तथ्यजाँच भ्रामक सूचना वागमती

ओलीको सरकारविरोधी अभिव्यक्तिको भाइरल भिडियो : अहिलेको होइन, चार वर्ष पुरानो


ओलीको सरकारविरोधी अभिव्यक्तिको भाइरल भिडियो : अहिलेको होइन, चार वर्ष पुरानो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिएको भनिएको सरकारविरोधी अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। ओलीले “यो सरकार कुहिएर फतक्क झरोस्” भन्दै वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई सराप दिएको भिडियोमा दाबी गरिएको छ। तर, हाम्रो तथ्य जाँच ओलीले दिएको अभिव्यक्ति वर्तमान सरकारमाथि नभई झन्डै ४ वर्षअघि नेपाली कांग्रेस-तत्कालीन नेकपा (माओवादी केन्द्र) लगायतको गठबन्धन सरकारमाथि लक्षित भएको देखिएको छ।

के हो दाबी ?

दीपेन्द्र बस्नेत नामक फेसबुक एकाउन्टमा “यो सरकार कुहिएर फतक्क झरोस् : केपी ओली” शीर्षकमा एउटा भिडियो अपलोड गरिएको छ।

४५ हजार फलोअर्स भएको दीपेन्द्र बस्नेतको फेसबुक एकाउन्टबाट डिसेम्बर २१ तारिख आइतबार दिउँसो ४ः १६ बजे अपलोड गरिएको उक्त भिडियोमा ओलीले भाषण गर्दै भनेका छन्, “यो सरकार ढाल्न त हामी कोसिस नै गर्दैनौँ । यो सरकार ढालेको बात पनि नलागोस् क्या। यो आफै झरोस्। कुहिएर फतक्क झरोस्।”

ओलीको भाषणको थम्बेनलमा वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्की र सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङको तस्वीर देखाइएको छ जसले ओलीको उक्त आलोचना वर्तमानमा सरकारलाई भएको भाष्य बनाइएको छ।

सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोमा हामीले तथ्य जाँच गर्दै गर्दा एक हजार ५ सय लाइक, ४ सय ५३ कमेन्ट र १४० बढी शेयर गरिएको छ भने एक लाख १४ हजार बढी पटक हेरिएको छ।

दीपेन्द्र बस्नेत नामक फेसबुक एकाउन्टमा राखिएको भिडियोको स्क्रिन रेकर्ड :

उक्त फेसबुक एकाउन्टमा राखिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

के हो तथ्य ?

हामीले पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भाषणमा भनेका केही शब्दहरूलाई गुगलमा ‘की वर्ड’ सर्च गर्‍यौ । सोही क्रममा हामीले २०७८ चैत २३ गते बुधबार रातोपाटी डटकममा “केपी ओलीको श्राप : यो सरकार आफैँ कुहिएर फतक्क झरोस्” शीर्षकमा प्रकाशित समाचार भेट्यौँ । उक्त समाचारमा ओलीको सोही प्रसङ्गलाई जोडिएको छ ।

हेर्नुहोस् समाचारको स्क्रीनसट  :

रातोपाटी डटकममा प्रकाशित समाचारको लिंक अर्काइभ लिंक

हामीले थप खोज्दै गर्दा सन् २०२२ अप्रिल ६ अर्थात् वि.सं. २०७८ चैत २३ गते बुधबार सेतोपाटी डटकमको आधिकारिक फेसबुक पेजमा राखिएको ओलीको सम्बोधनको भिडियो फेला पार्‍यौँ। “यो सरकार कुहिएर फतक्क झरोस् : ओली” शीर्षकमा राखिएको उक्त भिडियोको ३६ सेकेन्डमा ओलीले भनेको कुरा भाइरल विषयसँग ठ्याक्कै मिल्छ ।

सेतोपाटी डटकमको फेसबुक एकाउन्टमा राखिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

सो समयमा नेपाली कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनमा ५ दलीय गठबन्धनको सरकार बनाइएको थियो ।

तथ्य जाँच

दावी : नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले ओलीले “सरकार कुहिएर फतक्क झरोस्” भन्दै वर्तमान सुशीला कार्की नेतृत्वको सरकारको आलोचना गरेको दावी गरिएको भाइरल भिडियो ।

दावीकर्ता : दीपेन्द्र बस्नेत लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य जाँच : भ्रामक सूचना । ओलीले “सरकार कुहिएर फतक्क झरोस्” भन्दै सरकार विरोधी अभिव्यक्ति दिएको सत्य हो । तर, उक्त अभिव्यक्ति वर्तमान सुशीला कार्की नेतृत्वको सरकारमाथि नभई झन्डै ४ वर्षअघि कांग्रेससहितको ५ दलीय गठबन्धनको सरकारलाई हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add