- टेकमान शाक्य
- माघ १९, २०८२

बालेनको घरमा चुनावको लागि बोरामा पैसा ओसारेको दाबी यसकारण मिथ्या
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहको घरमा चुनावको लागि ओसारपसार भएको रुपैयाँ भेटिएको दावी गर्दै नदी किनारमा तीन बोरा नेपाली हजारका नोट जस्तो देखिने एउटा फोटो सामाजिक सञ्जालमा भाइरल छ। तर हाम्रो तथ्य जाँचले यो दाबी मिथ्या रहेको र फोटो पनि एआईबाट तयार पारिएको पुष्टि भएको छ।
के हो दाबी ?
२१ हजार फलोअर्स रहेको देब बहादुर थापा अंकित नाम गरेको फेसबुक पेजबाट आइतबार (२०२६ को फेब्रुअरी १) मा बोरामा नोटका बण्डलसहितको एउटा फेसबुक पोष्ट सार्वजनिक भएको छ ।
पोष्टमा बालेनको घरमा चुनावको लागि ओसारपसार भएको रुपैयाँ भएको दाबी गरिएको छ। यो तथ्य जाँच गर्ने समयसम्ममा यो पोष्टले ७ हजार ४ सयले रियाक्ट, २ हजार ३ सय जनाले कमेन्ट र ७ सय ३० जनाले सेयर गरेका छन् ।
हेर्नुहोस् ‘देब बहादुर थापा अंकित ‘ नामक फेसबुक पेजले सार्वजनिक गरेको पोष्टको स्क्रिनसट

फेसबुक पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
हामीले उक्त दाबीको तथ्य जाँचको क्रममा बालेनको घरबाट पैसा ओसारपसार भएको कुनै पनि समाचार फेला पार्न सकेनौँ ।
त्यसपछि हामीले फोटोलाई ध्यान दिएर हेर्यौँ। यसो हेर्दा फोटोमा हजारको नोट जस्तो देखिए पनि जुम गरी हेर्दा अस्वभाविक देख्यौँ। जस्तै एउटा नोटमा हजारको नोटको अग्र भागमा नै हात्ती देखिन्छ।
त्यसपछि हामीले यो फोटोलाई गुगलबाट Synth ID परीक्षण गरेर हेर्यौँ। गुगलको Synth ID Check भनेको गुगलले विकास गरेको SynthID प्रविधि हो, जसले एआईले बनाएको फोटो, अडियो, भिडियो वा टेक्स्टमा अदृश्य डिजिटल वाटरमार्क राख्छ र त्यसको माध्यमबाट सामग्री एआई जेनेरेटेड हो कि होइन भनेर पहिचान गर्न मद्दत गर्छ।
यसलाई नाङ्गो आँखाले देख्न सकिँदैन तर विशेष सफ्टवेयरले पत्ता लगाउन सक्छ । फोटोलाई काटछाँट (crop) गर्दा वा यसको साइज घटाउँदा पनि यो चिन्ह मेटिँदैन। यो प्रविधिले तस्बिर एआईमार्फत निर्मित एवम् सम्पादन गरिएको देखायो ।

यसको नेपाली रुपान्तरण यस्तो छ ।

त्यसपछि हामीले उक्त तस्वीरलाई इमेजह्विस्पररमा जाँच गर्यौँ। इमेज ह्विस्पररले पनि यो तस्वीर एआई निर्मित गरेर सम्पादन भएको पुष्टि गर्यो । यो टुलले एआई मार्फत हेरफेर गरेको ८५ प्रतिशत सम्भावना देखायो भने यो फोटो वास्तविक जस्तै देखिएपनि नोट, बोरा र मूल्यको दृश्यबीच प्रकाश र छायाँमा बेमेल देखिएको दाबी गर्यो।

तथ्य जाँच
दावी : बालेन साहको घरमा चुनावको लागि ओसारपसार भएको रुपैयाँ भन्दै भाइरल फोटो।
दावी कर्ता : देब बहादुर थापा अंकित नामक फेसबुक पेज।
तथ्य : मिथ्या सूचना । बालेन साहको घरमा चुनावको लागि ओसारपसार भएको दाबी मिथ्या हो भने रुपैयाँ भन्दै भाइरल तस्बिर एआई निर्मित एवम् सम्पादन गरिएको हो।
