तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

देउवाको घरमा भेटिएको दावी गर्दै भाइरल भएको भिडियोको तथ्य यस्तो छ


देउवाको घरमा भेटिएको दावी गर्दै भाइरल भएको भिडियोको तथ्य यस्तो छ

  • टेकमान शाक्य 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्‍नी तथा पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवाको गाडी चालक बताउने एकजना व्यक्तिको भिडिओ फेसबुकमा भाइरल छ। भिडियोको पृष्ठभूमिमा पैसाको थुप्रो देखिन्छ र केही नोट जलेको पनि देखिन्छ।  नोटको त्यो थुप्रो आरजुको घरबाट बरामद गरिएको जसरी भाइरल बनाइएको छ।

तर हाम्रो तथ्यजाँचमा त्यो नोटको चाङ्ग देउवाको घरको नभई विभिन्न देशमा भाइरल भइसकेको स्पेनी कलाकारको कला रहेको पुष्टि भएको छ।

के हो दाबी ?

गएको सेप्टेम्बर २६ मा खबर बुलेटिन टिभी नामको फेसबुक पेजमा ‘आरजुको ड्राइभरको खुलासाले सबै चकित’ शीर्षकमा एउटा भिडिओ सार्वजनिक भयो। भिडिओको फ्रन्ट भागमा आरजुको ड्राइभर बताउने व्यक्तिले देउवा दम्पत्तिको घरभित्रको पैसाको थुप्रोको वर्णन गरिरहेका छन्। उनले आफ्नो नाम खुलाएका छैनन्, न त खबर बुलेटिनले उनको खास परिचय सार्वजनिक गरेको छ। उनले देउवाको घरभित्र रहेको पानीट्यांकीभित्र दुईवटा सिल भएको ट्यांकी रहेको र त्यसभित्र स्रोत नखुल्ने पैसा लुकाएर राख्ने गरिएको दाबी गरेका छन्।

हेर्नुहोस् भिडिओको स्क्रिनसट

भिडियोमा नोटको थुप्रो देखिन्छ। केही नोट जलेको अवस्थामा पनि देख्न सकिन्छ। यो तथ्यजाँच गर्दासम्म यो भिडियो ८ हजार ७ सयले सेयर गरेका छन् भने १२ हजार लाइक र ५ सयभन्दा बढीले कमेन्ट गरेका छन् । भिडिओ हेर्नेहरुले भिडिओमा देखिएको नोटको थुप्रोलाई शेरबहादुर देउवाको घरमा भेटिएको रुपमा बुझिरहेका छन्।

भिडिओ लिंक यहाँ छ ।

सोही फेसबुक पेजबाट नै सेप्टेम्बर २७ मा ‘आरजु देउवाको कान्छो ड्राइभरले खुलाए अर्को रहस्य’ शीर्षकमा अर्को भिडियो पनि राखेको छ। यसमा पनि ती व्यक्तिले पैसाको थुप्रो देखिएको भिडिओ एआईबाट बनेको अथवा अन्त कतैको पुरानो भिडियो फुटेज नभई यथार्थमै देउवाकै घरभित्रको भएको दाबी गरेका छन्। यो तथ्यजाँच गर्दाको समयसम्ममा यसलाई दुई सयभन्दा धेरैले सेयर गरेका छन् भने ६ सयभन्दा बढी रियाक्सन र १८ कमेन्ट पाएको छ।

हेर्नुहोस् भिडिओको स्क्रिनसट

फेसबुकमा पोस्ट भएको भिडिओ लिंक यहाँ छ ।

के हो तथ्य ?

हामीले यो भिडियोको तथ्यजाँच गर्नका लागि सबैभन्दा पहिले भिडिओको की फ्रेम निकालेर रिभर्स इमेज सर्च गर्‍यौँ।

यस क्रममा बीबीसी तमिलले सन् २०१९ को अप्रिल १० मा यसबारे तथ्यजाँच गरेको भेटियो। सन् २०१९ मा भारत मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथका निजी सचिवको घरमा आयकर विभागले छापा मार्दा जफत गरेको नोटको थुप्रो भन्दै यही भिडयो भाइरल बनाइएको थियो ।

बीबीसी तमिलले गरेको तथ्यजाँचलाई गुगल ट्रान्सलेटबाट अङ्ग्रेजीमा अनुवाद गरी पढ्ने क्रममा यो भिडियोमा देखिएको पैसाको थुप्रो वास्तवमा कला (आर्ट) रहेको खुल्यो। यो काठको बोर्डमा पेन्सिलले कोरेको चित्र रहेछ। यो स्पेनी कलाकार अलेजान्ड्रो मोंगेले कोरेको चित्र हो। यो कला स्पेनमा भएको एक प्रदर्शनीमा राखिएको थियो। बीबीसी तमिलले कलाकारसहितको तस्बिरसमेत सार्वजनिक गरेको छ। तस्बिरमा कलाकार अलेजान्ड्रोले तस्बिर बनाइरहेको देखिन्छ ।

