- सुरज घिमिरे
- माघ २५, २०८२

नझुक्किनुस्, ‘रुकुममा घण्टी समर्थक’ भन्दै भाइरल भिडियो एआईबाट बनेको हो
रुकुममा घण्टी समर्थक लेखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निलो झण्डासहित मोटरसाइकलमा ठूलो जुलुस निस्केको भिडियोको सामाजिक सञ्जालमा भाइरल बनेको छ।
तर, हाम्रो तथ्य जाँचले उक्त भाइरल पोस्टको अडियो र भिडियो दुवै गुगल एआईबाट बनेको पुष्टि भएको छ।
के हो दाबी ?
सर्टस् नेपाल (Shorts Nepal) नामक फेसबुक पेजमा शनिबार (फेब्रुअरी ७) मा दिउँसो १ः२५ बजे एउटा भिडियो पोस्ट गरिएको छ । ‘रुकुममा घण्टी समर्थक’ लेखिएको भिडियोमा मोटरसाइकलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जस्तो देखिने निलो झन्डासहितको जनलहर देख्न सकिन्छ।
१२ हजार फलोअर्स भएको उक्त पेजमा अपलोड गरिएको ८ सेकेन्डको भिडियोमा हामीले तथ्य जाँच गर्दै गर्दा ७१ हजार लाइक, दुई हजार दुई सय कमेन्ट, तीन हजार ९ सय पटक शेयर गरिएको छ। साथै, उक्त भिडियोलाई १२ लाख पटक हेरिएको छ ।
हेर्नुहोस्, उक्त पेजमा अपलोड गरिएको भिडियोको स्क्रिनरेकर्ड :
उक्त भिडियोको लिङ्क र अर्काइभ लिङ्क यहाँ छ ।
सोही भिडियो कर्णाली प्रदेश आचार्य नामको फेसबुक प्रयोगकर्ताले पनि राखेर आफ्नो भिडियोसमेत त्यसमाथि राखेर विचार व्यक्त गरेका छन्। तथ्य जाँच गर्दासम्म ८ हजार ७ सय रियाक्सन पुगेको यसको भ्युज ९३ हजार पुगेको छ भने सेयर १ हजार ६ सय पटक र कमेन्ट ३७२ छन्। ओरिजिनल लिङ्क। अर्काइभ लिङ्क।
नारायण कँडेलले पनि यही भिडियो राख्दै आफ्नो भिडियो थपेर विचार व्यक्ति गरेका छन्। ओरिजिनल लिङ्क अर्काइभ लिङ्क
अरु पनि थुप्रैले यो भिडियो राखेको र हामीलाई यो भिडियोको तथ्य जाँच गरिदिन अनुरोध पनि आएकोले हामीले अनुसन्धान थाल्यौँ।
के हो तथ्य ?
हामीले तथ्य जाँचको क्रममा सुरुमा सर्टस् नेपाल पेजमा राखिएको भिडियोलाई हेर्यौँ जसमा रुकुममा घण्टी समर्थक लेखी केही ह्यासट्याग पनि राखिएको छ। ह्यासट्यागमा #AI पनि उल्लेख छ। तर भिडियो एआईबाट बनाइएको बारे कुनै पनि जानकारी त्यसमा राखिएको छैन।
हेर्नुहोस्, स्क्रिनसट :

हामीले थप भिडियो नियाल्यौँ। उक्त ८ सेकेन्डको भिडियोको ४ सेकेन्डतिर एक मोटरसाइकलले एउटा मानिसलाई ठक्कर दिएको देखिन्छ । तर, उक्त व्यक्तिको उद्दारमा कसैले चासो देखाएको भने देखिँदैन।
हेर्नुहोस्, भिडियो :
त्यसपछि हामीले गुगलको Synth ID पनि परीक्षण गर्यौँ।
Synth ID गुगलले विकास गरेको प्रविधि हो, जसले गुगलको एआईले बनाएको फोटो, अडियो, भिडियो वा टेक्स्टमा अदृश्य डिजिटल वाटरमार्क राख्छ र त्यसको माध्यमबाट सामग्री एआई जेनेरेटेड हो कि होइन भनेर पहिचान गर्न मद्दत गर्छ। Synth ID परीक्षण गर्दा नतिजा यस्तो आयो।

यसको नेपाली अनुवाद यस्तो हुन्छ :
यो भिडियोमा देखिने अडियो र दृश्य दुवै Google AI प्रयोग गरेर सम्पादन वा सिर्जना गरिएको हो। भिडियोको सम्पूर्ण अवधिभर (०:०० देखि ०:०८ सम्म) SynthID पहिचान गरिएको छ।
डिजिटल पहिचानभन्दा बाहिर पनि, यो दृश्य AI-द्वारा सिर्जना गरिएको भन्ने देखाउने केही दृश्य संकेतहरू छन्:
शारीरिक असंगतिहरू: धेरै नीलो झन्डाहरू एक–आपसमा वा तिनलाई बोकेका मानिसहरूसँग गाभिएको जस्तो देखिन्छ। केही व्यक्तिहरू र मोटरसाइकलहरू आपसमा मिसिएको वा अंगहरू विकृत देखिन्छन्।
पर्यावरणीय विचित्रताहरू: भीडको चालढाल ठाडो र साँघुरो पहाडी बाटोका लागि अस्वाभाविक देखिन्छ, दोहोरिएको र कृत्रिम जस्तो लाग्छ।
दोहोरो बनावट (Repetitive Textures): वरपरका डाँडाकाँडा र घरहरूमा अस्वाभाविक रूपमा एकै किसिमका ढाँचाहरू देखिन्छन्, जुन AI-द्वारा सिर्जित दृश्यहरूमा सामान्य हुन्छ।
तथ्य जाँच
दावी : रुकुममा घण्टी समर्थक भन्दै भाइरल भिडियो ।
दावीकर्ता : सर्टस नेपाल, कर्णाली प्रदेश आचार्य, नारायण कँडेल (फेसबुक प्रयोगकर्ता) ।
तथ्य : मिथ्या सूचना। रुकुममा घण्टी समर्थक भन्दै भाइरल भिडियो एआईबाट निर्मित भएको प्राविधिक परीक्षणबाट पुष्टि हुन्छ। यो भिडियो दृश्य र ध्वनि दुवै गुगल एआईबाट बनेको सिन्थ आइडी परीक्षणमा देखियो। सुरुमा अपलोड गर्नेले ह्यासट्यागमा #ai मात्र लेखेर एआईबाट बनेको भनी कुनै जानकारी नदिएर वास्तविक जस्तो भ्रम फैलाउन खोजेको देखिन्छ भने पछि त्यसलाई सेयर गर्नेहरुले वास्तविक भिडियोका रुपमा झैँ प्रचार गरेका छन्।
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।