- प्रविण भट्ट
- अशोज १, २०८२

जेन-जी आन्दोलनमा कुटपिटपछि देउवाको पहिलो भिडियो? होइन, भाइरल भिडियो पुरानो हो
जेन-जी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा आगजनी र कुटपिट भएको थियो। घाइते देउवा दम्पतिलाई सेनाले उद्धार गरेको थियो। यो घटनापछि देउवाले पहिलो पटक सम्बोधन गरेको दावी गर्दै एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ।
तर हाम्रो तथ्यजाँचमा भने यो भिडियो हालको आन्दोलनभन्दा अघिको भएको र गलत दावीका साथ भ्रम फैलाउने हिसाबले फैलाइएको पुष्टि भएको छ।
के हो दाबी?
३९ हजार फलोअर रहेको उज्ज्वल झा नामक फेसबुक प्रयोगकर्ताले भदौ ३० गते पोस्ट गरेको भिडियोमा कांग्रेस सभापति शेरबहादुर देउवा बोलिरहेको देख्न सकिन्छ। सभापति देउवाले टाउकोमा फरकखाले पहिरन लगाएर नेपाली कांग्रेसका उपलब्धिबारे बताइरहेको सुन्न सकिन्छ।
सो भिडियोको क्याप्सनमा भने “कुटाइ खाएपछि देउवा जीको पहिलो भिडियो सार्वजनिक भयो । अगाडिदेखि यस्तो नगर्नु है देउवा जी” लेखिएको छ।
हेर्नुस् स्क्रिनरेकर्ड –
यो तथ्यजाँच तयार पार्दा सम्म ४ हजार ७ सय जनाको रियाक्सन रहेको सो भिडियो ४६६ पटक सेयर गरिएको छ। भिडियोमा ८१८ कमेन्ट छन्। अधिकांश कमेन्ट लेखकहरुले हालैको भिडियो भएको विश्वास गरेका छन्। त्यसैले हामीले यसको तथ्य जाँच गर्ने निर्णय गर्यौँ।
के हो तथ्य?
भिडियोको तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिला यसको स्क्रिनसट निकाल्यौँ र गुगलमा रिभर्स इमेज सर्च गर्यौँ। गुगलले टिकटकमा रहेको एउटा भिडियो देखायो । साझा टिभी नामक टिकटक ह्याण्डलमा राखिएको भिडियोमा देउवा देखिन्छन्। भाइरल भिडियोमा देखिने देउवाको पहिरन र सो कार्यक्रममा देउवाले लगाएको पहिरन एकै देखिन्छ। भिडियोमा नेपाल मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह, ३० र ३१ साउन लेखेको देख्न सकिन्छ।
हेर्नुस् स्क्रिनसट

शेरबहादुर देउवाकै आधिकारिक फेसबुक पेजमा गत अगस्त १५ (साउन ३० गते) यो कार्यक्रमको फोटो समेत पोस्ट गरेको भेटियो।
हेर्नुस् देउवाको फेसबुक पोस्टको स्क्रिनसट-

शेरबहादुर देउवाले सो कार्यक्रममा बोलेको भिडियो न्युज एजेन्सी नेपालले एक महिना अगाडि युट्युबमा समेत राखेको छ। भाइरल भिडियोमा देखिएको दृश्य सोही भिडियोको २२ सेकेन्डबाट देउवाले बोलेको कुरालाई फास्ट फर्वार्ड गरिएको हो।
हेर्नुस् न्युज एजेन्सी नेपालको भिडियो
स्क्रिनरेकर्डका लागि यहाँ क्लिक गर्नुस्।
यसर्थ कुटपिटको घटनापछि देउवाले पहिलोपटक सम्बोधन गरेको भन्दै फैलिएको भिडियो भ्रामक छ। भिडियो गत साउन ३० गतेको हो।
तथ्यजाँच
दावीः भदौ २४ को कुटपिटको घटनापछि देउवाले पहिलोपटक सम्बोधन गरेको भिडियो।
दावीकर्ताः उज्ज्वल झा नामक फेसबुक प्रयोगकर्ता।
तथ्यः भ्रामक सूचना। कुटपिटको घटनापछि देउवाले पहिलोपटक सम्बोधन गरेको भन्दै फैलिएको भिडियो साउन ३० गतेको हो। उक्त भिडियो सानेपामा भएको नेपाल मगर संघको तेस्रो महाधिवेशनमा बोल्दै गर्दाको हो।
