तथ्यजाँच भ्रामक सूचना वागमती

प्रदीप ज्ञवाली रोएको? होइन, भाइरल भिडियो एआईबाट बनेको


प्रदीप ज्ञवाली रोएको? होइन, भाइरल भिडियो एआईबाट बनेको

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली रोइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। काठमाडौँमा जारी नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिन इच्छा व्यक्त गरे पनि अध्यक्ष केपी शर्मा ओलीको आधाकारिक सूचीमा नपरेपछि ज्ञवाली रुँदै बाहिरिएको दाबी गरिएको छ। तर, हाम्रो तथ्य जाँचले ज्ञवाली रोइरहेको भिडियो एआई प्रयोग गरी सम्पादन गरिएको देखिएको छ।

के हो दाबी ?

एभरेष्ट दैनिक नामक फेसबुक पेजमा सन् २०२५ डिसेम्बर १६ (पुस १ गते) बिहान १०ः १५ बजे एउटा भिडियो अपलोड गरियो। “केपी ओलीले महासचिवको उम्मेदवार नबनाएपछि यसरी रुँदै घर गएका थिए प्रदीप ज्ञवाली। उनै ज्ञवाली आज फेरि ओलीकै पक्षमा भोट माग्न व्यस्त छन् ” शीर्षकमा अपलोड गरिएको उक्त भिडियोमा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली सञ्चारकर्मीहरूसँगको कुराकानीमा रोइरहेको देखिन्छ।

३ लाख ६ हजार बढी फलोअर्स भएको उक्त फेसबुक पेजमा अपलोड गरिएको भिडियोमा हामीले तथ्य जाँच गर्दा ९६१ लाइक, १०१ कमेन्ट र ११२ पटक शेयर गरिएको छ भने भिडियोलाई एक लाख २८ हजार पटक हेरिएको छ।

एभरेष्ट दैनिक नामक फेसबुक पेजमा राखिएको भिडियोको स्क्रिन रेकर्ड : 

उक्त फेसबुक पेजमा राखिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

उक्त भिडियोलाई ‘बीबीएन न्युज नेटवर्क, बिचार बिन्यास नेटवर्क’ , ‘नेपाली भ्वाइस’  लगायतका फेसबुक पेजहरूमा पनि “एमालेमा नै नअटाएका प्रदीप ज्ञवाली, धुरुधुरु रोए ” भन्ने दाबीका साथ अपलोड गरिएको छ ।

के हो तथ्य ?

यसबारे खोज्दै जाँदा प्रदीप ज्ञवाली रोएको प्रसङ्ग सुरुमा अनलाइनखबरमा प्रकाशन भएको पाइयो । अनलाइनखबरमा २०८२ मङ्सिर २९ गते साँझ ५ः२२ मा भृकुटीमण्डपबाट रुँदै फर्किए प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी शीर्षकमा समाचार प्रकाशन भएको छ। उक्त समाचारमा जारी एमाले महाधिवेशनमा ज्ञवालीले आफू महासचिव बाहेकको पदमा उम्मेदवारी नदिने अडान लिए पनि उनलाई प्यानल बन्ने बेलामा उपाध्यक्षको लिस्टमा राखिएको उल्लेख गरिएको छ । साथै, उपाध्यक्षमा ज्ञवालीले सहमति नजनाएको र सोमबार भृकुटीमण्डपस्थित बन्द सत्र हलबाट चित्त दुखाएर रुँदै फर्किएको समाचारमा उल्लेख छ।

अनलाइनखबरमा प्रकाशित समाचारको लिङ्कअर्काइभ लिङ्क :

‘प्रदीप ज्ञवाली रोएको’ भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोबारे हामीले थप खोज्यौँ ।

भाइरल भएको भिडियोको हुबहु दृश्य हालैको नभई गत मङ्सिर ३ गते बुधवारको भएको फेला पार्‍यौँ। गत मङ्सिर ३ गते बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दाको ब्याकग्राउण्ड, सञ्चारमाध्यमहरूका बुम, ज्ञवालीको पहिरन र भाइरल भिडियोका ती पक्षहरुको तुलना गर्दा ठ्याक्कै मिल्छ। तर, त्यतिबेला पनि ज्ञवाली रोएका भने थिएनन् ।

ज्ञवालीले गत मङ्सिर ३ गते सञ्चारकर्मीहरूसँग कुराकानी गर्दाको तस्वीर :

ज्ञवालीले गत मङ्सिर ३ गते सञ्चारकर्मीहरूसँग गरेको कुराकानीको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् : 

