- नेपाल फ्याक्ट चेक
- फाल्गुन १३, २०८२

के रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्री बनाउने सहमति नभएको भनेका हुन्?
राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति नभएको दावी गर्दै राष्ट्रिय श्रम संस्कृति पार्टीको चुनाव चिन्ह माटोमा भोट हाल्न आह्वान गरिएको एउटा भिडियो फेसबुकमा फैलिएको छ। तर, हाम्रो तथ्यजाँचमा यो दावी भ्रामक देखियो। यो भिडियो बालेन रास्वपा प्रवेश गर्नुअघिको भिडियोलाई सन्दर्भ फरक पारेर अपलोड गरिएको हो।
दावी के छ ?
फेसबुकमा १० हजार फलोअर्स रहेको महादेव नामक प्रयोगकर्ताले ‘राम्रोसँग सुन्नुहोस् त’ लेख्दै एउटा भिडिओ राखेका छन् । भिडिओमा रास्वपाका सभापति लामिछानेलाई कसैले ‘बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति भएको हो र ?’ भनेर सोध्छन्।
जवाफमा लामिछाने भन्छन्, ‘हामी त्यस चरणमा प्रवेश गरेका छैनौँ…’
त्यसपछि भिडिओमा प्रतिक्रिया दिँदै एक पुरुष भन्छन्, ‘सुन्नुभयो दुइटा मुख भएको मान्छेको कुरा, अब बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर घण्टीमा भोट लाउनेहरु अब अरु उपाय छैन, अब यता माटोमा आउनुस् माटोमा ….।”
हेर्नुस्, स्क्रिन रेकर्ड-
यो तथ्यजाँच गर्दासम्म उक्त भिडियो एक लाख ३६ हजार मानिसले हेरेका छन्। त्यस्तै, ६ हजार ९०० रियाक्सन, ५६३ कमेन्ट र १ हजार जनाले सेयर गरेका छन्।
तथ्य के हो ?
यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले भिडियोको स्क्रिनसट लिएर रिभर्स इमेज सर्च गर्यौँ। यस क्रममा बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर भएको समयमा रास्वपा प्रवेश गर्ने विषयमा छलफल भएको विभिन्न समाचार र भिडियो फेला पार्यौँ। त्यो बेला बालेनले सभापति लामिछानेसँग पटक पटक भेटघाट गरेका थिए ।
हामीले गुगलमा ‘रास्वपा प्रवेश रवि बालेन भेट’ कि वर्ड राखेर गुगलमा सर्च गर्यौँ। यस क्रममा २०२४ डिसेम्बर २३ मा लोकपथको फेसबुक पेजमा ‘बालेनसँगको भेटबारे बोले रवि, भन्छन्– ‘बालेनजीसँग मात्र होइन सुदन गुरुङदेखि कुलमानसम्मलाई समेट्ने प्रयासमा छौँ’ शीर्षकमा हालेको एक मिनेट २० सेकेन्डको भिडिओ फेला पार्यौँ।
सो भिडिओमा रवि लामिछाने भन्छन्, ‘ परिवर्तनमा लाग्नु भएका नयाँ अझ वैकल्पिक शक्तिहरुलाई संवादमार्फत् एक ठाउँमा ल्याउने प्रयास स्वरुप अगाडि बढिरहेका छौँ, त्यसको महत्वपूर्ण कडीको रुपमा हामी अघि बढिरहेका छौँ। अब हामी यसलाई टुंगोमा पुर्याउने गरी हाम्रो संवाद सुरु भएको छ।’
त्यसपछि रिपोर्टरले सोध्छन्, ‘बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति भएको हो र ?’ जवाफमा लामिछाने भन्छन्, ‘ हामी त्यस चरणमा प्रवेश गरेका छैनौँ, पहिला त थाहा हुनुपर्यो, कुराकानी हुनुपर्यो, के छ, कस्तो छ,कहाँ छ, के छ भनेर बुझ्नुपर्यो, एक अर्कासँग परिस्थितिको बारे जानकारी लिनुपर्यो, त्यो चरणमा छ… हामी तपाईँहरुले भनेजस्तो हतार नगर्नुस् न।”
त्यसपछि रिपोर्टरले सोध्छन्, “आजै वार्ता हुने जानकारी आको छ।”
जवाफमा लामिछाने भन्छन् , “बिस्तारै राजनीतिक चरणमा हामी प्रवेश गर्छौँ, जस्तो अरु शक्तिहरुसँग पनि छलफल निरन्तर कायम छ, सुदन गुरुङसँग पनि कुराकानी भएको छ, समयको कारणले कुलमान जीसँग पनि कुराकानी गर्छौ, हामी सबैसँग कुराकानी गरेर एक ठाउँमा आउनको लागि प्रयास गर्छौँ र मैले भने अनुसार रास्वपा त्यसमा लागिरहेको छ…”
महादेव नामक फेसबुक प्रयोगकर्ताले बालेन रास्वपा प्रवेश गर्ने चरणमा छलफलपछि रवि लामिछानेले पत्रकारहरुलाई दिएको यही प्रतिक्रियाको सानो क्लिप अहिले चुनावमा भोट माग्ने सन्दर्भमा हालेका हुन्। उनले यो भिडिओको अगाडिको अंश र पछाडिको अंश हटाएका छन्। उनले बीचको अंशमात्र राखेर अहिलेको चुनावको सन्दर्भ जोडेका छन्।
रवि र बालेनबीच पटक-पटक छलफलपछि सात बूँदे सहमति भएको थियो। उक्त सहमतिमा ‘रविले पार्टीको नेतृत्व गर्ने, बालेनलाई आगामी प्रधानमन्त्रीमा अघि सार्ने’ उल्लेख थियो। त्यसपछि बालेनले महानगरको मेयर पदबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेका थिए।
हेर्नुस्, रवि बालेनको सहमतिबारे अनलाइनखबरले लेखेको समाचार
तथ्यजाँच
दावी : रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने सहमति भइनसकेको अर्थ दिने भिडियो।
दावीकर्ता : महादेव नामक फेसबुक प्रयोगकर्ता
तथ्यजाँच : भ्रामक सूचना । रास्वपा सभापति रवि लामिछानेले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने सहमति नभएको भनेका छैनन्। बालेन शाह रास्वपा प्रवेश गर्ने क्रममा भएको छलफलपछि पत्रकारलाई दिएको प्रतिक्रियाको पुरानो सानो क्लिप हालेर भ्रम फैलाइएको हो। रास्वपाका सभापति लामिछानेले पार्टीको नेतृत्व गर्ने, बालेनलाई आगामी प्रधानमन्त्रीमा अघि सार्ने सहमति भएको थियो। त्यसपछि उनले सार्वजानिक रुपमा बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति नभएको भनेका छैनन्।
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।