- टेकमान शाक्य
- मंसिर १४, २०८२

के चरेसको भाँडामा खाँदा स्वास्थ्यलाई असर गर्छ ?
सामाजिक सञ्जालमा केही दिनदेखि एउटा भिडियो भाइरल छ। भिडियोमा चरेस (कांस)को भाँडामा खाना खानु भनेको विष सेवन गर्नु सरह हुने दावी गरिएको छ। चरेस (कांस) को भाँडा बनाउने क्रममा सीसा (लिड) प्रयोग हुने र त्यसले क्यान्सरसमेत हुनसक्ने दावी गरिएको छ । तर हाम्रो तथ्यजाँचले यो भ्रामक भएको भेटियो।
के हो दावी ?
सगुन १२४१ टिकटक ह्याण्डलले २०२५ को नोभेम्बर २६ मा चरेसको भाँडा बनाउँदा सीसा (लिड) को प्रयोग हुने, यस्तो भाँडामा खाना खानु भनेको विष सेवन गर्नु सरह हुने र यसले क्यान्सरसमेत निम्त्याउने दावीसहितको १ मिनेट १५ सेकेन्डको भिडियो राखेको छ। यो फ्याक्टचेक गर्दासम्म यो टिकटक भिडियोले ३८ लाख पटक हेरिसकिएको छ। त्यस्तै १ लाख २ हजार ९ सय पटक सेयर, एक हजार ४ सय १५ वटा कमेन्ट र १ लाख ११ हजार ४ सय वटा लाइक भिडियोमा देखिएको छ।
हेर्नुहोस् भिडियोको स्क्रिनरेकर्ड
टिकटक एकाउन्टमा दावी गरिएअनुसार यो भिडियो पोष्ट गर्ने व्यक्ति स्वास्थ्य क्षेत्रमै कार्यरत रहेको देखिन्छ तर उनी नेपाल बाहिर छिन्। उनले आफूलाई महिला स्वास्थ्य विशेषज्ञको रुपमा चिनाएकी छिन्।
हेर्नुहोस् टिकटक अकाउन्टको स्क्रिनसट

त्यसैगरी सुशीला थापा नामको फेसबुक एकाउन्टबाट पनि नोभेम्बर २३ मा चरेस, तामा र पित्तलको भाँडा प्रयोग गर्नुहुन्छ भने सावधान रहनुहोला भन्दै २ मिनेट ५८ सेकेन्डको भिडियो सार्वजनिक भएको छ। यसमा उनले लिड टेस्ट किटले आफ्नो घरमा भएका चरेस (कांस), तामा र पित्तलको भाँडामा सीसा (लिड) को मात्रा छ कि छैन भनेर जाँच गर्दा सीसाको मात्रा भेटिएको दावी गरिएको छ।
चरेस (कांस), तामा र पित्तलको भाँडामा सीसा (लेड) भेटिएकोले अबदेखि प्रयोग नगर्ने र थन्क्याएको उनले भनेकी छिन्। यो फ्याक्ट चेक गर्दासम्म यो भिडिओले १० हजार लाइक, ८ सय ६६ कमेन्ट, १ हजार ७ सय सेयर र ११ लाख भ्युज पाइसकेको छ।
हेर्नुहोस् भिडियोको स्क्रिनसट

हेर्नुहोस् भिडियोको अर्काइभ लिंक
यसरी भिडिओ सार्वजनिक गर्ने सुशीला थापा पनि नेपाल बाहिर बस्ने तर स्वास्थ्य क्षेत्रमै कार्यरत रहेको उनको फेसबुकमा राखिएको विवरणमा देखिन्छ। फेसबुकमा देखिएको विवरण अनुसार उनले लामो समयदेखि स्वास्थ्य क्षत्रमा कार्यरत रहँदै आएकी छिन् ।
हेर्नुहोस् स्क्रिन सर्ट

आजभन्दा ४ वर्षअघि सन् २०२१ को अप्रिल ३० मा स्वास्थ्य क्षेत्रमा नै क्रियाशिल अर्का एकजना कन्टेन्ट क्रियटरसमेत रहेका डाक्टर कल्याण सुवेदीले पनि यसैगरी चरेसको भाँडामा सीसा (लिड) हुन सक्ने दावीसहितको भिडियो बनाएको भेटियो। त्यो भिडिओले त्यसबेला ३ हजार ३ सय लाइक, ९९ कमेन्ट र ६९ हजार भ्युज पाएको थियो ।
यसबारे तथ्य जाँच गर्ने क्रममा हामीले चरेस (कांस) अर्थात् अंग्रेजीमा BRONZE का भाँडाहरु कसरी बन्छ भनेर खोजी गर्यौँ। खोजीकै क्रममा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजि (नास्ट) ले २०७० सालमा सार्वजनिक गरेको एक रिपोर्ट भेटियो । यो रिपोर्ट नास्टका विजय सिंह, हरि भण्डारी, विनोद प्रसाद साह र सुवास दुवाडीले तयार पारेर विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा समेत बुझाइएको छ।
यो रिपोर्टको १६ नम्बर पेजमा चरेस (कांस) अर्थात अंग्रेजीमा BRONZE का भाँडाहरु बनाउने विधिबारे उल्लेख गरिएको छ । कांसको भाँडा बनाउनका लागि कपर (CU) र टिन (SN) आवश्यक पर्ने उल्लेख गरिएको छ । तर कच्चा पदार्थमा सीसा (लिड) को आवश्यकताबारे कतै पनि उल्लेख गरिएको छैन।
हेर्नुहोस् रिपोर्टको स्क्रिनसट

