- सुरज घिमिरे
- मंसिर २२, २०८२

के मोदीले नेपालका नेताहरूलाई “जङ्गलराजवाला” आरोप लगाएका हुन् ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नेताहरूलाई ‘जङ्गलराजवाला’ भएको भन्दै नेपाली नेताहरू सरकारमा फर्किन बेचैन रहेको आरोप लगाएको भिडियो भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले भारतीय प्रधानमन्त्री मोदीले उक्त आरोप नेपाली नेताहरूलाई नभई भारतको राष्ट्रिय जनता दल (आरजेडी) र काङ्ग्रेसमाथि लगाएको भएको पुष्टि गरेको छ।
के हो दाबी ?
नेपालीको आवाज नामक फेसबुक पेजमा सन् २०२५ नोभेम्बर २६ तारिख बुधबार, बिहान ९ : ५६ बजे एउटा भिडियो अपलोड गरिएको छ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो भनाई सुनौँ र सेयर गरौँ’ लेख्दै अपलोड गरिएको भिडियोमा एक युवकले नरेन्द्र मोदीको कुरा सुन्न र शेयर गर्न अनुरोध सहित मोदीको सम्बोधन देखिन्छ।
भिडियोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, “नेपाल के लोग। आप अन्दाजा लगा सकते है ? ये जङ्गलराज वाले हे। सरकार मे वापसी के लिए क्युँ इतने बेचैन हे ? इन्हेँ जनताकी सेवा नहीँ करनी । इन्हे जनताको लुट्ना है लुट्ना ।”
११ हजार फलोअर्स भएको उक्त फेसबुक पेजमा अपलोड गरिएको उक्त भिडियोमा हामीले तथ्यजाँच गर्दै गर्दा ६३ हजार ९ सय लाइक, २ हजार ६ सय कमेन्ट, १६ हजार शेयर गरिएको छ भने १६ लाख पटक हेरिएको छ ।
भिडियोको स्क्रिन रेकर्ड :
उक्त भिडियोलाई नोभेम्बर २७ तारिख, बेलुकी ८ः ११ बजे MBC VLOGS (एमबीसी भ्लग्स) नामक फेसबुक पेजमा पनि अपलोड गरिएको छ । उक्त पेजमा अपलोड गरिएको भिडियोमा पनि एक युवाले ‘भारतीय प्रधानमन्त्रीले नेपालको नेताहरूको बारेमा भनेको कुरालाई सुन्न र शेयर गर्न’ आग्रह गर्दै मोदीको सम्बोधनको उक्त क्लिपलाई जोडेका छन्।
१५ हजार फलोअर्स भएको उक्त फेसबुक पेजमा अपलोड गरिएको उक्त भिडियोमा हामीले तथ्यजाँच गर्दै गर्दा ७६ हजार लाइक, ९ सय बढी कमेन्ट, ११ हजार शेयर गरिएको छ भने एक मिलियन पटक हेरिएको छ ।
भिडियोको स्क्रिन रेकर्ड :
के हो तथ्य ?
तथ्यजाँचको लागि हामीले सामाजिक सञ्जालहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनबारे खोज्यौँ । सोही क्रममा हामीले नरेन्द्र मोदी नामक भारतीय प्रधानमन्त्री मोदीको अफिसियल युट्युब च्यानलमा एक भिडियो सम्बोधन फेला पार्यौँ।
सन् २०२५ नोभेम्बर ७ मा भारतको बिहारको भबुआमा एक चुनावी र्यालीमा सहभागी भई कार्यक्रमलाई सम्बोधन गरेको युट्युब लाइभ भिडियो भेटायौँ।
४० मिनेट ४२ सेकेन्डको सो लाइभ भिडियोको १३ मिनेट ४६ सेकेन्डमा उनले त्यही भनेका छन्, जुन भाइरल भिडियोमा छ। तर त्यसमा नेपालको प्रसङ्ग उल्लेख छैन।
भिडियो पूरा हेर्दा थाहा हुन्छ, उनले यो आरोप भारतको राष्ट्रिय जनता दल (आरजेडी) र काङ्ग्रेसमाथि लगाएका हुन् । आरजेडी र कांग्रेसका चुनावी गीत र वाचाहरूले बिहारलाई “जङ्गल राज” को दिनमा फर्काउने इच्छा झल्काएको भन्दै उनले सो अभिव्यक्ति दिएको सुन्न सकिन्छ।
हेर्नुहोस्, मोदीले सम्बोधन गरेको भिडियोको स्क्रिन रेकर्ड :
सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियोमा भएको भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन, कपडा, हाउभाउ, पछाडिको ब्याकग्राउण्ड र हामीले फेला पारेको भिडियोमा भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन, कपडा, हाउभाउ, पछाडिको ब्याकग्राउण्ड दुरुस्तै मिल्छ।
सामाजिक सञ्जालमा भाइरल बनाइएका भिडियोमा नेपाल के लोग भन्दै प्रधानमन्त्री मोदीले सम्बोधन गरेको अडियो क्लिप जोडेर बनाइएको छ। साथै, उक्त भिडियोमा ‘कट्टा देखाकर’ भन्ने शब्दलाई पनि हटाएर ‘इन्हे जनताको लुट्ना हे लुट्ना’ भन्ने सम्बोधन मात्रै राखिएको छ ।
तथ्य जाँच
दावी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नेताहरूलाई जङ्गलराज भन्दै सम्बोधन गरेको भाइरल भिडियो ।
दावीकर्ता : नेपालीको आवाज, एमबीसी भ्लग नामक फेसबुक पेज ।
तथ्य : भ्रामक सूचना । उक्त भिडियोमा भारतीय प्रधानमन्त्रीले नेपालका नेताहरूलाई नभई भारतको राष्ट्रिय जनता दल (आरजेडी) र काङ्ग्रेसमाथि लगाएका हुन् । भिडियोलाई सम्पादन गरेर भ्रम फैलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्