- टेकमान शाक्य
- माघ १५, २०८२

‘अमेरिकी एजेन्ट’ र ‘गोप्य’ भन्दै भाइरल भएको सोबिता गौतमको फोटोको तथ्य के हो?
चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमलाई ‘अमेरिकी एजेन्ट’ भन्दै उनका केही फोटो सामाजिक सञ्जालमा भाइरल भएका छन्। तर, हाम्रो तथ्य जाँचले ती फोटो गोप्य नभई सन् २०२५ जुलाई ४ मा काठमाडौंमा भएको एक सार्वजनिक अन्तर्क्रिया कार्यक्रमका भएको पुष्टि गरेको छ।
के हो दाबी ?
१ लाख ३४ हजार फलोअर्स रहेको भीमप्रसाद अधिकारी नाम गरेका फेसबुक प्रयोगकर्ताले ‘गोप्य फोटो सार्वजनिक’ भएको भन्दै सोबिता गौतम ‘अमेरिकी एजेन्ट भएको आशंका’ भएको दाबीसहित पोस्ट गरेका छन्। यो फेसबुक पोस्टले यो तथ्य जाँचको समयसम्म ७ सय ९८ रियाक्सन, २५९ कमेन्ट र ६९ सेयर पाइसकेको छ ।
हेर्नुहोस् भीम अधिकारीले लेखेको फेसबुक पोष्टको स्क्रिन सर्ट

भीमप्रसाद अधिकारीको फेसबुक पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
तथ्य जाँचका लागि हामीले यो फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गरेर हेर्यौँ। नतिजामा युथ इन्नोभेसन ल्याब नामक संस्थाको आधिकारिक वेबसाइटमा सोबिता गौतमसहित अरु सहभागीसमेतको तस्बिरहरु भेटिए ।
हेर्नुहोस् युथ इन्नोभेसन ल्याबको आधिकारिक वेबसाइटको स्क्रिनसट

संसदमा विधेयकहरु कसरी अघि बढ्छ भन्नेबारे अमेरिकी युथ काउन्सिल र युथ इन्नोभेसन ल्याब मिलेर एक कार्यक्रमको आयोजना गरिएको थियो। त्यो कार्यक्रममा अतिथिको रुपमा तत्कालीन रास्वपा सांसद गौतमलाई बोलाइएको थियो। कार्यक्रममा सहभागी भएर सोबिताले संसदमा विधेयक अघि बढ्ने प्रक्रियाबारे जानकारी गराएकी थिइन्। यो विषयलाई युथ इन्नोभेसन ल्याबले आफ्नो वेबसाइटमा पनि स्पष्टसँग उल्लेख गरेको छ।

ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ ।
यही फोटो सन् २०२५ को जुलाई १० मा अमेरिकी युथ काउन्सिल नेपालको आधिकारिक फेसबुक पेजबाट पनि सार्वजनिक भएको छ। युवा नीतिबारे एक प्रभावकारी संवाद भन्दै अमेरिकी युथ काउन्सिलले सार्वजनिक गरेका तस्बिरहरुमा सोबिता गौतमलाई देख्न सकिन्छ।
हेर्नुहोस् अमेरिकी दूतावास युथ काउन्सिलको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको पोष्ट ।

अमेरिकी दूतावास युथ काउन्सिलले पनि फेसबुक पोष्टमा सोबिता गौतमलाई सांसदको रुपमा अतिथि बनाएर एक पोलिसी डायलगमा आमन्त्रण गरिएको दाबी गरेर पोष्ट गरेको देखिन्छ। यो कार्यक्रममा तत्कालीन सांसद गौतमसहित युथ काउन्सिलका युवराज खड्कालगायत सहभागी भएको, कार्यक्रममा राष्ट्रिय युवा नीतिबारे छलफल भएको, सांसद गौतमले संसदमा विधेयक अघि बढ्ने प्रक्रियाबारे जानकारी गराएको लगायत विषय आफ्नो पोष्टमा समावेश गरेको देखिन्छ।
हेर्नुहोस् अमेरिकी दूतावास युथ काउन्सिल नेपालको फेसबुक पोष्टको स्क्रिनसट

अमेरिकी युथ काउन्सिलको फेसबुक पोष्टको लिंक यहाँ छ ।
के हो युथ काउन्सिल ?
US Embassy Youth Council भनेको नेपालस्थित अमेरिकी दूतावासले सञ्चालन गर्ने युवा सहभागिता कार्यक्रम हो। यस कार्यक्रमअन्तर्गत छानिएका युवाहरूले शिक्षा, समाज, नीति, नेतृत्व, मानव अधिकार जस्ता विषयमा छलफल गर्छन्,आफ्ना अनुभव र सुझाव दूतावाससँग साझा गर्छन् र समाजका मुद्दामा युवाको आवाज कसरी सशक्त बनाउने भन्ने सिक्छन्। सन् २०११ देखि सुरु भएको यो कार्यक्रममा हालसम्म ६५० भन्दा बढी सदस्य भइसकेको यसको वेबसाइटमा उल्लेख छ।
युथ काउन्सिलको सदस्य हुनु वा यसको कार्यक्रममा सहभागी हुनु कुनै विदेशी सरकारको ‘एजेन्ट’ हुनुको प्रमाण होइन। यो स्वयंसेवी, संवाद र नेतृत्व विकासका लागि बनाइएको प्लेटफर्म मात्र हो, न कि रोजगारी, पद वा गोप्य जिम्मेवारी दिने कार्यक्रम।
तथ्य जाँच
दावी : सोबिता गौतम ‘अमेरिकी एजेन्ट’ भएको र गोप्य फोटो सार्वजनिक।
दावीकर्ता : भीमप्रसाद अधिकारी नामक फेसबुक प्रयोगकर्ता
तथ्य : भ्रामक सूचना। भाइरल भइरहेको फोटो कुनै गोप्य फोटो होइन, सन् २०२५ को जुलाई ४ मा काठमाडौंमा भएको एक अन्तर्क्रियात्मक कार्यक्रमको हो जुन सार्वजनिक रुपमा राखिएको छ। कार्यक्रममा सोबिता गौतम अतिथिको रुपमा सांसदको भूमिकामा उपस्थित भएकी थिइन्।