज्ञापनमार्फत् प्रयोग गरिएको हाम्रो निस्कर्ष छ। नेपालमा स्टारलिंक इन्टरनेट आधिकारिक रुपमा उपलब्ध छैन।
तथ्यजाँच
दावीः स्टारलिंक इन्टरनेट सेवाको स्टारलिंक मिनी सस्तोमा आजीवन प्रयोग गर्न पाउने विज्ञापन।
दावीकर्ताः स्टारलिंक ग्लोबल फेसबुक पेज।
तथ्यः मिथ्या सूचना। नेपालमा स्टारलिंक इन्टरनेट आधिकारिक रुपमा उपलब्ध छैन। विश्वभरी विज्ञापन चलाउँदै आएको यो पेज एक स्क्याम पेज भएको नेपाल तथ्यजाँचको निष्कर्ष छ।