गण्डकी तथ्यजाँच भ्रामक सूचना सम्बन्धित प्रदेश

उम्मेदवार चिन्नुहोस् भन्दै उम्मेदवार नै नभएका व्यक्तिको फोटो मिडियामा


उम्मेदवार चिन्नुहोस् भन्दै उम्मेदवार नै नभएका व्यक्तिको फोटो मिडियामा

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सञ्चारमाध्यमहरूले निर्वाचन क्षेत्रअनुसार उम्मेदवार चिनाउने सामग्रीहरू सार्वजनिक गरिरहेका छन्। यस्तै क्रममा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका पेजहरूले गोरखा क्षेत्र नम्बर १ का उम्मेदवारहरूको विवरण फोटोसहित प्रकाशित गरेका छन्।

तर हाम्रो तथ्य जाँचले हिमालय टेलिभिजन र ‘दैनिक’ नामक फेसबुक पेजले गोरखा–१ का नेकपा (एमाले) उम्मेदवारको सट्टा अर्कै व्यक्तिको फोटो प्रयोग गरेको देखाएको छ।

के हो दाबी ?

हिमालय टेलिभिजनले जनवरी २६ तारिख सोमबार सामाजिक सञ्जालमा ‘गोरखा – १ मा कसलाई रोज्ने ? उम्मेदवार चिनौँ’ भन्दै उम्मेदवारको विवरण सार्वजनिक गर्‍यो। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट ३८ वर्षीय सुधन गुरुङ र नेकपा (एमाले)को तर्फबाट ४४ वर्षीय राम चन्द्र लामिछानेको विवरण र फोटो राखिएको छ ।

हेर्नुहोस्, हिमालय टेलिभिजनले सार्वजनिक गरेको उम्मेदवारको विवरण :

हिमालय टेलिभिजनले अहिले उक्त पोस्टलाई आफ्नो फेसबुक पेजबाट हटाए पनि हिमालय टेलिभिजन कै नामबाट फेसबुक ग्रुपमा शेयर गरिएको पोस्टमा अझै देख्न सकिन्छ।

हिमालय टेलिभिजनले फेसबुक ग्रुपमा शेयर गरेको पोस्टको स्क्रिन सट :

हिमालय टेलिभिजन नामको फेसबुक ग्रुपमा शेयर भएको पोस्ट हेर्न यहाँ क्लिक गर्नुहोस् :

हिमालय टेलिभिजनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा पनि उक्त उम्मेदवारहरूको विवरण समेटेर बनाइएको फोटोलाई पोस्ट गरेको छ । ‘गोरखा – १ मा कसलाई रोज्ने ? उम्मेदवार चिनौँ’ भन्दै पोस्ट गरिएको उक्त सामग्रीमा हामीले तथ्य जाँच गर्दै गर्दा ४६ जनाले लाइक गरेका छन् भने २ जनाले कमेन्ट गरेका छन् ।

हेर्नुहोस्, हिमालय टेलिभिजनले इन्स्टाग्राममा पोस्ट गरेको पोस्टको स्क्रिन सट :

हिमालय टेलिभिजनले इन्स्टाग्राममा पोस्ट गरेको पोस्ट हेर्न यहाँ क्लिक गर्नुहोस् :

यता, दैनिक नामक फेसबुक पेजमा ‘उम्मेदवार चिनौं गोरखा – २’ भन्दै उनै सुधन गुरुङ र रामचन्द्र लामिछानेको विवरण उल्लेख गरिएको छ । जनवरी २७ तारिख मङ्गलवार मध्यान्ह १२ः०३ मा पोस्ट गरिएको उक्त सामाग्रीमा हामीले तथ्य जाँच गर्दै गर्दा एक सय १० लाइक, ५८ कमेन्ट र एक जनाले शेयर गरेका छन् ।

हेर्नुहोस्, दैनिक नाम फेसबुक पेजमा अपलोड गरिएको उम्मेदवारको विवरण :

दैनिक नाम फेसबुक पेजमा अपलोड गरिएको उम्मेदवारको विवरणको लिङ्क 

के हो तथ्य ?

हामीले गोरखा क्षेत्र नम्बर १ मा नेकपा (एमाले) बाट उम्मेदवार बनेका व्यक्तिको बारेमा खोजी गर्‍यौँ। निर्वाचन आयोग नेपालको आधिकारिक वेबसाइट अनुसार गोरखा–१ बाट एमालेका उम्मेदवार रामचन्द्र लामिछाने (आरसी लामिछाने) नै हुन्।

 

हामीले लामिछानेको बारेमा खोज्दै गर्दा २०८२ माघ ०६ गते मङ्गलबार रातो पाटीमा ‘गोरखा– १ मा एमालेका आरसी लामिछानेले गराए उम्मेदवारी दर्ता’ शीर्षकमा प्रकाशित समाचार भेट्यौँ ।

तर रातोपाटीमा प्रकाशित समाचारमा देखिएको उम्मेदवारी दर्ता गराउने आरसी लामिछाने र हिमालय टेलिभिजन तथा दैनिक नामले प्रयोग गरेको फोटोका व्यक्ति एकै व्यक्ति होइनन्।

थप पुष्टि गर्न हामीले फेसबुकमा खोजी गर्दा, हिमालय टेलिभिजन र दैनिकले प्रयोग गरेको फोटो भएका आरसी लामिछाने (रामचन्द्र) नामक व्यक्तिको फेसबुक प्रोफाइल भेट्यौँ।

फेसबुकमा उनले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको, आफ्नो घर गोरखा पनि नभएको र उम्मेदवार हुने कुरामा कुनै साइनो नरहेको स्पष्टीकरण दिएको भेट्यौँ। उनले स्पष्टीकरणमा आफ्नो नाम र फोटोसहितको व्यक्तिगत विवरण दुरुपयोग गरिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

हेर्नुहोस्, आरसी लामिछाने नामक फेसबुक पेजमा राखिएको स्पष्टीकरणको स्क्रिन सट :

आरसी लामिछाने नामक फेसबुक पेजमा राखिएको स्पष्टीकरण हेर्न यहाँ क्लिक गर्नुहोस् :

हिमालय टेलिभिजन र दैनिक नामक फेसबुक पेजले सार्वजनिक गरेका आरसी लामिछाने र गोरखा क्षेत्र नं. १ का लागि एमालेका उम्मेद्वार :

यता, दैनिक नामक फेसबुक पेजले दाबी गरेजस्तो रास्वपाका उम्मेदवार सुधन गुरुङ र एमालेका उम्मेदवार रामचन्द्र लामिछाने (आरसी) गोरखा २ का उम्मेदवार नभई गोरखा क्षेत्र नं. १ का उम्मेदवार रहेको निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको विवरणबाट पुष्टि हुन्छ ।

तथ्य जाँच

दावी : गोरखा क्षेत्र नम्बर १ (र २) का उम्मेदवारहरूको फोटोसहित विवरण।

दावीकर्ता : हिमालय टेलिभिजन र दैनिक नामक फेसबुक पेज ।

तथ्य : भ्रामक सूचना। हिमालय टेलिभिजन र दैनिक नामक फेसबुक पेजले प्रयोग गरेको आरसी लामिछाने (रामचन्द्र) को फोटो वास्तविक एमाले उम्मेदवारको होइन। साथै, दैनिक नामले दाबी गरेजस्तो सुधन गुरुङ र रामचन्द्र लामिछाने गोरखा–२ का उम्मेदवार नभई गोरखा–१ का उम्मेदवार हुन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add