- पवित्रा पराजुली
- माघ २७, २०८२

संखुवासभाको चैनपुरमा भोट माग्न गएका एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको हो ?
पछिल्लो केही दिनदेखि सङ्खुवासभाको चैनपुरमा भोट माग्न गएका नेकपा (एमाले)का कार्यकर्तामाथि एक युवाले खुकुरी प्रहार गरेको पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
तस्वीरसहित राखिएको उक्त पोस्टहरू हाम्रो तथ्य जाँचले भने भ्रामक भएको पुष्टि गरेको छ ।
के हो दावी ?
कृष्ण अयाँल नामक फेसबुक प्रयोगकर्ताले फेब्रुअरी ३ तारिख मंगलबार साँझ ८ः८ बजे फेसबुकमा एउटा पोस्ट राखे ।
सङ्खुवासभाको चैनपुरमा भोट माग्न गएका नेकपा (एमाले)का कार्यकर्तामाथि एक युवाले खुकुरी प्रहार गरेको दाबीसहित उनले गरेको पोस्टमा लेखिएको छ, “सङ्खुवासभाको चैनपुरमा भोट माग्न गएका एमालेका कार्यकर्तालाई एक युवाले खुकुरी प्रयोग गरी ठाउँको ठाउँ ढलाएका छन् । ७६ जनाको रगतले ७६ जना एमाले र काङ्ग्रेसहरू दशैको बोका झैँ ठाउँको ठाउँ काटिन सक्ने अनुमान गरिएको छ ।”
एक तस्वीरसहित राखिएको उक्त पोस्टमा हामीले तथ्य जाँच गर्दै गर्दा ८ हजार तीन सय लाइक, एक हजार दुई सय कमेन्ट र ९ सय ७८ पटक शेयर गरिएको छ ।
हेर्नुहोस्, कृष्ण अयाँल नामक फेसबुक एकाउन्टमा राखिएको पोस्टको स्क्रिन सट :

उक्त एकाउन्टमा राखिएको पोस्टको लिङ्क र अर्काइभ लिङ्क
रबिन प्याकुरेल नामक फेसबुक एकाउन्टमा पनि सोही दिन नै सङ्खुवासभाको चैनपुरमा भोट माग्न गएका एमालेका कार्यकर्तालाई एक युवाले खुकुरी प्रयोग गरेको भन्ने दाबीसहित पोस्ट गरिएको गरिएको छ । हामीले तथ्य जाँच गर्दै गर्दा उक्त पोस्टमा १३ हजार ६ सयले रियाक्सन, १५ सयले कमेन्ट गरेका छन् भने १ हजार १ सय पटक सेयर गरिएको छ ।
हेर्नुहोस्, रबिन प्याकुरेल नामक फेसबुक पेजमा राखिएको स्ट्याटस :

सोही पोस्ट रिमा सिंह नामक फेसबुक पेजमा पनि कपी गरिएको छ, जहाँ लेखिएको छ, “यस्तै गरेर ७५ जना कांग्रेस, ७५ जना एमालेका मान्छे काटिएर चुनाव हुनु पर्ने होला …..सङ्खुवासभाको चैनपुरमा भोट माग्न गएका एमालेका कार्यकर्तालाई एक युवाले खुकुरी प्रयोग गरी ठाउँको ठाउँ ढलाएको भन्ने खबर के हो…..

उक्त एकाउन्टमा राखिएको पोस्टको लिंक र अर्काइभ लिंक यहाँ छ

हामीले उक्त घटनाबारे जाँच गर्नको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक मेघराज अर्याललाई सम्पर्क गर्यौँ । उनले जिल्लामा त्यस्तो घटना नभएको बताए ।
संखुवासभा चैनपुर नगरपालिका १० इखम्बु बन्ने ५९ वर्षीय शिवकुमार राईले सोही स्थानमा बस्ने ४७ वर्षीय लीलाप्रसाद राईबिच जनावरले घाँस खाएको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या गरेको पाइएको छ । यससम्बन्धी प्रेस विज्ञप्ति जिल्ला प्रहरी कार्यालयले जारी गरेको र कान्तिपुर, शिलापत्र र रातोपाटी जस्ता मिडियाले समाचार बनाएको पाइएको छ ।
हेर्नुहोस्, जिल्ला प्रहरी कार्यालय सङखुवासभाले जारी माघ १७ गते जारी गरेको प्रेस विज्ञप्ती :

तथ्य जाँच
दावी : सङ्खुवासभाको चैनपुरमा भोट माग्न गएका नेकपा (एमाले)का कार्यकर्तामाथि खुकुरी प्रहार भएको पोस्ट ।
दावीकर्ता : कृष्ण अयाँल, रबिन प्याकुरेल र रिमा सिंह लगायत फेसबुक प्रयोगकर्ताहरू
तथ्य : भ्रामक सूचना । संखुवासभाको चैनपुर नगरपालिकामा खुकुरी प्रहारबाट हत्या भएको समाचार सही हो । तर भोट माग्न गएका नेकपा (एमाले)का कार्यकर्तालाई एक युवकले खुकुरी प्रहार गरे भन्ने दाबी भ्रामक भएको हाम्रो तथ्यजाँचले पुष्टि गर्छ ।