तथ्यजाँच मिथ्या सूचना वागमती

मतदान गर्न सकिने उमेर १८ वर्षबाट घटाएर १६ वर्ष पुर्‍याइएको होइन


मतदान गर्न सकिने उमेर १८ वर्षबाट घटाएर १६ वर्ष पुर्‍याइएको होइन

नेपालमा मतदान गर्न सकिने उमेर १८ बाट घटाएर १६ वर्ष पुऱ्याइएको दावी गर्दै केही भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन्। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सरकारले यस्तो निर्णय गरेको दावी गर्दै ती समाचारमा जेन-जी आन्दोलनपछिको परिस्थितिमा मतदान गर्न पाउने उमेर घटाइएको उल्लेख छ।

तर हाम्रो तथ्यजाँचमा भने यो दावी गलत रहेको पुष्टि भयो। 

के हो दावी?

गत सेप्टेम्बर २५ (असोज ९ गते) मा इण्डिया टुडेमा छापिएको समाचारको हेडलाइनमै मतदान गर्न पाउने उमेर नेपालमा १८ बाट १६ वर्ष पुऱ्याइएको दावी छ। 

हेर्नुस् स्क्रिनसट

यसैगरी रिपब्लिक वर्ल्डमा सेप्टेम्बर २६ (असोज १० गते) मा प्रकाशित समाचारमा पनि मतदान गर्न पाउने उमेर १८ बाट १६ पुऱ्याइएको दावी गरिएको छ।

हेर्नुस् स्क्रिनसट

के हो तथ्य?

नेपालको संवैधानिक व्यवस्था अनुसार १८ वर्ष पूरा गरेको नेपाली नागरिकले मात्रै प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था छ। नेपालको संविधानको धारा ८४ को उपधारा ५ मा यो व्यवस्था गरिएको छ।

हेर्नुस् संवैधानिक व्यवस्था

यस सम्बन्धमा निर्वाचन आयोगले समेत प्रेस विज्ञप्ति गत असोज ९ गते जारी गरेको छ। आयोगको प्रेस विज्ञप्ति अनुसार १६ वर्ष पूरा गरेर नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता भने गराउन सक्नेछन्। तर मतदान गर्नका लागि भने २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेको हुनुपर्ने विज्ञप्तिमा स्पष्ट उल्लेख छ।

हेर्नुस् आयोगको विज्ञप्ति

अतः नेपालमा जेन-जी आन्दोलनपछि बनेको सरकारले मतदान गर्न पाउने उमेर घटाएको छैन। मतदान गर्न पाउने उमेर १८ वर्ष नै भएको निर्वाचन आयोगले समेत विज्ञप्तिमार्फत् स्पष्ट पारेको छ।

तथ्यजाँच

दावीः नेपालमा मतदान गर्न सकिने उमेर १८ बाट घटाएर १६ पुऱ्याइएको।

दावीकर्ताः इण्डिया टूडे र रिपब्लिक वर्ल्ड।

तथ्यः मिथ्या सूचना। नेपालमा जेन-जी आन्दोलनपछि बनेको सरकारले मतदान गर्न पाउने उमेर घटाएको छैन। संवैधानिक व्यवस्था अनुसार मतदान गर्न पाउने उमेर १८ वर्ष हो। निर्वाचन आयोगले समेत विज्ञप्तिमार्फत् सो कुरा  स्पष्ट पारिसकेको छ। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add