बीबीसी तमिलले गरेको तथ्य जाँचको अर्काइभ लिंक हेर्नुहोस् ।

यो भिडिओ भारतमा मात्रै भाइरल भएको होइन, अरु देशमासमेत भ्रम फैलाउन प्रयोग भएको भेटियो। नाइजेरियाको दक्षिणपूर्वी भागमा रहेको अबिया राज्यका पूर्व गभर्नर ओर्जी उजोर कालुको घरको कोठामा फेला परेको कोठामा नगदको थुप्रो भनेर सन् २०२२ मा भ्रम फैलाउने काम भएको थियो ।

इन्टरनेशनल सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङले गरेको तथ्य जाँचले पनि यो स्पेनी कलाकार अलेजान्ड्रो मोंगेले कोरेको एक कलात्मक चित्रको दृश्य मात्रै भएको पुष्टि गरेको छ।

इन्टरनेशनल सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (ICIR) को अर्काईभ लिंक यहाँ छ

यो भिडिओ क्यामरुनमा पनि यसैगरी भाइरल बनाइएको थियो । क्यामरुनका एक पूर्व रक्षामन्त्रीले हिनामिना गरेको नोट जलाएको भनेर भ्रम फैल्याउने प्रयास भएपछि द अब्जर्भरले यसबारे तथ्यजाँच गरेको थियो ।

तथ्यजाँचका क्रममा द अब्जर्भरले पनि भिडिओमा देखिएको कुनै पनि पैसा वास्तविक नभएको, कलाकार अलेजान्ड्रो मोंगेले बनाएको एक कलात्मक दृश्य मात्रै भएको पुष्टि भयो ।

द अब्जर्भरको अर्काईभ लिंक यहाँ छ ।

यी तथ्यजाँच पत्ता लागेसँगै कलाकार अलेजान्ड्रोको आधिकारिक भेरिफाइड इन्स्टाग्राम पत्ता लगायौँ । यो इन्स्टाग्राम एकाउन्टमा सन् २०२१ को जुन २५ मा यो भिडिओ अपलोड भएको देखिन्छ ।

इन्स्टाग्राममा अपलोड भएको  भिडिओको ओरिजिनल लिंक यहाँअर्काईभ लिंक यहाँ छ

देउवाको घरमा जलेको नोट भेटिएको हो ?

देउवाको बुढानिलकण्ठस्थित निवासमा जलेको नोट भेटिएको बारे सीधा कुराले स्थलगत रिपोर्टिङ गरेको छ। त्यसको भिडियो यहाँ हेर्न सकिन्छ। त्यसैगरी देउवाको घरमा पैसा भेटिएको दाबी सहितका छ वटा टिकटक भिडिओको तथ्यजाँच गर्दा देउवा निवासको आँगन र घरभित्र पैसा भेट्टिएको भन्ने चार वटा दाबी साँचो रहेको र त्यो एआईबाट नबनेको पाइएको तथ्य जाँच टेकपानाले गरेको छ। 

देउवा निवासमा जलेका नोटबारे सम्पति शुद्धिकरण विभागले अनुसन्धान गरिसकेको खबर अनलाइनखबरइकान्तिपुरले प्रकाशित गरेका छन्।

तथ्यजाँच

दावी : शेरबहादुर देउवाको घरमा नोटको थुप्रो भेटिएको दावीसहितको भिडियो।

दावीकर्ताः खबर बुलेटिन टिभी।

तथ्य : भ्रामक सूचना। शेरबहादुर देउवाको घरमा नोटको थुप्रो भेटिएको भनिएको भिडियो फुटेज नेपालको होइन। नोटको थुप्रोसहितको भिडियो सन् २०१८ मा स्पेनी कलाकार अलेजान्ड्रो मोंगेले कोरेको एक कलात्मक चित्र मात्रै थियो। नोटको थुप्रोसहितको यो भिडियो फुटेजसँग नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणाको कुनै पनि सम्बन्ध छैन। यही भिडियो भारत, नाइजेरिया र क्यामरुनमा पनि भाइरल भएको थियो र त्यहाँ पनि तथ्य जाँच भइसकेको छ। यद्यपि देउवाको घरमा जलेको नोट भेटिएको बारे सीधा कुराले भिडियो रिपोर्टिङ गरेको छ। टिकटकमा भाइरल भएका चार वटा भिडियो साँचो रहेको तथ्य जाँच टेकपानाले गरिसकेको छ भने सम्पति शुद्धिकरण विभागले पनि जलेका नोटबारे अनुसन्धान गरेको रिपोर्ट सार्वजनिक भएको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add