यो रिपोर्टमा कपर र टिनलाई तापक्रम दिएर पगालेर कांसको भांडा तयार पार्ने कुरा उल्लेख गरिएको छ भने त्यसरी भांडा बनाउँदा सीसा (लिड) प्रयोग गर्ने विषय कतै पनि उल्लेख गरिएको छैन। यो रिपोर्टमा कांसको भाँडा बनाउने विधिको सबै जानकारी दिइएको छ।
हेर्नुहोस् रिपोर्टको स्क्रिनसट

नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) ले २०७० सालमा सार्वजनिक गरेको रिपोर्टमा कपर अर्थात तामाको भाँडा बनाउने विधिबारे पनि उल्लेख गरिएको छ । तामाको भाँडा बनाउँदा आवश्यक पर्ने कच्चा पदार्थमा पनि सीसा (लिड) आवश्यक पर्ने कुरा उल्लेख गरिएको छैन ।
हेर्नुहोस् स्क्रिनसट

रिपोर्टको अर्काइभ लिंक यहाँ छ ।
चरेसको भाँडा (कांस) बनाउने विधिबारे हामीले अरु अन्तर्राष्ट्रिय विधिहरुबारे पनि खोजि गर्यौँ। अमेरिकाको सामान्य सेवा प्रशासनको आधिकारिक सरकारी वेबसाइटमा उल्लेख भएअनुसार चरेसको भांडा (कांस) अर्थात अंग्रेजीमा (bronze) बनाउनका लागि ९० प्रतिशत तामा (कपर) र १० प्रतिशत टिन आवश्यक हुन्छ।
तामा र टिनलाई तापक्रम दिएर पगालेर कांस बनाउने गरिन्छ। वास्तुकलाजन्य सामग्री बनाउनका लागि बाहेक अरु कांसमा सीसा (लिड) प्रयोग गरिएको हुँदैन । वास्तुकलाजन्य सामग्रीमा सजिलोका लागि तीन प्रतिशत लिड प्रयोग गरिएको हुन्छ भने यसबाहेक अरुमा लिड प्रयोग नहुने अमेरिकाको सामान्य सेवा प्रशासनको आधिकारिक सरकारी वेबसाइटले बताउँछ ।
हेर्नुहोस् स्क्रिनसट

यसबारे नेपाल तथ्यजाँचले ताम्राकार समाजका निवर्तमान अध्यक्ष एवम् नेपाल तामा-पित्तल व्यवसायी संघका महासचिव रविन्द्र ताम्राकारलाई सम्पर्क गरेको छ। उनको भनाई अनुसार चरेस (कांस) को भाँडा निर्माण गर्दा कपर र टिनलाई तापक्रम दिएर संगै पगालेर मिश्रण गरिन्छ ।
थाल, बटुका लगायत खाना खाने भाँडा पगालेर पिटेर पोलेर चरेस (कांस) अथवा अंग्रेजीमा (bronze) का भाँडाकुडा हातले नै बनाइन्छ, यसमा सीसा (लिड) को प्रयोग हुँदैन । मेसिनमार्फत् बनाइने अरु सामानमा भने केही मात्रामा सीसा (लिड) मिसाइने गरिन्छ ।
सुन्नुहोस् रविन्द्र ताम्राकारसँग गरिएको अडियो कुराकानी
तथ्यजाँच
दावी : चरेस (कांस), तामा र पित्तलबाट बनेको भाँडाबाट खाना खाँदा क्यान्सरसम्म हुन सक्छ ।
दावीकर्ता : आफूलाई स्वास्थ्य विज्ञ दावी गर्ने नेपाल बाहिर बस्ने सगुन, डाक्टर कल्याण सुवेदी, सुशीला थापा
तथ्य: भ्रामक सूचना। चरेस (कांस), तामा र पित्तलबाट बनेको भाँडाबाट खाना खाँदा क्यान्सर हुने कुरा कतैबाट पनि पुष्टि भएको छैन । चरेस (कांस)को खाना खाने भाँडा हातैले पिटेर बनाउने गरिन्छ भने यसमा सीसा (लिड) लगायत अरु मिसावट या रसायन प्रयोग गरिएको हुँदैन। मेसिनमार्फत् बनाउने सामानमा भने सजिलोका लागि केही मात्रामा सीसा (लिड) प्रयोग हुन सक्छ ।