तथ्यजाँच मिथ्या सूचना वागमती

भाइरल भिडियोको दावी गलत : बन्दूक होइन, मोबाइल छ हातमा


भाइरल भिडियोको दावी गलत : बन्दूक होइन, मोबाइल छ हातमा

घरको छतबाट लुकेर सुट-बुटमा रहेको व्यक्तिले गोली हानिरहेको दावी गर्दै एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा फैलिरहेको छ। भिडियोमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि रहेको घरको छतमा रहेको व्यक्तिको हातमा रहेको वस्तु कम गुणस्तरको भिडियो भएको कारण प्रष्ट भने देखिँदैन।

हाम्रो तथ्यजाँचले गोली हानिएको दावी मिथ्या रहेको देखियो। ती व्यक्तिले बन्दूक होइन, मोबाइलले फोटो खिचेका हुन्। 

के हो दावी?

एमाले नेता महेश बस्नेतको नाम र फोटो भएको ९१ हजार फलोअर्स भएको फेसबुक प्रोफाइलबाट गत असोज ६ गते एउटा भिडियो सहितको पोस्ट गरियो। राम्रोसँग मान्छे चिन्न नसकिने गरी राखिएको कमसल पिक्सेल क्वालिटी भएको भिडियोमा छतमा दुई जना व्यक्ति देखिन्छ। घरको अगाडि संसद भवन छ भने सडकमा आन्दोलनकारीहरु छन्। दुई मध्ये सुट लगाएका एक व्यक्तिको हातमा कुनै वस्तु भिडतर्फ तेर्स्याएको जस्तो देखिन्छ।

भिडियो सँगै राखिएको पोस्टमा लेखिएको छ, “हेर्नुस्, छतबाट लुकेर गोली हान्दै सुट–बुट लगाएको मानिस को हो?” 

भिडियोलाई शंकास्पद तवरमा छतबाट कुनै व्यक्तिले गोली हानिरहेको भन्ने भाष्यसहित फैलाइएको छ।

हेर्नुस् स्क्रिनरेकर्ड

स्क्रिनसट यहाँ हेर्न सकिन्छ।

यो तथ्यजाँच तयार पार्दा सम्म ५ लाख ७६ हजार पटक हेरिएको यो भिडियोमा  ४४ सय जनाले रियाक्ट गरेका छन् भने १४ सय कमेन्ट रहेका छन्। सो भिडियो ६१८ पटक सेयर समेत गरिएको छ।

यही भिडियो एक्स (पहिलेको ट्विटर) मा पनि फैलिएको देखिन्छ।

के हो तथ्य?

तथ्य जाँचका लागि हामीले उक्त भिडियोको विभिन्न स्क्रिनसट लिँदै गुगलमा रिभर्स इमेज सर्च गरी हेऱ्यौं। यस क्रममा  एउटा टिकटक भिडियो भेटियो।

सजना श्रेष्ठ नामक टिकटक प्रयोगकर्ताले राखेको सो टिकटक भिडियोका दृश्य हुबहु भाइरल भएको भिडियोसित मिल्छ। तर महेश बस्नेतको नामबाट फैलिएको भिडियो भन्दा यो भिडियोको रेजोल्युसन बढी छ जसका कारण दृश्य अझ स्पष्ट देखिन्छ।   

हेर्नुस् सजना श्रेष्ठले टिकटकमा राखेको भिडियोको स्क्रिनसट-

हेर्नुस् तुलनात्मक फोटो

हेर्नुस् जुम गरिएको फोटो-

जुम गरिएको जिफ फाइल-

टिकटकमा भेटिएको सो भिडियो कहिले अपलोड गरिएको रहेछ भनेर हेर्न हामीले बेलिङक्याटको अपलोड टाइम स्टाम्प देखिने टूल प्रयोग गऱ्यौं। उक्त भिडियो गत भदौ २३ गते नेपालको समय अनुसार दिउँसो १ बजे तिर अपलोड गरिएको पाइयो।

हेर्नुस् स्क्रिनसट

यसर्थ, भाइरल भएको भिडियो टिकटकमा अपलोड भएको मिति र समयको आधारमा जेन-जी आन्दोलनको पहिलो दिनकै समयमा भएको देखिए तापनि देखिएका व्यक्ति गोली हान्दै गरेका भने होइनन्।

टिकटकमा सजना श्रेष्ठले भदौ २३ गते राखेको भिडियोलाई लो क्वालिटीमा राखेर मिथ्या सूचना फैलाइएको हो। भिडियोमा देखिने व्यक्तिले मोबाइल फोनमा होरिजोन्टल मोडमा भिडियो खिचिरहेको देख्न सकिन्छ। बाल्कनीमा झुकेर तलको भिडलाई भिडियो/फोटो खिचिरहेको जस्तो देखिन्छ। हातको ग्रिप, औंलाको स्थिति र मोबाइल स्क्रिनतर्फ अनुहार फर्काएको ढंगले पनि यही संकेत गर्छ।

त्यो व्यक्तिले दावी गरिएको जस्तो बन्दूक प्रयोग गरेको भए ट्रिगरमा औंला राखेको देखिनु पर्ने हो, तर यहाँ औंला स्क्रिनमा टच गर्ने ढंगमा छ।

तथ्यजाँच

दावीः जेन-जी आन्दोलनमा छतबाट कुनै व्यक्तिले गोली हान्दै गरेको।

दावीकर्ताः महेश बस्‍नेत नामको फेसबुक प्रयोगकर्ता।

तथ्यः मिथ्या सूचना। छतबाट गोली हानिरहेको दावी गर्दै फैलिएको भिडियोमा देखिएका व्यक्तिले गोली हान्दै गरेका होइनन्। टिकटकमा भेटिएको हाइ रेजोल्युसनको भिडियोमा उनी मोबाइल फोनमा भिडियो खिच्दै गरेको देख्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add