- प्रविण भट्ट
- अशोज ७, २०८२

के नवनियुक्त सञ्चार मन्त्री जगदीश खरेल नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन्?
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछि पत्रकार जगदीश खरेल सञ्चार मन्त्री नियुक्त भए। यससँगै सामाजिक सञ्जालमा उनी नेपाली कांग्रेसको सदस्य भएको दाबी गर्दै पोस्टहरू भाइरल भए। यस्तो दाबी सही हो कि होइन भन्ने अन्यौलका कारण हाम्रा ह्वाट्सएपमा तथ्य-जाँचको अनुरोध आयो। त्यसैले हामीले यस विषयमा तथ्य-जाँच गरेका छौँ।
के हो दावी?
फेसबुकमा अरुण नेपाली लुइँटेल ले गत असोज ६ गते चार वटा फोटोको कोलाज बनाउँदै एक पोस्ट गरेका छन्। उक्त पोस्टमा उनले सञ्चारकर्मी खरेल नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको दावी गरेका हुन्।
हेर्नुस् स्क्रिनसट –

यो तथ्यजाँच तयार पार्दासम्म १ हजार १ सय जनाले रियाक्ट गरेको सो पोस्टमा १८० कमेन्ट छन्। यो पोस्ट १५५ पटक सेयर समेत गरिएको छ।
खरेल नेपाली कांग्रेसको सदस्य रहेको दावी एक्स (पहिले ट्विटर भनेर चिनिने) मा पनि भाइरल भएको छ। भीम वली नामक एक्स प्रयोगकर्ताले सञ्चारमन्त्री खरेल कांग्रेसको सदस्य रहेको दावी गर्दै पोस्ट गरेका हुन्।
हेर्नुस् स्क्रिनसट –

यो तथ्यजाँच तयार पार्दासम्म १०० जनाले लाइक गरेको उक्त पोस्ट २४ पटक रिपोस्ट गरिएको छ भने १४ हजार भ्युज देखिएको छ।
के हो क्रियाशील सदस्यता ?
नेपाली कांग्रेसको विधान अनुसार पार्टीमा दुई किसिमको सदस्यता हुन्छ- सदस्य र क्रियाशील सदस्य। सदस्य भएको एक वर्षपछि निम्न योग्यता पुग्नेलाई मात्र क्रियाशील सदस्यता दिइन्छ। हेर्नुस् विधानको व्यवस्था-

के हो तथ्य?
तथ्य जाँचका लागि हामीले नेपाली कांग्रेसको आधिकारिक वेबसाइट खोलेर हेऱ्यौं। नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा बागमती प्रदेशको दोलखा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, प्रदेश सभा क्षेत्र २, कालिञ्चोक गाउँपालिका, वडा नं ७ को क्रियाशील सदस्यहरुको नामावलीको क्रम संख्या १५३ मा जगदीश खरेलको नाम भेटियो।
हेर्नुस् स्क्रिनसट

त्यसमा उल्लेख भएका जगदीश खरेल सञ्चारकर्मी हुन् कि हैनन् भन्ने विषयमा गुगलमा खोज्ने क्रममा ओटिभी नेपाल नामक न्युजपोर्टलमा एउटा समाचार भेटियो। २०७८ असोज ५ गते प्रकाशित समाचारमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका ७ सुनखानीबाट जिल्ला अधिवेशनमा भाग लिन क्षेत्रीय प्रतिनिधि चुनिएर आएका हुन् भनिएको छ।

पढ्नुस् ओटिभी नेपालको समाचार अर्काइभ
हेर्नुस् स्क्रिनसट

त्यसैगरी ‘नागरिक’ राष्ट्रिय दैनिकमा २०७८ असोज ४ गते प्रकाशित ‘दाेलखा कांग्रेस अधिवेशनमा फरक पेशाका नयाँ अनुहार’ शीर्षकको समाचारमा जगदीश खरेलको फोटोसहित लेखिएको छ- प्रख्यात अन्तर्वार्ताकार जगदिश खरेल समेत कांग्रेसको सक्रिय राजनीतिमा जोडिँदै कालिञ्चोक गाउँपालिका ७ सुनखानीबाट जिल्ला अधिवेशनमा भाग लिन क्षेत्रीय प्रतिनिधि चुनिएर आएका हुन्।
पढ्नुस् नागरिकमा प्रकाशित समाचारको अर्काइभ
हेर्नुस् स्क्रिनसट


सरकारी अखबार गोरखापत्रको ७ असोज २०८२, मङ्गलबार प्रकाशित समाचारमा सञ्चार मन्त्री खरेल दोलखाको कालिञ्चोक गाउँपालिका, सुनखानी भदौरेका स्थायी बासिन्दा भएको उल्लेख छ।
कालिञ्चोक गाउँपालिकाको आधिकारिक वेबसाइट अनुसार उक्त ठाउँ वडा नम्बर ७ मा पर्छ।
नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ कै क्रियाशील सदस्यहरुको सूचीमा खरेलको नाम रहेकोले उक्त व्यक्ति हालका सञ्चार मन्त्री नै रहेको पुष्टि हुन्छ।
अतः सामाजिक सञ्जालमा भाइरल भइरहेको सञ्चारमन्त्री खरेल नेपाली कांग्रेसका क्रियाशील सदस्य भएको दावी सही हो। उनी २०७८ असोजमा जिल्ला अधिवेशनका लागी क्षेत्रीय प्रतिनिधि चुनिएका थिए।
तथ्यजाँच
दावीः सञ्चारमन्त्री खरेल नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको।
दावीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्यः सही सूचना। २०७८ असोजमा जिल्ला अधिवेशनका लागी क्षेत्रीय प्रतिनिधि चुनिएका खरेल नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन्। उनको नाम नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा रहेको क्रियाशील सदस्यको सूचीमा रहेको छ भने यस सम्बन्धी समाचार पनि २०७८ सालमा विभिन्न मिडियामा प्रकाशन भएका छन्।
