- टेकमान शाक्य
- माघ ८, २०८२

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?
झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह आक्रोशित हुँदै गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कतिपयले भाइरल भिडियो वास्तविक नभई एआई जेनेरेटेड (एआईले बनाएको) भनिरहेका छन्।
तर हाम्रो तथ्यजाँचले भाइरल भिडिओ एआईबाट नबनाइएको देखिएको छ भने बालेन सचिवालयले पनि सो भिडियो वास्तविक भएको पुष्टि गर्दै निर्वाचन आचारसंहिता उल्लंघन हुने डरले बालेन आफैले रास्वपाका कार्यकर्ता एवम् समर्थकलाई सजग गराएर भीड नियन्त्रण गर्न खोजेको दाबी गरेको छ।
के हो दाबी ?
७ लाख ४२ हजार फलोअर्स भएको ‘पाथिभरा न्यूज’ नामक फेसबुक पेजले झापामा बालेनले रिसाउँदै जनता थर्काउँदै गरेको दाबीसहित भिडियो सार्वजनिक गरेको छ । यो तथ्य जाँचको समयसम्ममा भिडिओले ९५७ लाइक, २९८ कमेन्ट, ८३ सेयर र ७६ हजार भ्युज पाएको छ ।
हेर्नुहोस् पाथिभर न्यूज नामक फेसबुक पेजले सार्वजनिक गरेको भिडिओको स्क्रिन रेकर्ड
यो भिडियोमा ‘मेरो सूचना’ नामक फेसबुक पेजको लोगो देखिन्छ । ‘मेरो सूचना’ नामक फेसबुक पेजमा गएर हेर्दा भने हामीले यो भिडियो देखेनौँ। यही पोस्टमा कमेन्ट गर्नेमध्ये कतिपयले झापाका उम्मेदवार बालेनलाई गाली गरिरहेका छन् भने कतिपयले यो भिडिओ एआई जेनेरेटेड भएको भनिरहेका छन्। बालेनलाई बदनाम गराउनका लागि एआईबाट भिडिओ बनाएर भ्रम फैलाएको दावी गरिरहेका छन्।
अरु थुप्रै फेसबुक पेजहरुले पनि यो भिडियोलाई ‘भावी प्रधानमन्त्रीको उम्मेदवारले मतदातालाई अपमान गरेको’ दाबीसहित पोस्ट गरेका छन्।
हेर्नुहोस् केही स्क्रिनसटहरु

धरान अनलाइन न्यूजको भिडिओ लिंक यहाँ छ ।

ब्रम्हाण्ड कुमार यादवले सार्वजनिक गरेको भिडियो लिंक यहाँ छ ।
हामीलाई धेरैले यो भिडियो एआईद्वारा तयार भएको हो/होइन तथ्य जाँचका लागि अनुरोध पनि गरेका छन्।
के हो तथ्य ?
तथ्य जाँचकै क्रममा ‘सुनौलो नेपाल’ नामक फेसबुक पेजमा एउटा भिडियो सार्वजनिक भएको भेटियो । भिडियोको शीर्षक छ,- ‘बालेन मनोनयन दर्ता गर्न जादा देखियो यस्तो माहोल’ । यो तथ्य जाँच गर्ने समयसम्ममा यो भिडिओले ७१ हजार लाइक, १ हजार ९ सय कमेन्ट, ८८४ सेयर र ९ लाख ७७ हजार भ्युज पाइसकेको छ।
भिडियोमा बालेनले भीडलाई उत्तेजित नबन्न प्रयास गरेको देखिन्छ। भिडियोको १ मिनेट ५० सेकेन्डमा बालेनले निर्वाचन आचारसंहिता उल्लंघन भएमा आफूलाई कानुनी झमेला आइपर्न सक्ने चिन्ता व्यक्त गर्दै यसो भनेको सुनिन्छ: “निर्वाचन फेल हुन्छ के…” ।
सुनौली नेपाल नामक फेसबुक पेजमा सार्वजनिक भिडिओको अर्काइभ लिंक यहाँ छ ।
के छ निर्वाचन आचारसंहितामा ?
निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को १ को ‘ण’ मा निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने उल्लेख छ । यसरी जाँदा बाजा, गाजा तथा झाँकीसहित जान नहुने भनिएको छ ।
हेर्नुहोस् निर्वाचन आचारसंहिता

हेर्नुहोस् निर्वाचन आचारसंहिताको अर्काइभ लिंक ।
तथ्य जाँचकै क्रममा झापा ५ का उम्मेदवार बालेनबाट धकेलिएका रास्वपा झापाका नेता अर्जुन उप्रेतीको एउटा भिडिओ अन्तर्वार्ता ‘आमसन्चार’ नामक फेसबुक पेजबाट सार्वजनिक भएको छ । जुन अन्तर्वार्तामा बालेनको धकेलाई खाने उप्रेतीले निर्वाचन आचारसंहिता उल्लंघन हुने डरले उम्मेदवार बालेनले आफूहरुलाई धकेलेर भीडलाई अघि नबढ्न भनेको दाबी गरेका छन् ।

