कोशी तथ्यजाँच भ्रामक सूचना सम्बन्धित प्रदेश

हर्क साम्पाङलाई एमाले उम्मेदवारले समर्थन गरेको? होइन, भाइरल भिडियो भ्रामक


हर्क साम्पाङलाई एमाले उम्मेदवारले समर्थन गरेको? होइन, भाइरल भिडियो भ्रामक

आगामी प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)को तर्फबाट मोरङ क्षेत्र नम्बर २ का लागि उम्मेदवार दीलिप बगडियाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको प्रशंसा गरेको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। बगडियाले हर्क साम्पाङ जनताको माझमा गएर काम गर्न सक्ने क्षमताको मान्छे भएको बताएको दाबी गरिएको छ।

तर, हाम्रो तथ्य जाँचले भने बगडियाको धारणाको सन्दर्भ अर्कै रहेको र छोटो क्लिपलाई काँटछाँट गरी भाइरल बनाइएको पुष्टि गरेको छ।

के हो दाबी ?

‘हर्क साम्पाङ ए रेभोल्युसन सपोर्टर’ (Harka Sampang A revolution Supporter) नामको फेसबुक पेजले शनिबार (फेब्रुअरी ७) राति  ‘श्रम संस्कृति पार्टी’ नामक फेसबुक ग्रुपमा एउटा भिडियो अपलोड गर्‍यो। ४ हजार ५ सय बढी फलोअर्स भएको उक्त फेसबुक पेजले ५८ हजार ७ सय बढी मेम्बर भएको सो ग्रुपमा अपलोड गरेको भिडियोमा तीन वटा फ्रेमहरू देखाइएको छ।

एउटा फ्रेममा एक व्यक्तिलाई देखाइएको छ भने बीचको फ्रेममा आगामी प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)बाट मोरङ क्षेत्र नम्बर २ का लागि दीलिप बगडिया बोल्दै छन्। साथै, तेस्रो फ्रेममा सुनसरी क्षेत्र नं. १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धरानको मेयर हुँदा गरेका कामहरूको दृश्य देखाइएको छ।

एमालेबाट मोरङ–२ का उम्मेदवार दीलिप बगडियाले हर्क साम्पाङको प्रशंसा गरेको जस्तो देखिने १७ सेकेन्डको उक्त भिडियोमा बगडियाले भनेका छन्, ‘जनताको माझमा गएर, भूईँमा गएर जनतासँग बसेर काम गर्न सक्ने क्षमताको मान्छे चाहियो। जातले हुँदैन। पैसाले हुँदैन। धर्मले हुँदैन। त्यो कुरा तपाईँ राम्ररी बुझ्नुभाछ ।’

हामीले तथ्य जाँच गर्दैगर्दा उक्त भिडियोमा ९ हजार ७ सय बढी रियाक्सन, ३ सय २३ कमेन्ट र ६ सय ४१ पटक शेयर गरिएको छ भने भिडियोलाई ७६ हजार बढी पटक हेरिएको छ।

हेर्नुहोस्, भिडियोको स्क्रिनरेकर्ड

 

उक्त भिडियोको लिंकअर्काइभ लिंक

सोही १७ सेकेन्डको भिडियोलाई फेब्रुअरी २ तारिख सोमबार दिउँसो १ः३८ बजे सोही ‘हर्क साम्पाङ ए रेभोल्युसन सपोर्टर’ नामक फेसबुक पेजमा पनि अपलोड गरिएको छ । हामीले तथ्यजाँच गर्दैगर्दा उक्त भिडियोमा २३५ लाइक, १७ कमेन्ट र २४ पटक शेयर गरिएको छ भने भिडियोलाई २ हजार पटक हेरिएको छ ।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त पेजमा अपलोड गरिएको भिडियोको लिंकअर्काइभ लिंक

के हो तथ्य ?

