तथ्यजाँच भ्रामक सूचना वागमती

बालेनले राजीनामा दिएपछि काठमाडौँ फोहर भएको? होइन, ती पुराना फोटो हुन्


बालेनले राजीनामा दिएपछि काठमाडौँ फोहर भएको? होइन, ती पुराना फोटो हुन्

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न बालेन शाहले काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएलगत्तै काठमाडौंमा फोहोर थुप्रिएको दाबीसहितको तस्बिर र भिडियो भाइरल बनिरहेको छ । तर हाम्रो तथ्य जाँचले पुरानो तस्बिर प्रयोग गरेर भ्रम फैलाएको पुष्टि भएको छ ।

तस्बिरको दाबी

१ लाख ५३ हजार फलोअर्स रहेको कृष्ण पाण्डे नामक फेसबुक पेजबाट फोहोरको थुप्रो भएको एउटा तस्बिर भाइरल छ। काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोलसहितको तस्बिरमा क्याप्सन लेखिएको छ, –काठमाडौँ महानगरपालिकामा बालेन शाह बाहिरिए सँगै एमालेको विकास ‘ ।

यो तथ्य जाँच गर्ने समयसम्ममा फेसबुक पोष्टले ३४ हजार रियाक्सन पाएको छ भने २ हजार ४ सय कमेन्ट र १ हजार ८ सय सेयर पाएको छ ।

हेर्नुहोस् कृष्ण पाण्डेको फेसबुक पोष्टको स्क्रिनसट

कृष्ण पाण्डेको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

तस्बिरको तथ्य

भाइरल भएको यो तस्बिरलाई हामीले गुगल इमेज सर्च गरेर खोज्यौं । नतिजामा ४९ लाख फलोअर्स रहेको रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेजमा सन् २०२२ को जुन २३ मा यो तस्बिर पोष्ट भएको भेटियो ।

त्यसबेला रुटिन अफ नेपाल बन्दले साउन १ गतेदेखि काठमाडौं महानगरपालिकामा कुहिने फोहर छुट्याएर राख्नुपर्ने भएको र नराखेमा पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको दाबी गरिएको छ भने कुहिने र नकुहिने फोहोर लिन छुट्टाछुट्टै दिन गाडी आउने जानकारी गराइएको छ ।

हेर्नुहोस् रुटिन अफ नेपाल बन्दको फेसबुक पेजमा सन् २०२२ को जुन २३ मा पोष्ट भएको तस्बिर

रुटिन अफ नेपाल बन्दको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

भिडियोको दाबी

सामाजिक संजालमा तस्बिरसँगै भिडि‌योसमेत भाइरल बनेको छ । ‘हाम्रो ट्रेन्ड’ नामक फेसबुक पेजमा सार्वजनिक भिडियोमा बालेनले काठमाडौंको मेयर पदबाट राजीनामा दिएपछि उही पुरानै अवस्थामा फर्किन थालेको, फोहोरको थुप्रो लाग्न थालेको दाबी गरिएको छ । भिडियोले यो तथ्य जाँचको समयसम्ममा ११ हजार रियाक्ट पाएको छ भने २५३ कमेन्ट र ९ सय ४९ सेयर पाएको छ । भिडियोले ३ लाख ३७ हजार भ्युज पाइसकेको छ ।

हेर्नुहोस् हाम्रो ट्रेन्ड नामका फेसबुक पेजमा ‍पोष्ट भएको भिडिओको स्क्रिन रेकर्ड

 

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ ।

भिडियोको तथ्य

यो भिडियोको तथ्य जाँच गर्नका लागि सबैभन्दा पहिले हामीले भिडियोमा प्रयोग गरिएका ४ वटा तस्बिरलाई निकाल्यौं । त्यसपछि ती सबै तस्बिरलाई पालैपालो गुगल इमेज सर्च गरेर हेर्यौं । नतिजामा सन् २०२२ मा विभिन्न स‌ंचारमाध्यममा प्रकाशित तस्बिर भिडियोमा प्रयोग गरेको भेटियो ।

पहिलो फ्रेम – भिडिओको सुरुमै २ वटा तस्बिर जोडेर राखिएको देखिन्छ । फोहोरको थुप्रोको छेवैमा गाडी गुडिरहेको, मान्छे हिँडिरहेको र फोहोरको थुप्रो नजिकै मन्दिरसमेत देखिन्छ ।

