तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

के प्रधानमन्त्री सुशीला कार्कीले राजतन्त्र पुनर्स्थापनाको पक्षमा अभिव्यक्ति दिएकी हुन्?


के प्रधानमन्त्री सुशीला कार्कीले राजतन्त्र पुनर्स्थापनाको पक्षमा अभिव्यक्ति दिएकी हुन्?

प्रधानमन्त्री सुशीला कार्कीले ‘राजसंस्था पुनर्स्थापना गरिएन भने जोसुकै प्रधानमन्त्री भएर आए पनि सम्हाल्न सक्ने अवस्था नहुने’ दावी गरेको पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहेको पुष्टि गरेको छ। प्रधानमन्त्री कार्कीले राजतन्त्र पुनर्स्थापनाको विषयमा सार्वजानिक अभिव्यक्ति दिएकी छैनन्। 

के छ दावी ?

४९ हजार फलोअर्स रहेको नेपाल तास (Nepal Tas) नामक फेसबुक पेजमा २०२६ जनवरी २८ मा ‘PM Sushila Karki ज्युको मुखबाट कम्तिमा राजसंस्था प्रति यति शब्द आउनु पनि ठूलै कुरा हो है …’ लेख्दै पोस्ट गरिएको छ।

प्रधानमन्त्री कार्कीको  फोटोसहित ग्राफिक्स गरेर बनाइएको उक्त पोस्टमा, ‘संविधानतः मैले बोल्न नमिल्ला तर देशमा राजसंस्था पुनर्स्थापना गरिएन भने जोसुकै प्रधानमन्त्री भएर आए पनि सम्हाल्न सक्ने अवस्था छैन !’ लेखिएको छ।

उक्त पोस्टमा प्रधानमन्त्री कार्कीले कहाँ, कहिले र कुन सन्दर्भमा बोलेको उल्लेख गरिएको छैन। 

हेर्नुस्, अर्काइभ लिंक, स्क्रिनसट

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा १४ हजार रियाक्सन दिइएको छ । त्यस्तै, १ हजार ५ सय कमेन्ट र १ हजार १ सय पटक सेयर गरिएको छ।

तथ्य के हो ?

यो विषयमा तथ्यजाँच गर्नका लागि सुरुमा हामीले पछिल्लो समय प्रधानमन्त्री कार्की सहभागी कार्यक्रममा गरेका भाषण सुन्यौँ। 

त्यो क्रममा प्रधानमन्त्री कार्की माघ १३ गते ललितपुरस्थित खोकनामा काठमाडौँ-तराई मधेस द्रुत मार्ग निरीक्षणमा पुगेको भेटियो। द्रुत मार्ग निरीक्षण गर्न त्यहाँ पुगेकी उनले राजनीतिक विषयमा भाषण गरेकी थिइनन्। उनले त्यहाँ धार्मिक विश्वास र सम्पदालाई असर नपुर्‍याई संरचना निर्माण गर्न निर्देशन दिएकी थिइन्। 

त्यसअघि उनी माघ १२ गते नेपाल खुला विश्वविद्यालयको दीक्षान्त समारोहमा पुगेकी थिइन्। त्यहाँ पनि उनले राजनीतिक विषयमा भाषण गरेकी थिइनन्। 

हामीले त्यसअघि प्रधानमन्त्री कार्की सशस्त्र प्रहरी दिवसको कार्यक्रममा बोलेको, सोनाम लोसारमा सहभागी भएर बोलेको, माघ १ गते माघी पर्वको कार्यक्रममा सहभागी भएर बोलेको भिडियो पनि हेर्‍यौँ। 

प्रधानमन्त्री कार्कीले यी कार्यक्रममा राजतन्त्र पुनर्स्थापनाको विषयमा बोलेकी छैनन्।

यो विषयमा थप बुझ्न हामीले प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलसँग टेलिफोन सम्पर्क गर्‍यौँ। उनले प्रधानमन्त्री कार्कीले राजतन्त्र पुनर्स्थापनाको पक्षमा अभिव्यक्ति नदिएको बताए।

उनले भने, “राजतन्त्र पुनर्स्थापनाको विषयमा उहाँले कहीँ कतै केही बोल्नुभएको छैन, उहाँको नाम प्रयोग गरेर भ्रम फैलाउन खोजियो।” 

हामीले प्रेस सल्लाहकार रावलसँग प्रधानमन्त्री कार्की पछिल्लो तीन महिनामा सहभागी भएका कार्यक्रमका सूची मागेर त्यहाँ बोलेको भाषण पनि सुन्यौँ। ती कार्यक्रममा प्रधानमन्त्री कार्कीले राजतन्त्र पुनर्स्थापनाको पक्षमा बोलेको भेटेनौँ। हामीले हेरेको अडियो तथा भिडियोमा उनले राजतन्त्रको पक्षमा कतै केही बोलेकी छैनन्।

हामीले यो पेजका अरु पोस्टहरु खोज्दा यसमा धेरैजसो राजतन्त्र समर्थक पोस्टहरु भेटियो।

तथ्यजाँच

दावी : प्रधानमन्त्री सुशीला कार्कीले राजतन्त्रको समर्थनमा बोलिन्

दावीकर्ता : नेपाल तास नामक फेसबुक पेज।

तथ्यजाँँच : मिथ्या सूचना। प्रधानमन्त्री कार्कीले सार्वजानिक कार्यक्रममा राजसंस्था पुनर्स्थापनाको विषयमा बोलेकी छैनन्। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add