- नेपाल फ्याक्ट चेक
- कार्तिक ७, २०८२

सुधन गुरुङले ३२ वर्षको उमेरमा नागरिकता लिएको दुर्गा प्रसाइँको दावी यसकारण भ्रामक
- टेकमान शाक्य-
दुर्गा प्रसाईंले जेनजी आन्दोलनपछि चर्चामा रहेका सुधन गुरुङले ३२ वर्षको उमेरमा नागरिकता बनाएको दावी गरेका छन्। एचटीपी खबर युट्युब च्यालनमा प्रसारित अन्तर्वार्तामा प्रसाइँले नागरिकताको कपि नै देखाउँदै २०७६ सालमा नागरिकता बनाएको जिकिर गरेका हुन्।
तर हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको पुष्टि भएको छ। २०७६ सालमा उनले बनाएको नागरिकता प्रतिलिपि हो।
के हो दाबी ?
२०२५ अक्टोबर २२ मा एचटीपी खबर युटुब च्यानलमार्फत् दुर्गा प्रसाईँको अन्तर्वार्ता सार्वजनिक भएको छ। अन्तर्वार्तामा उनले ‘हामी नेपाल’ संस्थाका प्रमुख सुधन गुरुङले ३२ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र बनाएको दाबी गरेका छन्।
२०७६ सालको भदौ २२ गते जारी भएको मिति लेखिएको नागरिकताको कपि देखाउँदै उनले यस्तो दावी गरेका हुन्। उनको दावी अन्तर्वार्ताको १८ मिनेट १४ सेकेण्डमा हेर्न सकिन्छ।

यो तथ्यजाँच गर्ने समयसम्ममा एचटीपी खबरको युट्युब च्यानलमा यो अन्तर्वार्ता ८९ हजारभन्दा बढीले हेरिसकेका छन् ।
हेर्नुहोस्, एचचीपी खबरमा दुर्गा प्रसाईंको अन्तर्वार्ताको क्लिप
एचटीपी खबर युटुब च्यानलमा अपलोड भएको अन्तर्वार्ताको लिंक यहाँ छ ।
यही अन्तर्वार्ता एचटीपी खबरको फेसबुक पेजमा यो तथ्यजाँच गर्ने समयसम्ममा १० लाखले हेरिसकेका छन् भने ४ हजार ३ सय सेयर, १ हजार ५ सय कमेन्ट र ४३ हजारले लाइक गरेका छन् ।
फेसबुक पेजमा अपलोड भएको भिडिओको लिंक यहाँ छ ।
अन्तर्वार्ताको यही क्लिपलाई अरु फेसबुक पेजहरुलेसमेत अपलोड गरेर भाइरल बनाएका छन्। Youth-युवा नाम गरेको फेसबुक पेजले ३ मिनेट ५३ सेकेन्डको भिडिओ राखेर भाइरल गराएको छ भने यो तथ्यजाँचको समयसम्ममा १ हजार ४ सयभन्दा बढीले सेयर गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रसाईंको दाबीलाई विश्वास गर्दै भाइरल बनाइरहेका छन्। त्यसैले हामीले यसको तथ्य जाँच गरेका हौँ।
Youth-युवा नामक फेसबुक पेजकमा भाइरल क्लिपको लिंक यहाँ छ ।
अन्तर्वार्ता लिएका दिवाकर शाहले दुर्गा प्रसाईकै दाबीलाई विश्वास गरेर सुधन गुरुङमाथि अनुसन्धान हुनुपर्ने माग समेत गरिरहेको अन्तर्वार्तामा देखिन्छ।
के हो तथ्य ?
यसबारे तथ्यजाँच गर्ने क्रममा हामीले यही अन्तर्वार्ताको १८ मिनेट ९ सेकेन्डमा समावेश भएको सुधनको नागरिकताको फ्रन्टपेजलाई हेर्यौँ। त्यहाँ स्पष्ट रुपमा नागरिकता सुधनको ‘दोस्रो प्रतिलिपि’ भएको उल्लेख छ। ।
हेर्नुहोस्, दोस्रो प्रतिलिपि लेखिएको एचटीपी खबरकै स्क्रिनसर्ट

एचटीपी खबरले सार्वजनिक गरेको अन्तर्वार्तामा सुधन गुरुङको नेपाली नागरिकताको जारी मिति भने लुकेको छ। दोस्रो प्रतिलिपि लिएको मिति देखाएर दुर्गा प्रसाईंले गरेको दाबीलाई नै बल पुग्नेगरी एचटीपी खबरबाट अन्तर्वार्ता सार्वजनिक भएको छ।
हामीलाई प्राप्त सुधन गुरुङको नागरिकताको जारी मिति २०६१ साल असार १३ गते हो । २०७६ साल भदौ २२ गते उनले नागरिकताको प्रतिलिपि बनाएका थिए ।
हेर्नुहोस्, उनको नागरिकतामा उल्लेख भएको जारी मितिसहितको विवरण

यसअघि टेकपाना फ्याक्टचेकमा पनि सुधनको यही नागरिकताको कपि प्रकाशन भइसकेको छ।
कानुनले के भन्छ ?
यदि नेपाली नागरिकताको प्रमाणपत्र कुनै कारणवश फाटी, च्यातिई, आगलागी भई हराएमा, पानीले भिजी नष्ट भएमा वा अरु कुनै कारणले झुत्रो भई काम नलाग्ने भएमा प्रतिलिपि लिन सकिने कानुनी व्यवस्था छ। यसका लागि पुरानो नागरिकताको फोटोकपी वा सो नभएमा नागरिकता नम्बर र जारी मिति खुल्ने लालपूर्जा वा अन्य कुनै कागजात संलग्न निवेदन दिनुपर्छ।
गृह मन्त्रालयको आधिकारिक वेबसाइटको अर्काइभ लिंक यहाँ छ ।
यही कानुनी व्यवस्थालाई टेकेर सुधन गुरुङले २०७६ सालको भदौ २२ गते नागरिकताको दोस्रो प्रतिलिपि बनाएका हुन् । दुर्गा प्रसाईंले दाबी गरेजस्तो उनको नागरिकता २०७६ सालमा जारी भएको होइन। उनको नागरिकता २०६१ सालमा जारी भएको हो । यस हिसाबले प्रसाइँले दावी गरे अनुसार ३२ नभई १७ वर्षको उमेरमा उनको नागरिकता जारी भएको देखिन्छ।
तथ्यजाँच
दाबीः हामी नेपालका सुधन गुरुङले ३२ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र बनाएको।
दावीकर्ताः दुर्गा प्रसाईं र एचटीपी खबर।
तथ्यः भ्रामक सूचना । सुधन गुरुङले ३२ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र बनाएका होइनन्। उनले २०६१ सालको असार १३ गते नेपाली नागरिकताको प्रमाणपत्र बनाएका थिए भने २०७६ साल भदौ २२ गते नागरिकताको दोस्रो प्रतिलिपि लिएका थिए। सुधनले नागरिकताको दोस्रो प्रतिलिपि लिएको मिति देखाएर दुर्गा प्रसाईंले भ्रामक दावी गरेका हुन्।