तथ्यजाँच भ्रामक सूचना वागमती

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक


एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्‍घाटन सत्रमा भक्तपुरको सल्लाघारी पूरै भरिभराउ भएका केही फोटोहरु अहिले सामाजिक संजालमा भाइरल छ। एमालेका नेता, कार्यकर्ता र पत्रकारहरुले पनि सेयर गरेका ती मध्ये केही फोटो भ्रामक रहेको हाम्रो तथ्य जाँचमा देखिएको छ।

के हो दावी ?

नेकपा एमालेसम्बद्ध जनसंगठनका रुपमा रहेको पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालका बझाङ जिल्ला सचिव बचनराज जोशीले सामाजिक सञ्जालमा राखेको फोटोमा क्याप्सन लेखिएको छ- ‘नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सल्लाघारी पुरै भरिभराउ भएपछि…’ फोटोमा उनले ड्रोन सुट र आफ्नो नाम बचन राज जोशी पनि अङ्ग्रेजीमा लेखेका छन्।

यो तथ्यजाँच गर्दाको समयसम्म २५ सय रियाक्सन, ६७९ कमेन्ट र ३९ जनाले सेयर गरिसकेका छन्। अरु थुप्रै सामाजिक संजाल प्रयोगकर्ताले यो तस्बिरलाई सेयर गरिरहेका छन् ।

हेर्नुहोस्, जोशीको फेसबुकमा अपलोडेड तस्बिर


अपलोड भएको तस्बिरको अर्काइभ लिंक यहाँ छ

सोही फोटो एमाले नेता महेश बस्नेत, शान्ता चौधरी लगायत अरु धेरै एमाले समर्थकहरुले पनि सेयर गरेका छन्।

के हो तथ्य ?

तथ्यजाँचको क्रममा हामीले सबैभन्दा पहिले भाइरल भएको फोटोसँग अनलाइनखबरले खिचेको ड्रोन भिडिओ र तस्बिरसँग तुलना गरेर हेर्‍यौँ। भाइरल भएको फोटोको भूईंमा रातो कार्पेट मात्रै देखिन्छ भने अनलाइनखबरमा प्रकाशित ड्रोन दृश्यमा नेकपा एमालेको ११ औँ महाधिवेशनस्थलमा रातोसहित हरियो कार्पेट पनि बिच्छ्याइएको देखिन्छ। भाइरल फोटोमा स्टेजको अगाडि झण्डाहरु थुप्रै देख्न सकिन्छ भने यथार्थमा महाधिवेशन स्थलमा त्यस्तो देखिँदैन।

अनलाइनखबरले खिचेको ड्रोन फोटोमा रातो कार्पेट र हरियो कार्पेटको बीच भागमा सीपीएन यूएमएल अर्थात नेकपा एमाले लेखिएको देखिन्छ। तर भाइरल फोटोमा त्यस्तो देखिँदैन । यस्तै भाइरल फोटोमा मान्छेको भीड धेरै मात्र हैन अस्वभाविक पनि देखिन्छ भने अनलाइनखबरको ड्रोन फोटोमा त्यस्तो भीड देखिँदैन ।

हेर्नुहोस् भाइरल तस्बिरसँग अनलाइनखबरको तुलना

हेर्नुहोस् अनलाइनखबरको अर्काइभ लिंक

फोटोमा ‘ड्रोन सुट/ बचन राज जोशी’ लेखिएकोले फोटोबारे उनैसित सोध्यौँ। नेपाल फ्याक्ट चेकसँगको कुराकानीमा उनले यो फोटो आफैंले खिचेको नभई सामाजिक सञ्जालबाट भेटेर अपलोड गरेको बताए। तपाईँले फोटोमा आफ्नो नाम किन लेख्नुभएको त ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले यो फोटो सामाजिक सञ्जालमै भेटेको हुँ, अपलोड गर्ने बेलामा आफ्नो नाम राखेर पोष्ट गरेको हुँ, मैले खिचेको होइन’

सुन्नुहोस्, जोशीसँग नेपाल तथ्यजाँचले गरेको अडियो कुराकानी

 

हामीले यो फोटोलाई इमेजह्विस्पररमा जाँच गर्दा फोटोलाई म्यानिपुलेसन गरेको भेटिएको निश्कर्ष दियो। भीडको घनत्त्व र राता झण्डाहरु फोटोमा थपिएको निश्कर्ष यसले दियो।

हेर्नुस् निश्कर्ष:

हामीले यो फोटोलाई फोटोफरेन्सिक्समा लगेर एरर लेभल एनालाइसिस (इएलए) गर्दा पनि त्यसमा देखिएका प्याटर्नले यो फोटो सम्पादन गरिएको प्रष्ट भयो। हेर्नुस् इएलए-

भाइरल भएको अर्को फोटो

महेश बस्नेतले नै सार्वजनिक गरेको अर्को फोटोमा महाधिवेशन स्थल भरिभराउ देखिन्छ। तर सो फोटोमा पनि तल्लो दायाँ छेउमा जेमिनाइ एआईको लोगो देखिन्छ। गुगलको जेमिनाइ एआईबाट तयार पारिएका फोटोहरुमा यस्तो लोगो देखिन्छ। त्यसैले यो फोटो पनि भ्रामक भएको प्रष्ट हुन्छ।

हेर्नुस् अर्काइभ लिङ्क

अर्को फोटोको दावी

त्यसैगरी पत्रकार सुमन ढुङ्गाना लगायत केही फेसबुक प्रयोगकर्ताहरुले नेपालप्रेसको लोगो भएको एउटा फोटो राखी मिडियाले नै राखेको फोटो पनि कसरी एआई हुन्छ भन्ने शैलीको प्रश्न राखेको देखिन्छ।

हेर्नुस् स्क्रिनसट-

अर्काइभ लिङ्कका लागि क्लिक गर्नुस्। 

जबकि सोही फोटोको मुनि पनि जेमिनाइको लोगो प्रष्टै देखिन्छ। अर्थात् यो फोटोमा पनि भीड एआईले थपेको हो।

हामीले यस्तै फोटो नेपालप्रेसमा आएको छ कि छैन भनी खोज्ने क्रममा नेपालप्रेसको आधिकारिक फेसबुक पेजमा एउटा फोटो भेट्यौँ (हेर्नुस् अर्काइभ लिङ्क) सोही फोटोलाई एआई प्रयोग गरी भिडको संख्या बढाएको स्पष्ट हुन्छ।

हेर्नुस् दुई फोटोको तुलना-

तथ्य जाँच

दावीः नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सल्लाघारी पूरै भरिभराउ भएको भन्दै भाइरल भएका फोटोहरु।

दावीकर्ताः एमाले सम्वद्ध पत्रकार संगठन प्रेस चौतारी नेपालको बझाङ जिल्ला सचिव बचन राज जोशी, महेश बस्नेत, शान्ता चौधरी, पत्रकार सुमन ढुंगाना लगायत।

तथ्यः भ्रामक सूचना। यी फोटोहरु भ्रम फैलाउने गरी सम्पादन गरिएका हुन्, वास्तविक होइनन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add