तथ्यजाँच भ्रामक सूचना वागमती

सहकारी छानबिनबारे गगन थापाले माफी मागेका हुन्? यस्तो छ वास्तविकता


सहकारी छानबिनबारे गगन थापाले माफी मागेका हुन्? यस्तो छ वास्तविकता

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनेको तर रवि लामिछानेबारे केही पनि नभेटिएको र आफूहरुले उठाएको विषय सबै गलत साबित भएको भनेर नेपाली का‌ंग्रेसका महामन्त्री गगन थापाले माफी मागेको भनेर तस्बिरसहितको स्टायटस र भिडियो भाइरल बनिरहेको छ। तर हाम्रो तथ्य जाँचले कांग्रेस महामन्त्री थापाको पुरानो भिडियोको क्लिपलाई तोडमोड गरेर भ्रम फैलाइएको पुष्टि गरेको छ।

के हो दाबी ?

१ लाख ६० हजार फलोअर्स रहेको लक्ष्मी ज्ञवाली नाम गरेको फेसबुक प्रोफाइलमा सन् २०२६ को जनवरी ८ मा गगन थापाको तस्बिरसहित एउटा स्टायटस पोष्ट भएको छ। तस्बिरमा जेमिनाई एआईको लोगोसमेत देखिन्छ।
पोस्टमा नेपाली का‌ंग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी सम्बन्धी प्रकरणमा रवि लामिछानेमाथि लगाइएको आरोप हिजो पनि गलत थियो र आज पनि गलत छ, प्रमाण छैन भनेर बोलेको दाबी गरिएको छ। लेखिएको छ, “कांग्रेस नेता गगन थापा भन्छन् रवि लामिछाने माथि सहकारी ठगी सम्बन्धि लगाइएको आरोप हिजो पनि गलत थियो, आज पनि गलत छ, प्रमाण छैन !”
यो तथ्यजाँचको समयसम्ममा यो पोस्टले ५ हजार रियाक्सन पाएको छ भने ७ सय २३ वटा कमेन्ट र १ सय ८९ पटक सेयर गरिएको छ।
हेर्नुहोस् सार्वजनिक एआई  जेनेरेटेड गगन थापाको तस्बिरसहितको फेसबुक पोष्ट
फेसबुक स्टाटसको अर्काईभ लिंक यहाँ छ
जनवरी ८ कै दिन ६२ हजार फलोअर्स रहेको प्राइम खबर अनलाइन नामको फेसबुक पेजले पनि यही दाबीसहितको भिडियो क्लिप सार्वजनिक गरेको छ। भिडियोको क्याप्सनमा लेखिएको छ, ‘काङ्ग्रेस नेता गगन थापा भन्छन् रवि लामिछाने माथि सहकारी ठगी सम्बन्धि लगाइएको आरोप हिजो पनि गलत थियो, आज पनि गलत छ, प्रमाण छैन !
यो तथ्यजाँच गर्ने समयसम्ममा यो भिडियोमा ४ सय‍भन्दा बढी रियाक्सन, २५ कमेन्ट र १ सय १७ सेयर भइसकेको छ भने ९० हजार पटक हेरिसकिएको छ।
हेर्नुहोस् भिडियोको स्क्रिनसट
भाइरल भिडियो क्लिपको सुरुमा जनधारणा खबरका निमकान्त पाण्डेको थोरै क्लिप देखिन्छ। त्यही क्लिपको हुलिया खोज्दै हामीले जनधारणा खबरको युट्युब च्यानल भिजिट गर्‍यौँ। सन् २०२६ को जनवरी ७ मा १ लाख ९३ हजार सब्सक्राइबर रहेको जनधारणा खबर युट्युब च्यानलमा यसका संचालक निमकान्त पाण्डेले एउटा भिडियो सार्वजनिक गरेकाे भेटियो।
भिडियोको शीर्षकमा ‘गगनले मागे माफी: भने- ‘म झूठ भएँ कांग्रेस झूठ भयो’! रविले के भने ? – Nimkanta Pandey’ लेखिएको छ।
यो तथ्य जाँच गर्ने समयसम्म यो भिडियोले ७४ हजार भ्युज पाइसकेको छ भने २ हजार ५ सय पटक रियाक्ट देखिन्छ। यही भिडियोको सुरुको ५८ सेकेन्डमा निमकान्त पाण्डेले गगन थापाको भिडियो प्ले गरेर देखाएका छन्। गगन थापाको भिडियो क्लिप सकिएपछि पनि उनले गगन थापाले सहकारी प्रकरमा रवि लामिछानेबारे माफी मागेको दाबी गरेका छन्। निमकान्त पाण्डेकै दावीलाई विश्वास गरेर अरु सामाजिक संजाल प्रयोगकर्ताले भिडियो क्लिप भाइरल गराएको देखिन्छ।
हेर्नुहोस् भिडिओको स्क्रिनरेकर्ड