हामीले भिडियोलाई थप नियाल्यौँ । भिडियोको पुछार पट्टी इनसट (inshot) को लोगो देख्यौँ । यो भिडियो बनाउने र सम्पादन गर्ने सफ्टवेयर हो। साथै, ओरिजिनल भिडियो र भाइरल भिडियोमा देखाइएका बुमहरू केही उस्तै देखिए पनि केही बुमहरू भने फरक देखिए।

ओरिजिनल र भाइरल बनाइएको भिडियोमा देखिएको बुमको फरक

हामीले भाइरल भिडियोमा एआईको प्रयोग गरिएको हो वा होइन भन्ने बुझ्नको लागि डिपफेक एनलाइसेस युनिट (DAU) लाई सम्पर्क गर्‍यौँ।  उक्त युनिटले भाइरल भिडियोमा एआइको प्रयोगबारे विभिन्न टुल्सको प्रयोग गरी जाँच गर्‍यो। तर, अधिकांश टुल्सले भिडियो एआई प्रयोग गरी नबनाइएको देखायो।

प्रविधिको प्रयोग परिस्कृत हुँदै जाँदा यस्ता टुल्सहरुले फल्स पोजेटिभ वा नेगेटिभ देखाउन सक्ने कुरामा हामी सचेत थियौँ।

हेर्नुस् विभिन्न टुल्सले देखाएको निश्कर्ष।

सबैभन्दा पहिला WaistAI जसले भिडियोको स्क्रिनसटलाई एआई प्रयोग भएको छैन भन्यो।

 

त्यसैगरी Hive AI image+deepfake classifier को निष्कर्ष पनि एआईबाट बनाइएको होइन भन्ने नै रह्यो।

 

 

Hive AI deepfake detector को निष्कर्ष पनि डिपफेक नरहेको भन्ने नै देखियो।

त्यसैगरी इमेजह्विस्पररले पनि भिडियोको स्क्रिनसटलाई वास्तविक भन्ने नै देखायो।

AI or Not ले पनि भिडियोको स्क्रिनसटलाई वास्तविक हुन सक्ने निश्कर्ष दियो।

 

तर, डिएयुले भिडियोलाई म्यानुअल रूपमा हेर्दा दुई वटा अवास्तविक कुरा पत्ता लगायो, जसका कारण भिडियो एआईबाट बनाइएको पुष्टि हुन्छ-

पहिलो, आँसुको आकार। ज्ञवाली रुन सुरु गरेपछि उनको कोटमा छिट्टिँदै झर्ने आँसुको थोपा निकै ठूलो देखिन्छ। त्यति ठूलो आँसुको थोपा हुनु सामान्य मानवीय क्षमताभन्दा बाहिरको हो।

दोस्रो, यदि तपाईंले उनको काँध र उनको दायाँपट्टि (हामीले हेर्दा भिडियोको बायाँ भाग) रहेको माइक्रोफोनको स्थानलाई ध्यानपूर्वक हेर्नुभयो भने, उनी एउटै ठाउँमा उभिइरहेका हुँदाहुँदै पनि रुन सुरु गर्ने क्षणदेखि क्रमशः अग्लिँदै गएको देख्न सक्नुहुन्छ।

डिएयु भन्छ- यी दुई अवलोकनहरू, विशेष गरी दोस्रो अवलोकनले हामीलाई यो भिडियो प्रामाणिक मान्न नसकिने निष्कर्षतर्फ लैजान्छन्।

त्यसैगरी तपाईँले ध्यान दिएर भिडियोमा विभिन्न मिडियाका बुम माइकलाई हेर्नुभयो भने अशुद्ध लोगोहरु देखिन्छ। यस्ता लोगो नेपालका मिडियाले प्रयोग गर्दैनन् र यो एआईद्वारा तयार पारिएका भिडियो वा फोटोहरुमा देखिन्छ।

तथ्य जाँच

दावी : एमाले उपमहासचिव प्रदीप ज्ञवाली रोएको भन्दै भाइरल भिडियो ।

दावीकर्ता : एभरेष्ट दैनिक, बीबीएन न्युज नेटवर्क, विचार विन्यास नेटवर्क, नेपाली भ्वाइसलगायतका फेसबुक पेज

तथ्य जाँच : भ्रामक सूचना। एमाले उपमहासचिव प्रदीप ज्ञवाली रोएको भन्दै भाइरल भिडियो एआई प्रविधिको प्रयोग गरी सम्पादन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add