तथ्यजाँच भ्रामक सूचना वागमती

वर्षमान पुनले प्रचण्डको योजनामा मुलुक जलाइएको भनेका हुन्? भ्रामक भिडियोको तथ्य


वर्षमान पुनले प्रचण्डको योजनामा मुलुक जलाइएको भनेका हुन्? भ्रामक भिडियोको तथ्य

नेपाली कांग्रेस र नेकपा एमालेकाे रिसले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजनामा मुलुक जलेको भनेर नेपाली कम्युनिष्ट पार्टीकै नेता वर्षमान पुनले बोलेको दावीसहित एउटा तस्बिरसहितको पोस्ट फेसबुकमा फैलिएको छ।

तर हामीले गरेको तथ्य जाँचमा नेपाली कम्युनिष्ट पार्टीका नेता पुनको अभिव्यक्तिलाई तोडमोड गरेर भ्रम फैलाएको पुष्टि भएको छ।

के हो दावी ?

१४ हजार फलोअर्स रहेको निर्मला रोकाय रेग्मी नामका फेसबुक प्रयोगकर्ताले फेब्रुअरी ४ मा एउटा पोस्ट गरेकी छिन्। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनको फोटो रहेको पोस्टमा पहिलो पटक सत्य बोलेको लेखिएको छ। फोट‍ोमा  उनले कांग्रेस र एमालेको रिसले प्रचण्डको योजनामा मुलुक जलाएको र अहिले पनि जेन्जी भन्दै हिँडेको भनेर उल्लेख छ। यो तथ्य जाँच गर्ने समयसम्ममा यो पोष्टमा ३१० पटक रियाक्ट भएको छ भने ४१ पटक कमेन्ट र ३३ पटक सेयर भएको छ ।

हेर्नुहोस् निर्मला रोकाय रेग्मी नाम गरेका फेसबुक प्रयोगकर्ताले गरेको पोष्टको स्क्रिन सट

निर्मला रोकाय रेग्मीले गरेको पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

के हो तथ्य ?

यो तथ्य जाँच गर्नुभन्दा पहिले हामीले निर्मला रोकाय रेग्मीको फेसबुक पोष्टलाई राम्रोसँग नियालेर हेर्‍यौँ। ग्राफिक्सको शीर्ष भागमा २०८२ साल माघ १५ गते विहीबार लेखिएको छ ।

वर्षमान पुनभन्दा थोरै तल अरु कसैको लोगो छोपिएको देखिन्छ । ‘मुलुक जल्नुको मुख्य कारण का‌ंग्रेस एमाले’ लाइन एउटा फन्टमा लेखिएको छ भने ‘को रिसले प्रचण्डको योजनामा हो, अहिले पनि जेनजी भन्दै हि‌ँडिरहेका छन्’ लाइन अर्को फन्टमा लेखिएको छ।

त्यसपछि हामीले भाइरल पोस्टको ग्राफिक्सलाई गुगल रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ। त्यसको नतिजामा ७६ हजार फलोअर्स रहेको बिहानी अनलाइनखबर नामको फेसबुक पेजमा जनवरी २९ को दिन वर्षमान पुनको भनाई तस्बिरसहित पोष्ट भएको भेटियो ।

यो पोष्टमा बिहानी अनलाइन खबरको लोगो स्पष्टसँग देखिने गरी राखिएको देखिन्छ । वर्षमान पुनको नाम लेखिएको भन्दा अलि तल लेखिएको छ, ‘मुलुक जल्नुको मुख्य कारण कांग्रेस एमाले गठबन्धन र केपी शर्मा ओली हुन् ।’ 

 स्क्रिनसट हेर्नुहोस्

विहानी अनलाइन खबर पेजको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

अहिले भाइरल भएको निर्मला रोकाय रेग्मीको फेसबुक पोष्ट र विहानी अनलाइन खबर नामक पेजमा भएको पोष्ट तुलाना गर्दा यस्तो देखियो ।

हामीले त्यो पोष्टलाई मात्रै विश्वास गरेर निष्कर्षमा पुग्न सकेनौं । ‘मुलुक जल्नुको मुख्य कारण कांग्रेस एमाले गठबन्धन र केपी शर्मा ओली हुन्’ भनेर वर्षमान पुनले बोलेको कुरा समाचारको रुपमा प्रकाशित छ कि छैन भनेर यहि शीर्षकलाई ‘कीवर्ड’ बनाएर गुगल एड्भान्स सर्च गरेर खोज्यौं । नतिजामा माघ १२ गते सोमबार सिलापत्र डटकममा ठ्याक्कै यहि शीर्षकमा समाचार प्रकाशित भएको भेटियो ।

सिलापत्रले प्रकाशित गरेको समाचारको स्क्रिन सर्ट हेर्नुहोस्

सिलापत्रको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यो समाचारलाई अझै पुष्टि हुनेगरी अरु थुप्रै अनलाइनले माघ १२ गते नै यहि शीर्षकमा समाचार प्रकाशित गरेको भेटियो । नेपाल न्यूज डटकमले  ‘मुलुक जल्नुको मुख्य कारण कांग्रेस एमाले गठबन्धन हो’ शीर्षकको वर्षमान पुनको तस्बिरसहितको समाचार त्यहि दिन प्रकाशित गरेको भेटियो ।

नेपाल न्यूजको स्क्रिन सट हेर्नुहोस्

नेपाल न्यूजको ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ

तथ्य जाँच

दावी : वर्षमान पुनले ‘कांग्रेस-एमालेको रिसले प्रचण्डको योजनामा मुलुक जलाइएको’ भनेर बोलेकाे

दावीकर्ता : निर्मला रोकाया रेग्मी नामको फेसबुक प्रोफाइल

तथ्य : भ्रामक सूचना । वर्षमान पुनले २०८२ सालको माघ १२ गते सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा मुलुक जल्नुको मुख्य कारण कांग्रेस एमाले गठबन्धन र केपी शर्मा ओली हुन्’ भनेर बोलेका थिए । तर यसलाई तोडमोड गरेर वर्षमान पुनले ‘कांग्रेस र एमालेको रिसले प्रचण्डको योजनामा मुलुक जलाएको’ भनेर बोलेको भनेर भ्रम फैलाएको पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add