- सुरज घिमिरे
- पुस २४, २०८२

नेपालको भन्दै भाइरल फोटो भियतनाम युद्ध बेलाको
केही दिनयता सामाजिक सञ्जालमा माओवादी जनयुद्धको बेलामा लडाकुहरूले दिएको यातना भन्ने दाबीका साथ एउटा फोटो भाइरल भएको छ। दुर्लभ फोटो भन्दै भाइरल भएको उक्त तस्वीर हाम्रो तथ्य जाँचले भने नेपालको नभई अमेरिका–भियतनाम युद्धको भएको पुष्टि गरेको छ।
के हो दाबी ?
सोना गेलाल नामक फेसबुक एकाउन्टमा जनवरी ४ तारिख मध्यान्ह १२ः५६ मा एकाउन्ट स्टाटससहित एउटा तस्वीर पोस्ट गरिएको छ ।
माओवादी जनयुद्धको दुर्लभ फोटो दाबी गरिएको उक्त तस्वीरमा एक हात बाँधिएका बुबाको काखमा सानो बच्चा देखिन्छन्। यसलाई माओवादी जनयुद्धमा चन्दा नदिएको भन्दै माओवादी लडाकुहरूले निर्दोष नागरिकलाई दिएको यातनाको रूपमा व्याख्या गरिएको छ। उक्त तस्वीरमा हामीले तथ्य जाँच गर्दै गर्दा एक हजार ४ सय बढी लाइक, १४८ कमेन्ट र २०६ पटक शेयर गरिएको छ ।
हेर्नुहोस्, सोना गेलाल नामक फेसबुक एकाउन्टमा पोस्ट गरिएको फोटो :

उक्त एकाउन्टमा पोस्ट गरिएको फोटोको लिङ्क र अर्काइभ लिङ्क ।
के हो तथ्य ?
हामीले उक्त तस्वीरको वास्तविकता थाहा पाउन गुगलमा रिभर्स इमेज सर्च गर्यौँ। यस क्रममा हामीले भियतनामी भाषामा भियतनामबाटै प्रकाशित हुने जेटन्यूजडटभीएनमा उक्त फोटो प्रकाशित भएको फेला पार्यौँ।
गुगलबाट अङ्ग्रेजीमा अनुवाद गरी हेर्दा त्यसमा ‘अमेरिकी हस्तक्षेपपछि भियतनाम युद्ध’ शीर्षकमा सन् २०१५ मे ५ मा प्रकाशित फोटो फिचरमा उक्त फोटो राखिएको छ। क्याप्सनमा लेखिएको छ, ‘त्यो सानो बच्चा आफ्नो बुबाको काखमा बसिरहेको छ, जसलाई अमेरिकी सैनिकहरूले फेब्रुअरी १७, १९६६ मा बोङ सोनमा अपरेशन ईगल क्लको क्रममा छापामार लडाकु भएको आशङ्कामा पक्राउ गरेका थिए ।’
हेर्नुहोस्, जेटन्यूजडटभीएनमा प्रकाशित फोटोको स्क्रिन सट :

जेटन्यूजडटभीएनमा प्रकाशित उक्त सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस् :
तथ्य जाँच
दावी : माओवादी जनयुद्धमा लडाकुहरूले दिएको यातना भन्दै भाइरल तस्वीर ।
दावीकर्ता : सोना गेलाल नामक फेसबुक एकाउन्ट
तथ्य : भ्रामक। माओवादी जनयुद्धमा लडाकुहरूले दिएको यातना भन्दै भाइरल तस्वीर नेपालको नभई भियतनामको भएको पुष्टि भएको छ। अमेरिकी सैनिकहरूले फेब्रुअरी १७, १९६६ मा बोङ सोनमा अपरेशन ईगल क्लको क्रममा छापामार लडाकु भएको आशङ्कामा पक्राउ गरेको तस्वीर माओवादी जनयुद्धको भन्दै भाइरल बनाइएको हो ।