हेर्नुहोस् युटुबको अर्काइभ लिंक

के हो तथ्य ?

गगन थापाको भाइरल भिडिओको क्लिप यति सुझबुझले निकालिएको छ कि, वरपरको दृश्य नै फालेर अनुहार मात्रै क्रप गरेर जुम गरेर देखाइएको छ।
भिडिओको फ्रेम निकालेर मात्रै नतिजा निकाल्न नसकिने देखेर हामीले भाइरल भिडियोमा देखिएको गगन थापाको निधारमा लगाइएको टीका र कपालमा अड्किएको फूलको टुक्रालाई अलि राम्रोसँग नियालेर रवि लामिछानेबारे गगन थापाले बोलेका सार्वजनिक भिडियो खोज्न थाल्यौं।
यस क्रममा सन् २०२४ को मे १० मा सूत्र टिभीको आधिकारिक फेसबुक पेजमा पोस्ट भएको गगन थापाको १४ मिनेट २३ सेकेन्डको भिडियो भेटियो। सूत्र टिभीको भिडियोमा देखिएका गगन थापा र भाइरल भिडिओमा देखिएका गगन थापाको निधारमा रहेको टीका र कपालमा अड्किएको फूल समान भेट्टायौँ। यो भिडियोको ११ मिनेट ५३ सेकेन्डमा यही भाइरल भिडियो क्लिपमा जस्तै भेटियो।
वास्तवमा यो भिडियो सहकारी प्रकरणबारे छानबिन समिति बन्नुभन्दा अघिको हो। भिडियोमा रवि लामिछानेबारे कांग्रेस महामन्त्री गगन थापाले कतै पनि माफी मागेका छैनन्। बरु उनले छानबिन समिति बन्नुपर्ने, यदि छानबिन समितिले केही पनि भेटेन भने सिंगो कांग्रेस र आफ्नो पनि प्रतिष्ठाको विषय हुने भएकोले चुनाैती मोलेर नै छानबिन समितिको माग गरिएको दाबी गरेका छन्। त्यतिबेला संसदमा सहकारी प्रकरणमा छानबिन समिति बनाउन पर्ने कि नपर्ने भन्ने विषयमा निकै ठूलो सवाल जवाफ चलिरहेको थियो।
हेर्नुहोस् सूत्र टिभीकी भिडिओको स्क्रिन रेकर्ड

तथ्य जाँच 

दावी:  सहकारी प्रकरणमा रवि लामिछानेबारे आफूहरुले उठाएको सबै कुरा गलत भएको भनेर गगन थापाले माफी मागेको ।
दावीकर्ता : जनधारणा खबर युटुब च्यानलमार्फत निमकान्त पाण्डे, प्राइम खबर अनलाएन नामक फेसबुक पेज  र लक्ष्मी ज्ञवाली नामक फेसबुक प्रोफाइल ।
तथ्य: भ्रामक । सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनेको तर रवि लामिछानेबारे केही पनि नभेटिएको र आफूहरुले उठाएको विषय सबै गलत सावित भएको भनेर नेपाली का‌ंग्रेसका महामन्त्री गगन थापाले कतै पनि बोलेका छैनन्। संसदीय छानबिन समिति बन्नुअघि गगन थापाले सन् २०२४ को मे १० मा पत्रकारसँग गरेको कुराकानीलाई तोडमोड गरेर भिडिओ भाइरल गराइएको हो।

प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add