तथ्यजाँच गर्ने क्रममा हामीले दीलिप बगडियाका अन्तर्वार्ताहरू खोज्यौँ। सोही क्रममा हामीले ‘रंगेली बनाए जस्तै क्षेत्र बनाउने छु : दीलिप बगडिया’ शीर्षकसहित हाम्रो विराटनगर नामक युट्युब च्यानलमा सन् २०२६ जनवरी २२ मा अपलोड गरिएको अन्तर्वार्ता फेला पार्‍यौँ।

४२ मिनेट लामो अन्तर्वार्ताको क्रममा ३८ मिनेट ३० सेकेन्डपछि प्रस्तोताले सोध्छन् – ‘अर्को एउटा कुरा मार्केटमा धेरै छ, यो कुरा तपाईँसँग पनि आइपुगेको होला। अघि तपाईँले भन्नुभयो, दीलिप बगडिया बिजनेस घरानाको मान्छे हो, पैसा यो पालि खोलो बगाउँछ, गाह्रो छ दीलिप बगडियालाई हराउन। किनभने पैसा त ऊसँग टनाटन छ, पैसा बाँडेर जसरी पनि जित्छ भनेर, यसलाई कसरी लिनुभाछ ?’

त्यसपछि दीलिप बगडिया जवाफ दिँदै भन्छन् – ‘त्यसो भए त गोल्छा, दुगड त सबै प्रधानमन्त्री भइहाल्छ नि। पैसावाला जम्मै हुने हो भने त यहाँ प्रधानमन्त्री अरूको त सपनै नदेखे हुन्छ नि। म भन्दा धनाढ्य कति छन् छन्। पैसैले देश हाँक्न मिल्ने हो भने त प्रधानमन्त्री बन्दा भइहाल्यो नि पैसाले ।’

प्रस्तोता पुनः प्रतिप्रश्न गर्छन् – ‘पैसाले हुँदैन ?’

त्यसपछि बगडियाले पुनः जवाफ दिँदै भन्छन् – ‘जनताको माझमा गएर, भुईँमा गएर जनतासँग बसेर काम गर्न सक्ने क्षमताको मान्छे चाहियो । जातले हुँदैन। पैसाले हुँदैन। धर्मले हुँदैन । त्यो कुरा तपाईँ राम्ररी बुझ्नुभाछ । ’

हेर्नुहोस्, उक्त अन्तर्वार्ताको स्क्रिन रेकर्ड :

उक्त अन्तर्वार्ता हेर्न यहाँ क्लिक गर्नुहोस्

तथ्य जाँच

दावी : आगामी प्रतिनिधिसभाको निर्वाचनको लागि नेकपा (एमाले)को तर्फबाट मोरङ–२ का उम्मेदवार दीलिप बगडियाले हर्क साम्पाङको प्रशंसा गरेको दावी गरिएको भिडियो।

दावीकर्ता : ‘हर्क साम्पाङ ए रेभोल्युसन सपोर्टर’ नामक फेसबुक पेज।

तथ्य : भ्रामक सूचना। भाइरल गरिएको १७ सेकेन्डको भिडियो क्लिप सन्दर्भबाहिर काटेर प्रस्तुत गरिएको देखिन्छ। पूर्ण अन्तर्वार्ता हेर्दा नेकपा (एमाले)का मोरङ–२ का उम्मेदवार दीलिप बगडियाले हर्क साम्पाङको नाम उल्लेख गरेका छैनन्। उनले पैसा, जात वा धर्मका आधारमा होइन, जनतामाझ गएर काम गर्न सक्ने क्षमताको व्यक्तिलाई नेतृत्व दिनुपर्ने सन्दर्भमा टिप्पणी गरेका हुन्। तर उक्त अभिव्यक्तिको अंशलाई काटेर हर्क साम्पाङका दृश्यहरूसँग जोडेर प्रस्तुत गरिएको भिडियोले फरक अर्थ लाग्ने गरी सन्दर्भ परिवर्तन गरेको छ। त्यसैले दीलिप बगडियाले हर्क साम्पाङको प्रशंसा गरेको भन्ने दाबी भ्रामक छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add