तथ्यजाँच भ्रामक सूचना

बालेनले मदिरा पिउँदै गरेको भाइरल फोटो सही होइन


बालेनले मदिरा पिउँदै गरेको भाइरल फोटो सही होइन

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन)ले मासुजन्य परिकारसहित मदिरा पिउँदै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, हाम्रो तथ्य जाँचले डडेलधुराको ‘बाजेको खीर पसल’मा खीर खाँदै गरेको बालेनको मूल फोटोलाई एआईको सहायताले सम्पादन गरी मदिरा पिउँदै गरेको जस्तो देखिने बनाइएको पुष्टि गरेको छ।

के हो दाबी ?

कृष्ण प्र. पन्थी नामक फेसबुक प्रयोगकर्ताले फेब्रुअरी २१, शनिबार आफ्नो फेसबुकमा एउटा पोस्ट सार्वजनिक गरेका छन्। उक्त पोस्टमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट रास्वपाका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) मदिरा र मासुजन्य परिकार सेवन गरिरहेको जस्तो देखिने फोटो अपलोड गरिएको छ।

४९ हजार फलोअर्स रहेको पन्थीको फेसबुक खातामा राखिएको उक्त पोस्टलाई हामीले सोमबार तथ्य जाँच गरुन्जेल ८ हजार ३०० भन्दा बढी प्रतिक्रिया, २ हजार ३०० भन्दा बढी टिप्पणी र ६२८ पटक शेयर गरिएको थियो।

हेर्नुहोस् स्क्रिनसट :

 फेसबुक लिङ्कअर्काइभ लिङ्क

के हो तथ्य ?

हामीले तथ्य जाँचका क्रममा उक्त फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्‍यौं। बालेनले मदिरा पिएको पुष्टि गर्ने कुनै विश्वसनीय स्रोत फेला परेन।

यसै क्रममा ‘डडेलधुराको प्रख्यात बाजेको खीर पसलमा बालेन (तस्बिरहरू)’ शीर्षकमा रातोपाटी डटकममा २०८२ माघ १४ गते (बुधबार) प्रकाशित सामग्री भेटियो। उक्त समाचारमा चुनावी अभियानका क्रममा डडेलधुरा पुगेका रास्वपाका वरिष्ठ नेता बालेन शाह सो क्षेत्रको प्रख्यात ‘बाजेको खीर पसल’मा पुगेर प्रचार टोलीसहित खीर खाएको उल्लेख छ।

हेर्नुहोस्, रातोपाटीमा प्रकाशित सामग्रीको स्क्रिनसट :

उक्त सामग्रीको लिङ्क यहाँ उपलब्ध छ

त्यस्तै, अनलाइनखबर डटकमको फेसबुक पेजमा पनि जनवरी २८ (माघ १४) मा ‘डडेलधुरा साहुखर्कमा खीर खाँदै बालेन’ शीर्षकमा बालेन खीर खाँदै गरेको भिडियो सार्वजनिक गरिएको छ।

हेर्नुहोस्, भिडियोको स्क्रिनसट :

अनलाइनखबरमा अपलोड गरिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

हामीले भाइरल फोटोलाई हाइभ मोडेरेसनमा परीक्षण गर्‍यौं। हाइभ मोडेरेसनले उक्त फोटो एआई प्रयोग गरेर सम्पादन गरिएको सम्भावना उच्च रहेको नतिजा देखायो।

हेर्नुहोस्, हाइभ मोडेरेशनको नतिजा :

थप पुष्टि गर्न हामीले उक्त तस्बिरलाई फोटो फरेन्सिक्समा राखी त्रुटि स्तर विश्लेषण (ELA) परीक्षण गर्‍यौं।

हेर्नुहोस्, स्क्रिनसट :

ELA (Error Level Analysis) परीक्षण गर्दा फोटोका विभिन्न भागमा कम्प्रेसन स्तर असमान देखिएको छ। अनुहार, कपडा र पृष्ठभूमि भागमा त्रुटि स्तर अपेक्षाकृत समान र सन्तुलित देखिए पनि पेय पदार्थ र खानाजन्य वस्तु देखिने क्षेत्रमा अस्वाभाविक रूपमा बढी उज्यालो र उच्च कन्ट्रास्ट देखिएको छ। यस्तो भिन्नता सामान्यतया तस्बिरका केही अंशपछि डिजिटल रूपमा थपिएको वा सम्पादन गरिएको अवस्थामा देखिन्छ।

यदि फोटो पूर्ण रूपमा एकैपटक खिचिएको र सम्पादन नगरिएको हुन्थ्यो भने सबै भागमा लगभग समान कम्प्रेसन ढाँचा देखिनुपर्ने थियो। तर ELA विश्लेषणमा देखिएको असमान त्रुटि स्तरले विवादित भाग मूल फोटोको हिस्सा नभई पछि हेरफेर गरिएको सम्भावना बलियो बनाउँछ।

तथ्य जाँच

दाबी : बालेनले मासुसहित मदिरा पिउँदै गरेको भाइरल फोटो।

दाबीकर्ता : कृष्ण प्र. पन्थी नामक फेसबुक प्रयोगकर्ता।

तथ्य :  भ्रामक सूचना भाइरल तस्बिर मूल रूपमा खीर खाँदै गरेको दृश्य हो। प्राविधिक परीक्षण र स्रोत तुलना अनुसार त्यसमा मदिरा र मासुजन्य परिकार डिजिटल रूपमा थपिएको देखिन्छ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add