यहि तस्बिरलाई गुगल इमेज सर्च गरेर हेर्दा यहि तस्बिर सन् २०२२ को जुन १५ मा नेपाल मिनट डटकममा दिवाज घिमिरेको बाइलाइनमा समाचार प्रकाशित भएको भेटियो । अनलाइनमा दाबी गरिएअनुसार तस्बिर पनि उनै दिवाज घिमिरेले खिचेका थिए ।

हेर्नुहोस् नेपाल मिनटमा प्रकाशित तस्बिरसहितको स्क्रिनसट

नेपाल मिनटमा प्रकाशित समाचारको अर्काइभ लिंक यहाँ छ ।

दोस्रो फ्रेम – भिडिओमा समावेश अर्को तस्बिरमा पनि मन्दिर नजिकै फोहोरको डंगुर देखिन्छ । सडकमा अलपत्र अवस्थामा फोहोर थुप्रिएर बसेको छ ।

यो तस्बिरलाई पनि हामीले गुगल इमेज सर्च गर्‍यौँ। यसको नतिजामा द हिमालयन टाइम्स डटकममा सन् २०२२ को जुन ८ मा प्रकाशित समाचारमा प्रयोग भएको तस्बिर भेटियो ।

हेर्नुहोस् द हिमलायन टाइम्समा प्रकाशित समाचारसहित तस्बिरको स्क्रिनसट

द हिमालयन टाइम्सको अर्काइभ लिंक यहाँ छ ।

तेस्रो फ्रेम – भिडिओमा प्रयोग भएको तेस्रो तस्बिरमा पनि सडकमा फोहोरको ड‌गुर लागेको देखिन्छ । तस्बिरमा एकजना व्यक्तिले फोहोर चलाइरहेको देखिन्छ भने केही व्यक्ति फोहोर थुपारिएको सडकमा आवतजावत गरिरहेका छन् ।

यो तस्बिरलाई पनि हामीले गुगल इमेज सर्च गरेर हेर्‍यौँ। परिणाम स्वरुप यो तस्बिर पनि सन् २०२२ को जुन ८ मा रोयटर्सका लागि नभेस चित्रकारले कैद गरेको भेटियो ।

हेर्नुहोस् रोयटर्समा प्रकाशित समाचारमा प्रयोग गरिएको तस्बिरको स्क्रिनसट

रोयटर्सको अर्काईभ लिंक यहाँ छ ।

चौथो फ्रेम – भिडियोमा सडकैभरी असरल्ल अवस्थामा फोहोर रहेको दृश्य देखाईएको छ । गाडी गुड्न सडकदेखि मान्छे हिँड्ने फुटपाथसमेत रोकिने गरी फोहोरको डंगुर लागेको छ ।

तथ्य जाँचको क्रममा यसलाई पनि हामीले गुगल इमेज सर्च गरेर हेर्‍यौँ। नतिजा स्वरुप नेपालबज डटकममा सन् २०१८ को जुलाई १८ मा प्रकाशित समाचारमा प्रयोग भएको तस्बिर रहेको भेटियो ।

हेर्नुहोस् नेपालबज डटकममा प्रकाशित समाचारमा प्रयोग भएको तस्बिरको स्क्रिनसट

नेपाल बुजको अर्काइभ लिंक यहाँ छ ।

तथ्य जाँच

दावी: बालेन साहले काठमाडौंको प्रमुख पदबाट राजीनामा दिएलगत्तै काठमाडौंमा फोहोर थुप्रिएको दाबीसहितको तस्बिर र भिडियो ।

दावीकर्ता : कृष्ण पाण्डे नाम गरेको फेसबुक पेज, हाम्रो ट्रेन्ड नाम गरेको फेसबुक पेज र अरु थुप्रै सामाजिक संजाल प्रयोगकर्ता।

तथ्य: भ्रामक । काठमाडौंमा फोहोर थुप्रिएको पुरानो तस्बिर प्रयोग गरेर भ्रम फैलाइएको ह । बालेनले काठमाडौंको मेयर पदबाट राजीनामा दिने बित्तिकै फोहोर थुप्रिन थालेको दाबी भ्रामक छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add