तथ्यजाँच भ्रामक सूचना वागमती

नझुक्किनुस्, आरजुको भाइरल भिडियो अहिलेको होइन, कोरोना महामारीको बेला जापानमा हुँदाको


नझुक्किनुस्, आरजुको भाइरल भिडियो अहिलेको होइन, कोरोना महामारीको बेला जापानमा हुँदाको

  • सुरज घिमिरे –

जेन जी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको बुढानिलकण्ठस्थित निवासमा आगजनी र कुटपिट भयो।  कुटपिटपछि आरजुले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएको दावी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, हाम्रो तथ्य जाँचमा उक्त भिडियोको हालको नभई ४ वर्ष पुरानो कोरोना महामारीको समयको भएको र हालका घटनाहरुसँग कुनै सम्बन्ध नभएको पाइएको छ।

के हो दाबी ?

“Student विद्यार्थी” नामको फेसबुक पेजमा “कुटपिटपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिँदै पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा । भनिन् – समाजसेवी व्यक्ति हुँ, मैले गर्नुपर्ने कार्यहरू गर्ने छु”  शीर्षकमा आइतबार साँझ ८:४४ मा एउटा ३३ सेकेन्डको भिडियो पोस्ट भयो।

भिडियोमा पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवाले भनेकी छिन्, “.. समवेदना पनि छ, मैले गर्न सक्ने काम सानोतिनो जे जे काम गर्न सक्छु, यहाँ बसेर पनि फोनको भरमा गरिरहेकी छु । किनभने म एउटा समाजसेवी हुँ र हमेशा आफ्नो देश, आफ्नो माटो र आफ्नो मान्छे नेपालीहरूप्रति समर्पित छु भन्दै फेरि पुनः खटिरहनुभएको सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु। यस्तो काम अगाडि पनि गर्नुस् । मैले गर्न सक्ने सहयोग पनि म प्रदान गर्नेछु भन्दै आफ्ना केही शब्दहरू थाती राख्छु । धन्यवाद जय नेपाल।”

३२ हजार फलोअर्स भएको उक्त पेजमा राखिएको भिडियोमा हामीले यो तथ्य जाँच गर्दै गर्दा ५९८ रियाक्सन लाइक, ११४ कमेन्ट र २० पटक शेयर भएको छ । साथै, उक्त भिडियो ५५ हजार बढीले हेरिसकेका छन् ।

हेर्नुहोस् स्क्रिन रेकर्ड भिडियो :

उक्त भिडियोलाई हुबहु लुम्बिनी समय बेलाका उदयपुर , मुकेशचन्द्र कुशवाह, र नेपाल ट्रु न्युज लगायतका फेसबुकमा पनि पोस्ट गरिएको छ ।

के हो तथ्य ? 

तथ्य जाँचको लागि हामीले उक्त भिडियोको स्क्रिनसट निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ। सामाग्री हेर्दै जाँदा हामीले “Arzu  Rana Deuba” नामक पूर्व परराष्ट्र मन्त्रीको अफिसियल फेसबुक पेजमा राखेको भिडियो फेला पार्‍यौँ।
२०२१ मे १५ मा स्वयं राणाले आफ्नो पेजमा अपलोड गरेको उक्त भिडियो २ मिनेट २५ सेकेन्डको छ। भिडियोमा उनले कोरोनाविरुद्धको लडाइँमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अस्पताल व्यवस्थापक, अस्पताल कर्मचारी, एम्बुलेन्स चालकहरूलाई धन्यवाद दिएकी छन्। साथै, उनले आफू तीन महिनादेखि नेपालबाहिर उपचाररत रहेको समेत बताएकी छिन्। उनले भिडियोमार्फत् कोरोना सङ्क्रमितहरूको स्वास्थ्य लाभको कामना गर्दै कोभिड सङ्क्रमणबाट मृत्यु हुने शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेकी छिन्।
भिडियोको १ मिनेट ४८ सेकेन्डपछि उनले भनेकै कुरा अहिले भाइरल भएको भिडियोमा देखिन्छ।
हेर्नुस् आरजुको फेसबुकमा चार वर्षअघि अपलोड भएको भिडियोको स्क्रिनसट-
चार वर्षअघिकै क्लिपलाई काटेर  “Student विद्यार्थी” लगायतका फेसबुक पेजहरूले  “कुटपिटपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएको” भन्दै भ्रम फैलाइरहेको देखिन्छ।

हामीले यस विषयमा थप खोज्यौँ। खोज्दै गर्दा उक्त भिडियो कोरोनाको समयमा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि राणा जापान मै भएको बेला बनाइएको सम्बन्धी समाचार पनि फेला पार्‍यौँ।

हेर्नुस् २०७८ जेठ २ गते थाहाखबर अनलाइनमा प्रकाशित समाचारको स्क्रिनसट-

समाचारको अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तथ्य जाँच

दावी : कुटपिटपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिँदै पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा दावी गरिएको भिडियो।
दावीकर्ता : “Student विद्यार्थी” लगायतका फेसबुक पेज ।
तथ्य : भ्रामक सूचना । कोरोनाको समयमा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि जापानमा रहेको बनाइएको चार वर्ष पुरानो भिडियोको क्लिप काटेर भाइरल बनाइएको। अहिलेको अवस्थासँग यसको कुनै सम्बन्ध छैन।

प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add