तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

नझुक्किनुस्, ओलीले ‘प्रम बन्छु जस्तो नलागेको’ भन्दै गरेको भाइरल भिडियो क्लिप अहिलेको होइन


नझुक्किनुस्, ओलीले ‘प्रम बन्छु जस्तो नलागेको’ भन्दै गरेको भाइरल भिडियो क्लिप अहिलेको होइन

नेकपा एमालेका तर्फबाट आगामी चुनावमा प्रधानमन्त्रीका उम्मेदवारको रुपमा प्रचारित अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष आफू प्रधानमन्त्री बनिन्छ जस्तो नलागेको भनेर दिएको अभिव्यक्तिसहितको १० सेकेन्डको भिडियो क्लिप अहिले भाइरल छ। तर हाम्रो तथ्य जाँचले यो भिडिओ अहिलेको नभई लगभग दुई वर्ष पुरानो (सन् २०२४ को) भएको पुष्टि भएको छ।

के हो दाबी ?

‘प्राइम अपडेट’ नामक फेसबुक पेजमा बुधबार (२०२६ को जनवरी २८) को दिन केपी शर्मा ओलीको १० सेकेन्डको एउटा भिडियो क्लिप पोष्ट भएको छ। शीर्षकमा लेखिएको छ,  ‘यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन:ओली’ ।

भिडियोमा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो नलागेको भनेका छन्। यो तथ्य जाँचको समयसम्ममा यो भिडियोले १३ हजार रियाक्सन, ४६२ कमेन्ट,  २ सय ८५ सेयर र ९ लाख ७१ हजार भ्युज पाइसकेको छ। कमेन्ट गर्नेहरु अधिकांशले पनि यो भिडियो केपी शर्मा ओलीले हालै दिएको प्रतिक्रियाको रुपमा बुझेका छन्।

हेर्नुहोस् प्राइम अपडेटले पोष्ट गरेको भिडियोको स्क्रिन रेकर्ड

प्राइम अपडेटले पोष्ट गरेको भिडियोकोको लिंक यहाँ छ

के हो तथ्य ?

तथ्य जाँच गर्नका लागि  हामीले यो भिडियोबाट स्क्रिनसट गरेर एउटा फ्रेम निकाल्यौं। त्यो फ्रेमलाई गुगल रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ। नतिजामा १६ लाख फलोअर्स भएको उज्यालो अनलाइनको फेसबुक पेजमा यही भिडियो सन् २०२४ को जुलाई १ मा पोष्ट भएको भेटियो। उज्यालोको फेसबुक पेजमा पोष्ट भएको भिडियो २८ सेकेन्डको छ। भिडियोको १० सेकेन्डपछिको क्लिपसँग प्राइम अपडेटले पोष्ट गरेको १० सेकेन्डको भिडियो ठ्याक्कै मिलेको छ।

हेर्नुहोस् उज्यालोको फेसबुकमा पोष्ट भएको भिडियोको स्क्रिनरेकर्ड

उज्यालोको पेजमा पोष्ट भएको भिडियोको लिंक यहाँ छ

सन् २०२४ मा यही भिडियोसँग सम्बन्धित समाचारहरु प्रकाशित भएका छन् कि छैनन् भनेर हामीले गुगल सर्च गरेर खोज्यौं । २०८१ साल असार १७ गते कान्तिपुर टेलिभिजनको आधिकारिक वेबसाइटमा भिडियोमा देखिएको यही फ्रेमको तस्बिरसहितको ओलीको प्रतिक्रियासँग सम्बन्धित समाचार प्रकाशित गरेको भेटियो। कान्तिपुर टेलिभिजनसहित मूलधारका प्राय: संचारमाध्यमले त्यसदिन यो समाचारलाई प्राथमिकता दिएको भेटियो।

हेर्नुहोस् कान्तिपुर टेलिभिजनमा प्रकाशित समाचारको स्क्रिनसट

कान्तिपुर टेलिभिजनको समाचारको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

त्यसबेला के भएको थियो ?

ओलीले प्रतिक्रिया दिएको २०८१ सालको असार १७ गतेभन्दा केही दिनअघि नेपाली का‌ंग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि नेपाली राष्ट्रिय राजनीति तरंगित थियो। त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री थिए ।

देउवा र ओलीको भेटपछि त्यसबेला तत्कालीन प्रधानमन्त्री प्रचण्डले पनि ओलीसँग दुई पटक भेट गरिसकेका थिए।  सत्ता गठबन्धन फेरबदलको चर्चाका बीच संसद भवन परिसरमा ओलीलाई पत्रकारहरूले तपाईं प्रधानमन्त्री हुने चर्चा छ, कहिले बन्ने, शपथ कहिले हो भनेर प्रश्न गरे। ओलीले ठट्यौली पारामा जवाफ दिए, ‘त्यस्तो त लाग्दैन मलाई। यो वर्ष बनिन्छ जस्तो लाग्दैन।’

तथ्य जाँच

दावी : केपी शर्मा ओलीले यो वर्ष आफू प्रधानमन्त्री बनिन्छ जस्तो नलागेको भनेर दिएको अभिव्यक्तिसहितको भिडियो क्लिप।

दावीकर्ता : प्राइम अपडेट नामको फेसबुक पेज।

तथ्य : भ्रामक सूचना। केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनिन्छ जस्तो नलागेको भनेर बोलेको कुरा सत्य हो। तर उनले अहिले हैन २०८१ सालको असार १७ गते बोलेका थिए। ओलीलाई एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको चुनावअगाडिको वर्तमान घटनाक्रमसँग यसको कुनै सम्बन्ध छैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add