- नेपाल फ्याक्ट चेक
- पुस १४, २०८२

के प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले राजीनामा दिएकी हुन् ?
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदावधि बाँकी छँदै पदबाट राजीनामा दिएको दावी सहितका समाचार प्रकाशित भएका छन्।
तर, हाम्रो तथ्यजाँचले उक्त समाचार भ्रामक रहेको देखाएको छ। उपसभामुख रानाले सरकारी गाडी फिर्ता गरी सेवा-सुविधा नलिएकी हुन्, पदबाट राजीनामा भने दिएकी छैनन्।
के छ दावी ?
गोरखापत्र अनलाइनमा पुस १३ गते ‘पदावधि छँदै उपसभामुखको राजीनामा’ शीर्षकमा समाचार प्रकाशित भएको छ।
समाचारको लिडलाइनमा – ‘पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुभएको छ’ लेखिएको छ।
उक्त लिडलाइनलाई पुष्टि गर्न, ‘सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने अभ्यास रहेतापनि आज उहाँले स्वेच्छाले राजीनामा दिनु भएको हो’ लेखिएको छ।
अर्काइभ लिंक, स्क्रिनसट

नेपालप्रेस अनलाइनले पनि ‘कार्यकाल बाँकी छँदै उपसभामुखले दिइन् राजीनामा, माघ ५ बाट बिदा हुने तयारीमा सभामुख’ शीर्षकको सोही आशयको समाचार प्रकाशित गरेको छ।
नेपालप्रेसको समाचारमा पनि सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने अभ्यास रहेतापनि रानाले स्वेच्छाले राजीनामा दिएकी उल्लेख छ।
सोही आशयका समाचार हिमालय टाइम्स लगायत अन्य अनलाइन मिडियाले पनि प्रकाशित गरेका छन्।
तथ्य के हो ?
के समाचारमा भनिए झैँ उपसभामुख रानाले राजीनामा बुझाएकी हुन् त ?
यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीलाई सम्पर्क गर्यौँ।
गिरीले हालसम्म उपसभामुख रानाले राजीनामा पत्र नबुझाएको बताए। उनले भने, “उहाँले अहिलेसम्म सचिवालयमा राजीनामा पत्र बुझाउनु भएको छैन, गाडीको सेवा सुविधा मात्र फिर्ता गर्नुभएको हो,” गिरीले भने, ‘उहाँको राजीनामा बारे सचिवालयलाई जानकारी छैन।”
यो विषयमा थप बुझ्नका लागि हामीले उपसभामुख रानालाई सम्पर्क गर्यौँ। रानाले आफूले राजिनामा नदिएको तर सरकारी सेवा सुविधा फिर्ता गरेको बताइन्। “कानुनअनुसार पदावधि अझै बाँकी छ तर संसद नचलेको बेला त्यतिकै किन सरकारी सेवा सुविधा लिनु भनेर गाडी फिर्ता गरेको हुँ, राजिनामा दिएको छैन।”
तथ्यजाँच
दावी : पदावधि छँदै उपसभामुख इन्दिरा रानाले दिइन् राजीनामा।
दावीकर्ता : गोरखापत्र, नेपालप्रेस लगायतका अनलाइन मिडिया।
तथ्यजाँच : भ्रामक सूचना । उपसभामुख इन्दिरा रानाले संसद नचलेकाले सेवा सुविधा नलिएकी हुन्, उनले समाचारमा उल्लेख गरेझै राजीनामा बुझाएकी छैनन्।