एआई जेनेरेटेड तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन


अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको र उनी अस्पतालको बेडमा रहेका फोटोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। तर हाम्रो तथ्य जाँचले रवि लामिछानेको खुट्टामा चोट लागेर अस्पताल भर्ना भएको घटना सही भए पनि भाइरल भइरहेका फोटोहरु भने वास्तविक नभएको पुष्टि भएको छ।

के हो दाबी ?

प्रतिनिधिसभा सदस्यका लागि रास्वपाकी समानुपातिक उम्मेदवार ज्वाला संग्रौला (टीका संग्रौला)ले आफ्नो फेसबुक प्रोफाइलमा रवि लामिछानेलाई स्वास्थ्य लाभको शुभकामना लेख्दै राखेको फोटोमा रवि लामिछानेको दाहिने खुट्टामा प्लास्टर गरेको देखिन्छ। यो पोस्ट सार्वजनिक भएको दुई घण्टामा ११ हजार लाइक,  ३ हजार ४ सय कमेन्ट र ६७ जनाले सेयर गरेका छन्।

हेर्नुहोस् रास्वपाकी समानुपातिक उम्मेदवार ज्वालाको फेसबुक स्टाटसको स्क्रिनसट

ज्वाला संग्रौलाको फेसबुक स्टाटसको लिंक यहाँ छ ज्वालाले यो फोटो अहिले भने हटाइसकेकी छिन्।

ज्वाला संग्रोलासँगै रातोपाटी डटकमको आधिकारिक फेसबुकबाट पनि यही फोटो पोष्ट भएको थियो । रातोपाटीले पोष्ट गरेको ९ मिनेटमै १८९ रियाक्सन र ४४ कमेन्ट आएको  देखिन्छ। रातोपाटीले पनि अहिले यो फोटो हटाइसकेको छ। रातोपाटीको अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। 

हेर्नुहोस् रातोपाटीको स्क्रिनसट

अर्घाखाँची बुलेटिनले पनि ज्वाला संग्रौला र रातोपाटीले नै प्रयोग गरेको तस्बिर सार्वजनिक गरेको भेटियो । 

अर्घाखाँचीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

‘इन्टरटेनमेन्ट हब’ नामक फेसबुक पेजले रवि लामिछानेको देब्रे खुट्टामा घाउ देखिएको र हातबाट सलाइन लगाइरहेको अर्को फोटो सार्वजनिक गरेको छ। पोष्टमा जनकपुर कार्यक्रमका क्रममा लागेको चोटको कारण खुट्टामा संक्रमण देखिएकोले अस्पतालमा भर्ना गरेर उपचार गरिरहेको दाबी गरिएको छ।

हेर्नुहोस् इन्टरटेन्मेन्ट हबले सार्वजनिक गरेको तस्बिरसहितको स्क्रिनसट

फेसबुक पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

मन्जु भाट नाम गरेका फेसबुक प्रयोगकर्ताले रवि लामिछानेको खुट्टामा गम्भीर इन्फेक्सन भएपछि उपचारका लागि टिचिङ अस्पतालमा भर्ना भएको दाबीसहितको दाहिने खुट्टामा प्लास्टर गरिएको फोटो सार्वजनिक गरेकी छिन् ।

हेर्नुहोस् मन्जु भाटले सार्वजनिक गरेको पोष्टको स्क्रिनसट

पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

अरु धेरैले पनि सामाजिक सञ्जालमा यस्ता फोटोहरु सेयर गरेका छन्।

सामाजिक सञ्जालमा रवि लामिछानेको खुट्टा प्लास्टर गरेको फोटो भाइरल हुँदै गर्दा उनका स्वकीय सचिव अविनाश आचार्यले आफ्नो फेसबुकमा जनकपुरमा सम्पन्न कार्यक्रममा लामिछानेको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको र त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेको जानकारी फेसबुकमार्फत् गराएका छन्। तर आचार्यले रवि लामिछाने खुट्टामा चोट लागेको आधिकारिक फोटो सार्वजनिक गरेका छैनन्।

