तथ्यजाँच भ्रामक सूचना वागमती

के जर्जियामा पनि जेन जी आन्दोलन भएको हो? त्यहाँ नेपालको झण्डा देखिएको हो?


के जर्जियामा पनि जेन जी आन्दोलन भएको हो? त्यहाँ नेपालको झण्डा देखिएको हो?

ककसस क्षेत्रमा पर्ने देश जर्जियामा पनि जेन जी आन्दोलन भएको र त्यस क्रममा भएका सरकारविरोधी सडक प्रदर्शनमा नेपाली झण्डासमेत देखिएको भन्दै सामाजिक सञ्जालमा फोटो र भिडियोसहितको दावी भाइरल भएको छ।

आन्दोलन र नेपाली झण्डा देखिएको दृश्य सत्य भए नभएको पत्ता लगाउन हाम्रो सोसल मिडियामार्फत् आग्रह आएकोले हामीले यसबारे तथ्य जाँच गरेका छौँ। हामीले जर्जियाको तथ्य जाँच संस्था र पत्रकारहरुसँग सम्पर्क गर्दा नेपाली झण्डा देखिएको दृश्य सही भए पनि आन्दोलन जेन-जीको मात्र नभई सबै उमेर समूहका व्यक्ति सहभागी भएको पुष्टि गर्‍यौँ।

के हो दावी ?

११ लाख फलोअर्स भएको फेसबुक पेज एनएजे इन्टरटेनमेन्टले सोमबार (अक्टोबर ६, २०२५) बिहान युरोपेली देश जर्जियामा भइरहेको जेन–जी आन्दोलनका क्रममा केही प्रदर्शनकारीहरूले नेपालको झण्डा बोकेका छन् लेख्दै फोटोसहितको पोस्ट गरेको छ। हेर्नुस् अर्काइभ लिङ्क। हेर्नुस् स्क्रिनसट-

हामीले मंगलबार यो तथ्य जाँच गर्दासम्म यो पोस्टमा ८ हजार ४ सय रियाक्सन, १९३ कमेन्ट र १२८ सेयर भएको देखिन्छ।

त्यसैगरी १ लाख ३९ हजार फलोअर्स भएको ‘मोटे ग्याङ्ग नेपाल’ नामको फेसबुक पेजले पनि सोही दिन  “युरोपेली देश जर्जियामा भइरहेको जेनजी आन्दोलनमा आन्दोलनकारीले नेपालको झण्डा समेत लिएर हिँडेका छन्” लेख्दै फोटोसहितको पोस्ट गरेको छ। हेर्नुस् अर्काइभ लिङ्क। हेर्नुस् स्क्रिनसट-

यो तथ्य जाँच गर्दासम्म यो पोस्टमा ६४० रियाक्सन छन् भने ११ कमेन्ट र चार सेयर देखिन्छ।

त्यसैगरी १३ हजार फलोअर भएको एडिलेडमा नेपाली नामको फेसबुक पेजले पनि जर्जियाको जेन-जी आन्दोलनमा नेपालको झण्डा  दावी गर्दै फोटोसहितको पोस्ट गरेको छ। हेर्नुस् अर्काइभ लिङ्क। त्यसैगरी ११ लाख फलोअर्स भएको जोक्स नेपाल नामको फेसबुक पेजले पनि यही दावीसहितको पोस्ट गरेको छ। हेर्नुस् अर्काइभ लिङ्क।

के हो तथ्य ?

हाल सामाजिक सञ्जालमा भाइरल भएको फोटो एउटै एङ्गलको भएकोले अरु एङ्गलका फोटोहरु पनि भेटिन्छ कि भनेर हामीले अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरु एपी, एएफपी, रोयटर्स, गेट्टी इमेजेज लगायतमा खोज्यौँ। यस क्रममा जर्जियाको राजधानी टुबिलिसीमा हालै भएका प्रदर्शनका थुप्रै फोटोहरु भेट्यौँ। तर नेपालको झण्डा भने भेटेनौँ।

त्यसपछि हामीले अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (आइएफसिएन) मा आवद्ध जर्जियन तथ्य जाँचकी संस्था मिथडिटेक्टर लाई इमेलमा सम्पर्क गर्‍यौँ। त्यहाँबाट हामीलाई यी फोटो तथा भिडियोहरु अक्टोबर ४ मा जर्जियाको राजधानी टुबिलिसीस्थित राष्ट्रपति भवन अगाडि भएको प्रदर्शनको भएको र त्यहाँ नेपाली झण्डा देखिएको खबर साँचो भएको जानकारी दिइयो।

