तथ्यजाँच भ्रामक सूचना वागमती

एमाले महाधिवेशनमा भारतीय झण्डा? नझुक्किनुस् फोटो सम्पादन गरी भ्रामक बनाइएको हो


एमाले महाधिवेशनमा भारतीय झण्डा? नझुक्किनुस् फोटो सम्पादन गरी भ्रामक बनाइएको हो

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा भारतको झण्डा प्रयोग भएको दावी गर्दै एउटा फोटो भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले फोटो सम्पादन गरेर भ्रम फैल्याउने प्रयास भएको पुष्टि भएको छ।

के हो दावी ?

नेपाली कम्युनिष्ट पार्टी समर्थित जेनजी रेड फोर्सकी केन्द्रीय संयोजक स्मृति तिमिल्सिनाले ‘शुभकामना छ है’ लेख्दै एउटा फोटो राखेकी छन्। पछि उनले त्यसलाई सम्पादन गरेर के यो सत्य हो लेखेकी छिन्

फोटोमा नेकपा एमालेको सूर्य अंकित झण्डासँगै भारतको राष्ट्रिय झण्डासमेत देख्न सकिन्छ। नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा भारतीय झण्डासमेत प्रयोग भएको सन्देश जाने गरी यो तस्बिर सेयर गरिएको छ।

यो तथ्यजाँच गर्ने समयसम्ममा यो पोष्टले ३ हजार ६ सय रियाक्सन र ५३७ कमेन्ट पाएको छ भने ८७ जनाले सेयर गरेका छन्। उनको यही पोष्टलाई आधार बनाएर अरु थुप्रै सामाजिक संजाल प्रयोगकर्ताले यही फोटो राखेका छन्।

हेर्नुहोस् जेनजेड रेडफोर्सकी केन्द्रीय संयोजक तिमिल्सिनाको फेसबुक पोष्ट

तिमिल्सिनाको फेसबुक पोष्टको अर्काइभ लिंक यहाँ छ ।

के हो तथ्य ?

जेनजेड रेडफोर्सकी संयोजक तिमिल्सिनाले सेयर गरेको फोटोमा नयाँ पत्रिका दैनिकको लोगो देखिएकोले हामीले सिधै नयाँ पत्रिका दैनिकको आधिकारिक फेसबुक पेजमा खोज्यौँ। नयाँ पत्रिका दैनिकको फेसबुक पेजमा यही फ्रेमको फोटो पोष्ट भएको भेटियो। तर नयाँ पत्रिकाले सार्वजनिक गरेको फोटोमा भारतको झण्डा देखिएको छैन।

हेर्नुहोस् नयाँ पत्रिका दैनिकमा पोष्ट भएको फोटो


अर्काइभ लिंक यहाँ छ ।

हेर्नुहोस् तिमिल्सिनाले साझा गरेको तस्बिर र नयाँ पत्रिका दैनिकको फोटोबीचको तुलना

तथ्य जाँच

दावीः नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा भारतको झण्डा प्रयोग भएको फोटो।

दावीकर्ताः जेनजेड रेडफोर्सकी केन्द्रीय संयोजक स्मृति तिमिल्सिना

तथ्यः भ्रामक सूचना। यो फोटो नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेसन सल्लाघारीसँग सम्बन्धित हो, तर भारतको झण्डा भने प्रयोग भएको होइन। तस्बिरलाई तोडमोड गरेर भ्रम फैलाइएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add