तथ्यजाँच भ्रामक सूचना

नझुक्किनुस्, गृहमन्त्री ओमप्रकाश अर्यालको भन्दै भाइरल भिडियो वास्तवमा म्यानपावर सञ्चालकको


नझुक्किनुस्, गृहमन्त्री ओमप्रकाश अर्यालको भन्दै भाइरल भिडियो वास्तवमा म्यानपावर सञ्चालकको

  • सुरज घिमिरे –

केही दिनअघिदेखि सामाजिक सञ्जालमा पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्युज २४ नेपाल टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालसँग गरेको टेलिफोन संवाद दावी गरिएका भिडियोहरू भाइरल बनेका छन्।

तर, हाम्रो तथ्य जाँचमा उक्त भिडियो वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालको नभई साम इन्टरनेशनल नामक म्यानपावरका सञ्चालक ओमप्रकाश विश्वकर्मासँगको टेलिफोन संवादलाई भ्रम फैलाउने गरी सम्पादन गरी बनाइएको पुष्टि भएको छ।

के हो दाबी ?

‘स्काइ न्युज नेपाल’ नामको फेसबुक पेजमा अक्टोबर ६ तारिख बिहान ‘ओमप्रकाश अर्यालले रविमाथि बदला लिनुको मुख्य कारण यस्तो पो रहेछ’ शीर्षकमा एउटा भिडियो अपलोड गरेको छ। त्यसमा न्युज २४ नेपाल टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा प्रस्तोता रवि लामिछानेले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालसँग टेलिफोन संवाद गरेको दावी गरिएको छ।

५ लाख ४४ हजार फलोअर्स भएको उक्त पेजमा अपलोड भएको उक्त भिडियोमा हामीले तथ्य जाँच गर्दैगर्दा ६०६ लाइक, ५९ कमेन्ट र १४५ पटक शेयर गरिएको छ । उक्त भिडियो २८ हजार पटक हेरिएको छ ।

२ मिनेट २६ सेकेन्डको उक्त भिडियोमा रवि लामिछानेले ओमप्रकाश नाम गरेका व्यक्तिलाई टेलिफोन लाइभमा जोड्दै भन्छन्,

“ओमप्रकाश जी नमस्कार, स्वागत छ तपाईँलाई”

ओमप्रकाशले जवाफ दिन्छन्, “हजुर नमस्कार हजुर ।”

रविले फेरि प्रश्न गर्छन्, “गुन्डा पाल्नुहुन्छ तपाईँ म्यानपावरमा ?”

ओमप्रकाशले जवाफ दिन्छन्, “अहिलेसम्म त्यस्तो काम गरिरहेको छैन हजुर…”

यसरी टेलिफोन संवाद चल्छ ।

फेसबुक पेजमा अपलोड गरिएको भिडियोको स्क्रिन रेकर्ड :

फेसबुक पेजमा राखिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

उक्त भिडियोलाई  प्रकाश विष्ट नामक फेसबुक पेजमा पनि अपलोड गरिएको छ। “कुनै दिन यसरी झपारेका थिए रबी सरले हालका गृहमन्त्री ओमप्रकाश अर्याललाई ?? ओमप्रकाश अर्यालले रविमाथि बदला लिनुको मुख्य कारण यस्तो पो रहेछ” भन्ने शीर्षकमा अक्टोबर ६ बिहान १०ः०६ बजे अपलोड गरिएको भिडियोमा ९५ रियाक्सन, ५ कमेन्ट र २०१ पटक शेयर गरिएको छ। उक्त भिडियो १५ हजार पटक हेरिएको छ ।

फेसबुक पेजमा राखिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

उक्त भिडियोलाई नवराज दाहाल,  फेसबुक लिङ्क यहाँ छ  र कमल पुजारा नामक फेसबुकमा पनि अपलोड गरिएको छ।  फेसबुक लिङ्क यहाँ छ :

के हो तथ्य ?

हामीले न्युज २४ टेलिभिजनको युट्युब च्यानलमा गएर “सीधा कुरा जनतासँग” कार्यक्रमका भिडियोहरू खोज्यौँ।  खोज्दै जाँदा हामीले ७ वर्षअघि अर्थात् सन् २०१८ फेब्रुअरी १७ मा अपलोड गरिएको उक्त कार्यक्रमको १८६ औँ एपिसोड फेला पार्‍यौँ।
“दुबईबाट देश चलाउँछु भन्नेलाई रविले लाइभमा झपारे । बाटो छैन, गाउँपालिकाले माग्यो गाडी !” शीर्षकमा अपलोड गरिएको कार्यक्रमको अन्त्यतिर अर्थात् ३६ मिनेट ३५ सेकेन्डतिर साम इन्टरनेशनल नामक म्यानपावरका सञ्चालक ओमप्रकाश विश्वकर्मासँगको टेलिफोन लाइभ सुरु हुन्छ।
जहाँ रविले ओमप्रकाश जी नमस्कार, स्वागत छ तपाईँलाई भन्दै फोन लाइभ सुरु गर्छन्। बाँकी संवाद भाइरल भएको भिडियोकै हो।
तसर्थ भिडियोमा सुनिएको ओमप्रकाश नाम गरेका व्यक्ति अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल नभई साम इन्टरनेशनल नामक म्यानपावरका सञ्चालक ओमप्रकाश विश्वकर्मा हुन्।
हेर्नुहोस् स्क्रिन रेकर्ड
हामीले भाइरल भएको भिडियोको साइडमा राखिएको वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालको भिडियोको बारेमा पनि खोजी गर्‍यौ । युट्युबमा ओमप्रकाश अर्याल इन्टरभ्यु भनेर सर्च गरिरहँदा हामीले “मेरोअड्डा” नामक युट्युब च्यानलमा वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालसँगको अन्तर्वार्ता भेट्यौँ।

सन् २०२३ फेब्रुअरी २१ मा अपलोड गरिएको भिडियोमा पछाडिको ब्याकग्राउण्ड, ओमप्रकाशको पोसाक र अन्तर्वार्ताको पोजिशन ठ्याक्कै मिल्छ ।

तथ्य जाँच

दावी : वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल र पूर्व गृहमन्त्री रवि लामिछानेसँगको कुराकानी भन्दै भाइरल भएको भिडियो।
दावीकर्ता : स्काइ न्युज नेपाल लगायतका फेसबुक पेज।
तथ्य : भ्रामक सूचना। पूर्व गृहमन्त्री रवि लामिछानेले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै गर्दा फोन लाइभ गरिएको व्यक्ति वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल होइनन्। ती ओमप्रकाश नाम गरेका व्यक्ति  साम इन्टरनेशनल नामक म्यानपावरका सञ्चालक ओमप्रकाश विश्वकर्मा हुन्। नाम मिल्न गएकोले भिडियोलाई तोडमोड गरी अहिले भाइरल बनाइएको हो।

प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add