यसबारे हामीले बालेनको सचिवालयमा रहेका एकजना सदस्य सुरेन्द्र बजगाईसँग पनि कुरा गरेका छौं । कतिपयले यो भिडिओ नै एआईबाट जेनेरेटेड हो भनिरिहँदा बजगाईं भने यो एआई जेनेरेटेड नभई वास्तविक नै भएको बताउँछन् ।
भिडियो वास्तविक भएको तर तोडमोड गरेर बदनाम गराउने प्रयास भएको उनको भनाई छ। निर्वाचन आचारसंहिता उल्लंघन भएमा उजुरी पर्ने डरले बालेनले आफ्ना समर्थकको भीडलाई धकेलेर अघि नबढ्न भन्न खोजेको तर विरोधीहरुले भ्रम फैल्याएको बजगाईंले नेपालफ्याक्टचेकलाई बताए ।
सुन्नुहोस् बजगाईंसँग नेपाल फ्याक्टचेकले गरेको टेलिफोन कुराकानी ।
भिडियोको प्राविधिक परीक्षण
हामीले भिडियो एआई जेनेरेटेड हो कि होइन जाँच्नका लागि एआई बेस्ड मिसइन्फर्मेसनको सामना गर्न बनेको विज्ञसहितको डिपफेक एनालाइसिस युनिट (डीएयु) लाई आग्रह गर्यौँ। युनिटले विभिन्न टुलहरुमार्फत् यसको जाँच गर्यो।
गुगल एआईबाट तयार भएको भिडियोमा नदेखिने गरी Synth ID राखिएको हुन्छ। गुगलको SynthID मार्फत् जाँच्दा भाइरल भिडियोमा हामीले त्यो भेटेनौँ। हेर्नुस् स्क्रिनसट-
त्यसैगरी Hive AI image+deepfake classifier बाट हेर्दा भिडियोको एउटा फ्रेममात्र त्यो पनि निकै कम कन्फिडेन्स (नौ प्रतिशत) डिपफेक हुनसक्ने देखायो। तर त्यो पनि भिडियोमा कसैले पिठ्युँ फर्काएको बेलाको दृश्य थियो। सामान्यतया यस्ता एआई डिटेक्सन टुलले कहिलेकाहीँ फल्स पोजेटिभ वा नेगेटिभ पनि देखाउने गर्छन्। हेर्नुस् स्क्रिनसट-
त्यसैगरी हाइभ एआई डिपफेक डिटेक्टरमा जाँच्दा भिडियोमा देखिएका कुनै पनि अनुहार डिपफेक देखिएन। हेर्नुस् स्क्रिनसट-

बालेनको अनुहारको क्लोजअप स्क्रिनसट निकाली इमेजह्विस्पररमा जाँच्दा पनि एआई हो भन्ने देखिएन। हेर्नुस् स्क्रिनसट-

त्यसैगरी WasitAI मा जाँच्दा पनि एआई प्रयोग नभएको देखियो। हेर्नुस् स्क्रिनसट-

त्यसैगरी AIorNot मा जाँच्दा पनि भिडियो वास्तविक नै हुने सम्भावना धेरै देखायो।
यी विभिन्न टुलको जाँचका आधारमा युनिटले निश्कर्ष निकाल्यो-
Upon closer inspection, we did not notice any apparent visual artefact that would be indicative of AI use. Despite the bad quality of the video, the faces and limbs of the people are clear enough for us to look for any unnatural distortion. We did not find any. In AI-generated videos, movements of people can seem robotic and even unnatural, but that is not the case here. We found the bodies of different individuals to be distinct and discernible throughout the length of the clip.
अनुवाद :
ध्यानपूर्वक जाँच गरी हेर्दा एआई प्रयोग गरिएको संकेत दिने कुनै पनि स्पष्ट दृश्य त्रुटि (visual artefact) हामीले देखेनौँ। भिडियोको गुणस्तर कमजोर भए पनि मानिसहरूको अनुहार र हात–खुट्टा यति स्पष्ट छन् कि अस्वाभाविक विकृति छ कि छैन भनेर जाँच गर्न सकिन्छ। तर त्यस्तो कुनै विकृति फेला परेन।
सामान्यतया एआईबाट बनाइएका भिडियोमा मानिसहरूको चालचलन रोबोटजस्तो वा अस्वाभाविक देखिन सक्छ। तर यहाँ त्यस्तो अवस्था छैन। क्लिपको सम्पूर्ण अवधिभर विभिन्न व्यक्तिहरूका शरीर स्पष्ट रूपमा छुट्टाछुट्टै देखिन्छन् र सजिलै पहिचान गर्न सकिन्छ।
तथ्य जाँच
दावी: झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ का लागि राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार बालेनले रिसाउँदै जनता थर्काएको भनेर दाबी गरिएको भिडिओ एआई जेनेरेटेड भएकाे ।
दावीकर्ता : पाथिभरा न्यूज, धरान अनलाइन न्यूज, अरु थुप्रै सामाजिक संजाल प्रयोगकर्ता
तथ्य: भिडिओ वास्तविक हो । तर दाबी भ्रामक छ । बालेनले समर्थकको भीड नियन्त्रण गर्न खोजेका देखिन्छ जसलाई उनको सचिवालय र धकेलाई खाने व्यक्तिले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन त्यसो गरेको दाबी गरेका छन् जसलाई सामाजिक संजालको फरक हिसाब दाबी गरियो।
सच्याइएको : यसअघि असावधानीवश बालेनको निर्वाचन क्षेत्र झापा २ हुन गएकोमा सच्याइएको छ। उनको निर्वाचन क्षेत्र झापा ५ हो।