मिथडिटेक्टरले हामीलाई पब्लिका नामको त्यहाँको विश्वसनीय स्थानीय मिडियाको फेसबुक पेजमा प्रकाशित एउटा फोटो पनि सेयर गरेका छन् जहाँ नेपालको झण्डा देखिन्छ-

हेर्नुस् अर्काइभ लिङ्क।

हामीलाई त्यहाँको अर्को स्थानीय मिडिया ओसी मिडियामा भएको भिडियो पनि सेयर गरियो जसमा नेपाली झण्डा फहराइरहेको देख्न सकिन्छ।

हामीले ओसी मिडियालाई पनि यसबारे सोध्यौँ र ओरिजिनल भिडियो फाइल भए हाम्रो इमेलमा पठाइदिन अनुरोध गर्‍यौँ। ‌‌‌‌‌

ओसी मिडियाले हामीलाई Mikheil Gvadzabia / OC Media क्रेडिट राख्ने गरी तीन वटा भिडियो फाइल पठाए जसमा भाइरल नभएका एङ्गलका दृश्य पनि देखिन्छन्। IMG_9799.mov, IMG_9800.mov र IMG_9842.mov फाइल नेम भएका ती फाइलहरुको हामीले मेटाडेटा पनि जाँच गर्‍यौँ।

मेटाडेटा रिपोर्टको अंश (माथि)

आइफोन १४ बाट खिचिएका ती भिडियो सम्पादन भएको हामीले पाएनौँ। अक्टोबर ४ तारिखको राति ९ बजे वरपर खिचिएका ती भिडियोहरुको जिपिएस लोकेसन जाँच्दा त्यो जर्जियाको राजधानी टुबिलिसीमा देखियो।

हेर्नुस् नेपालको झण्डा बोक्ने मान्छे देखिने मिडियामा सार्वजनिक नभएको भिडियो-

ओरिजिनल फाइल लिङ्क

जर्जियाका फ्याक्ट चेकिङ संस्था र त्यहाँको स्थानीय पत्रकारले दिएको जानकारी र ओरिजिनल भिडियोको मेटाडेटा परीक्षण पछि हामी सामाजिक सञ्जालमा भाइरल भएको नेपालको झण्डा देखिएको भिडियो जर्जियामा नै खिचेको निश्कर्षमा पुग्यौँ।

अर्को दावी : जर्जियामा पनि जेन जीको आन्दोलन भएको हो ?

नेपालका अधिकांश फेसबुक पेजहरुले जर्जियामा पनि जेन जी आन्दोलन भएको दावी गरेका छन्।

तर, ओसी मिडियाले दिएको जानकारी अनुसार यो पूर्ण रुपमा सही होइन। त्यहाँको प्रदर्शन विपक्षीहरुको आंशिक बहिस्कारका बावजुद भएको स्थानीय निर्वाचनको विरोधमा भएको थियो। ‘प्रदर्शन जेन जी उमेर पुस्ताको मात्र थिएन, सबै पुस्ताको सहभागिता थियो’, ओसी मिडियाले भनेको छ।

तसर्थ जर्जियाको प्रदर्शन जेन जीको मात्र भन्नु भ्रामक हो।

तथ्य जाँच

दावी नम्बर १ : जर्जियामा भएको प्रदर्शनमा नेपाली झण्डा देखियो।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्य : सही सूचना।जर्जियाको फ्याक्ट चेकिङ संस्था मिथडिटेक्टर र त्यहाँको स्थानीय मिडिया ओसी मिडियाले दिएको जानकारी र ओरिजिनल भिडियोको मेटाडेटा परीक्षण पछि हामी सामाजिक सञ्जालमा भाइरल भएको नेपालको झण्डा देखिएको भिडियो जर्जियामा नै खिचेको निश्कर्षमा पुग्यौँ।

दावी नम्बर २ : जर्जियामा पनि जेन जीको आन्दोलन भएको।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्य : भ्रामक सूचना। जर्जियामा सरकारविरोधी प्रदर्शनमा जेन जी पुस्तासहित सबै उमेर समूह सहभागी भएको त्यहाँको मिडियाले जनाएको छ। त्यहाँका मिडियाहरुमा आएका समाचार हेर्दा पनि जेन जी पुस्ताको आन्दोलन भएको उल्लेख छैन।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add