हेर्नुहोस् अविनाश आचार्यको फेसबुक पोष्टको स्क्रिनसट

अविनाश आचार्यको फेसबुक पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यसबारे नेपालतथ्यजाँचले अझै स्पष्ट हुनका लागि उनै रवि लामिछानेका स्वकीय सचिव अविनाश आचार्यलाई नै ‍सम्पर्क गरेको थियो। हामीसँग कुरा गर्दै आचार्यले सामाजिक सञ्जालमा आएका सबै फोटोहरु वास्तिवक नभएको बताए ।

उनको भनाई अनुसार सामाजिक सञ्जालमा देखिएको जस्तो रवि लामिछानेको दाहिने खुट्टामा प्लास्टर गरिएको छैन। लामिछानेको देब्रे खुट्टामा ब्यान्डेज लगाएर उपचार भइरहेको हो।

शिक्षण अस्पतालको  विज्ञप्ति

रवि लामिछानेको खुट्टाको उपचारबारे शिक्षण अस्पतालले पनि आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ । अस्पतालले गरेको दाबी अनुसार पूर्व गृहमन्त्री लामिछानेको माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको, औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले १३ गते अस्पतालमा भर्ना भएको, नशाबाट IV एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको हो । शिक्षण अस्पतालले विज्ञप्तिमार्फत सामाजिक संजालमा भेटिएका फोटोहरु अस्पतालको नरहेको स्पष्ट गरेको छ ।

हेर्नुहोस् शिक्षण अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति

रास्वपाको फेसबुक पेजमा पोष्ट भएको विज्ञप्तिको वास्तविक लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

सेलुलाइटिस भनेको के हो ?

सेलुलाइटिस छालाको भित्री भागमा ब्याक्टेरियाबाट हुने संक्रमण हो। छालामा लागेको सानो घाउ, चोट, किराले टोकेको ठाउँ वा फोका फुटेको भागबाट ब्याक्टेरिया शरीरभित्र पस्दा यो समस्या देखिन्छ।

सेलुलाइटिस हुँदा प्रभावित भाग सुन्निने, रातो हुने, तातो महसुस हुने र दुख्ने हुन्छ। कहिलेकाहीँ ज्वरो पनि आउन सक्छ।

यो रोग समयमै उपचार नगरे संक्रमण फैलिन सक्ने भएकाले डाक्टरको सल्लाहअनुसार एन्टिबायोटिक औषधिबाट उपचार गरिन्छ। अवस्था गम्भीर भए सुईबाट औषधि (IV एन्टिबायोटिक) दिइन्छ।

अब हामीले सामाजिक स‌ंजालमा भाईरल केही तस्बिरलाई एआई जेनेरेटेड हो कि होइन भनेर जाँच गरेर हेरेका छौं । दाहिने खुट्टामा प्लास्टर लगाएको तस्बिरलाई हामीले wasitai मार्फत जाँच गर्यौं । नतिजामा फोटो एआई जेनेरेटेड देखियो ।

हेर्नुहोस् स्क्रिनसट –

यो फोटोलाई हामीले इमेजह्विस्पररमा पनि जाँच गरेर हेर्यौं । नतिजामा यसले पनि एआई जेनेरेटेड देखायो ।

अर्को तस्बिरलाई पनि हामीले इमेजह्विस्पररमा जाँच गरेर हेर्‍यौँ। नतिजामा यो तस्बिरलाई मेनुपुलेसन गरिएको देखियो

तथ्य जाँच

दावी:  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएका  भाइरल फोटोहरु।

दावीकर्ता : रास्वपाकी समानुपातिक सांसद ज्वाला संग्रौला, रातोपाटी डटकमको आधिकारिक फेसबुक पेज, अर्घाखाँची बुलेटिन फेसबुक पेज, इन्टरटेनमेन्ट हब फेसबुक पेज, मन्जु भाट लगायत सामाजिक संजाल प्रयोगकर्ता

तथ्य:  भ्रामक सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको दाहिने खुट्टामा  प्लास्टर गरिएका  भाइरल तस्बिरहरु वास्तविक होइनन्। लामिछानेको देब्रे खुट्टामा चोट लागेको र उपचारका लागि अस्पतालमा भर्ना गरेर राखिएको घटना भने उनका स्वकीय सचिवको भनाई अनुसार सत्य हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add