- सुरज घिमिरे
- फाल्गुन ३, २०८२

दैलेख–१ की कांग्रेस उम्मेदवार बासना थापा ‘पहिलो पटक चुनावमा’ भन्ने नागरिकको दावी भ्रामक
‘नागरिक’ दैनिक पत्रिकाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी बासना थापा पहिलो पटक चुनावमा होमिएको दावी गर्दै समाचार प्रकाशन गरेको छ।
तर, हाम्रो तथ्य जाँचले थापा २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा उम्मेदवार भइसकेको पुष्टि गरेको छ।
के हो दाबी ?
नागरिक दैनिक पत्रिकामा फागुन १ गते दैलेखका उम्मेदवारहरूसम्बन्धी समाचार प्रकाशित भयो। तेस्रो पृष्ठमा वीरेन्द्रनगरबाट गोविन्द केसीको बाइलाइनमा प्रकाशित समाचारको शीर्षक छ, ‘ दैलेख निर्वाचन क्षेत्र नं १ : पुराना उम्मेदवारलाई नयाँले दिए चुनौती’
समाचारको दोस्रो अनुच्छेदमा लेखिएको छ, ‘कांग्रेसबाट उम्मेदवारी दिएकी थापा युवा पहिलो पटक चुनावमा होमिएकी छन्। दैलेखमा पटक पटक चुनावमा लडेका अनुभवीसँग नयाँ उम्मेदवार बस्नेत र थापाले टक्कर दिएका छन्। ’
हेर्नुहोस्, नागरिक दैनिकमा प्रकाशित समाचार :

उक्त समाचार भएको इ-पेपरको लिङ्क
उक्त समाचारलाई नागरिक दैनिकको अनलाइनमा समेत प्रकाशित गरिएको छ ।
हेर्नुहोस्, स्क्रिनसट :

नागरिक दैनिक अनलाइनमा प्रकाशित समाचारको लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
हामीले तथ्य जाँच गर्ने क्रममा बासना थापाबारे गुगलमा खोज्यौं । सोही क्रममा अनलाइनखबर डटकमको चुनाव विशेष डाटा पोर्टलमा बासना थापाको प्रोफाइल भेट्यौं।
‘महिला नेतृत्वमा कांग्रेसले गरेको भरोसा’, शीर्षकसहित अनलाइनखबरमा प्रकाशित थापाको प्रोफाइलमा उनी पहिलो पटक संसदीय प्रतिस्पर्धामा उत्रिएको भए पनि २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेर एमालेकी सावित्री मल्लसँग ५७७ मतले पराजित भएको उल्लेख ।
हेर्नुहोस्, बासना थापाको सम्बन्धमा अनलाइनखबरमा प्रकाशित प्रोफाइलको स्क्रिन सट :

बासना थापाको सम्बन्धमा अनलाइनखबरमा प्रकाशित प्रोफाइल हेर्न यहाँ क्लिक गर्नुहोस्
यसको पुष्टिका लागि हामीले निर्वाचन आयोग को आधिकारिक वेबसाइटमा गएर २०७४ मा भएको स्थानीय तहको मत परिणामबारे हेर्यौँ। त्यहाँ गत स्थानीय तहको निर्वाचन – २०७४ मा दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी बासना थापाले ४ हजार २८९ मतसहित दोस्रो भएको जानकारी राखिएको छ।
हेर्नुहोस्, गत स्थानीय तहको निर्वाचन – २०७४ मा दैलेखको नारायण नगरपालिकाको उपप्रमुख पदको मतगणना विवरण

तथ्य जाँच
दावी : आगामी प्रतिनिधिसभाको निर्वाचनको लागि दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी बासना थापा पहिलो पटक चुनावमा होमिएको।
दावीकर्ता : नागरिक दैनिक पत्रिका र अनलाइन संस्करण।
तथ्य/निश्कर्ष : भ्रामक सूचना। नागरिक दैनिकले बासना थापा “पहिलो पटक चुनावमा होमिएकी” दाबी गरेको भए पनि निर्वाचन आयोगको आधिकारिक विवरण अनुसार उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा नारायण नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी थिइन्। संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएको सही हो, तर समाचारमा प्रयोग गरिएको वाक्य संरचनाले उनी समग्र राजनीतिक जीवनमै पहिलो पटक चुनाव लड्दैछिन् भन्ने अर्थ दिन्छ, जुन तथ्यसँग मेल खाँदैन।