तथ्यजाँच अपुष्ट सूचना मधेश सम्बन्धित प्रदेश

राजविराजमा बालेनले शालिकमा माला फ्याँके कि समर्थकलाई दिए?


राजविराजमा बालेनले शालिकमा माला फ्याँके कि समर्थकलाई दिए?

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा मधेशका जिल्लाहरुमा घुम्ने क्रममा मंगलबार राजविराज पुगेका थिए। केही सञ्चारमाध्यमले राजविराजमा रहेको मधेश आन्दोलनका प्रणेता गजेन्द्रनारायण सि‌ंहको शालिकमा बालेनले टाढैबाट माला फ्याँकेर हिँडेको दावीसहितको समाचार प्रकाशित गरेका छन्। तर केही सञ्चार माध्यमले भने बालेनले शालिकमा नभई समर्थकको हातमा माला फ्याँकेको दावी गरेका छन्। यसमा अन्यौल रहेको भन्दै हामीलाई तथ्य जाँच गरिदिन अनुरोध पनि आएको थियो। हामीले सार्वजनिक भएका विभिन्न एङ्गलका भिडियो र त्यो ठाउँको दृश्यलाई आधार मानेर तथ्य खोजेका छौँ।

के हो दावी ?

इकान्तिपुर डटकमले मंगलवार (२०८२ साल माघ २७ गते) ‘राजविराजमा गाडीबाट ओर्लिएनन् बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याकेर हिँड्दा समर्थक हेरेको–हेर्‍यै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। समाचारमा राखिएको फोटोमा बालेन गाडीमा देखिएका छन् भने उनका समर्थकहरु पनि देखिन्छ।

फोटोमा हावामा माला देख्न सकिन्छ। समाचारमा गजेन्द्र चोकमा बालेनले गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को शालिकमा माला फ्याँकेर हिँडेपछि नेता–कार्यकर्ता र समर्थक हेरेको–हेर्‍यै भएको दावी गरिएको छ।

इकान्तिपुर डटकममा प्रकाशित समाचारको स्क्रिनसट हेर्नुहोस्

इकान्तिपुरले प्रकाशित गरेको समाचारको अर्काइभ लिंक यहाँ छ

इकान्तिपुर डटकमले गरेको दावीभन्दा ठीक विपरीत दावी रातोपाटी डटकमले गरेको छ। रातोपाटीले ‘आफ्ना समर्थकलाई यसरी माला दिएका थिए बालेनले’  लेखेर भिडियो सार्वजनिक गरेको छ ।

त्यो हेर्दा बालेनले माला फ्याँकेको देखिन्छ भने त्यो माला एक जना व्यक्तिको हातमा परेको प्रष्टसँग देखिन्छ।  भिडियोको शीर्षकमा ‘बालेनले फ्याँकेका होइनन् माला, बरु आफैंले दिएका थिए समर्थकलाई’ लेखिएको छ।

यो तथ्य जाँच गर्ने समयसम्ममा रातोपाटीको यो भिडियो पोष्टमा ५ हजार ६ सय पटक रियाक्ट भएको छ भने २ सय ८ वटा कमेन्ट र ३५८ पटक सेयर भएको देखिन्छ। रातोपाटीको पेजबाट यो भिडियो ३ लाख ७३ हजार पटक हेरिएको छ।

रातोपाटीकाे भिडियो पोष्टको स्क्रिन रेकर्ड हेर्नुहोस्

रातोपाटीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

हिमालय टेलिभिजनले पनि बालेनले माला फ्याँकिरहेको भिडियो फुटेज सार्वजनिक गरेको छ। सुरुमा हिमालयन टेलिभिजनले गजेन्द्रनारायण सि‌ंहको शालिकमा माला फालेको भनेर दावी गरेको थियो।

पछि यसलाई सच्याएर शालिकमा नभई समर्थकलाई माला देखिएको भनेर सम्पादन गरेको देखिन्छ। यो तथ्यजाँचको समयसम्ममा २ हजार ३ सयभन्दा बढी पटक भिडिओमा रियाक्ट भएको छ भने ७ सय ४० वटा कमेन्ट र ९५ पटक सेयर भएको छ ।

हेर्नुहोस् हिमालयन टेलिभिजनको स्क्रिन रेकर्ड

हिमालय टेलिभिजनको ओरिजिनल लिंक यहाँ छ

के हो तथ्य ?

यो विषयको तथ्य जाँचका लागि हामीले सार्वजनिक भएको भिडियो र फोटोलाई मिहिन ढंगले केलाएर हेर्‍यौँ। बालेनले माला फ्याँकेको र त्यो माला तल रहेको व्यक्तिले समातेको दृश्य भएको भिडियोमा माला समात्ने व्यक्तिभन्दा अगाडि २ वटा पिल्लर भएको गेट देखिन्छ भने कम्पाउन्ड घेरिएको पनि देखिन्छ। नजिकै पोलहरु पनि छन्।

माला समात्ने व्यक्तिभन्दा पहिले र त्यसपछि कतै पनि बालेनले अरु माला भने फ्याँकेको देखिँदैन। बरु बालेनले माला फ्याँक्ने बित्तिकै नमस्कार गरेर अगाडि बढेको प्रष्टसँग देखिन्छ।

त्यसपछि हामीले मधेश आन्दोलनका प्रणेता गजेन्द्र नारायण सि‌ंहको सालिक रहेको ठाउँको भूगोल हेर्नका लागि गुगल स्ट्रिट भ्यूको सहायता लियौँ।

भिडियोमा देखिएको २ वटा पिल्लरसहितको गेट स्ट्रिट भ्युमा पनि हुबहु छ। बालेनले फ्याँकेको माला समात्ने व्यक्ति रहेको ठाउँ शालिक रहेको ठाउँको कम्पाउन्डभित्र अर्थात् गेटभित्रै रहेको गुगल स्ट्रिट भ्युको दृश्यको तुलना गर्दा थाहा पाउन सकिन्छ।

भिडियोमा देखिएका दुई वटा फलामका पोल पनि शालिकभित्रै रहेको गुगल स्ट्रिट भ्युमा देखिन्छ। यस्तै सार्वजनिक भिडियोमा बालेनभन्दा पछाडिको अर्थात् शालिकभन्दा पारी पट्टीको घर पनि गुगल स्ट्रिट भ्यूमा हेर्दा उस्तै देखिन्छ।

बालेनको भिडियो र गुगल स्ट्रिट भ्यूलाई हेर्नुहोस् भिडियोमा

गुगल स्ट्रिट भ्यूमा हेर्नको लागि लिंक यहाँ छ

माला समर्थकलाई दिइएको हो – बालेन सचिवालय

यो विषयमा हामीले बालेनको सचिवालयका एकजना सदस्य सुरेन्द्र बजगाईंको प्रतिक्रिया लिएका छौं। बालेनले हुटिङ लगाइरहेका समर्थकलाई लक्षित गरेर माला फ्याँकेको उनको दाबी छ। माला समात्ने समर्थक बसेको ठाउँ सालिक भएकै कम्पाउन्डभित्र रहेको स्वीकार गर्दै उनले अनावश्यक रुपमा बालेनलाई विवादित बनाउने काम भएको नेपालतथ्यजाँचलाई बताए ।

तथ्य जाँच

दावी १: बालेनले शालिकमा टाढैबाट माला फ्याँके।

दावी २: बालेनले शालिकमा नभई समर्थकलाई माला दिएका थिए।

दावीकर्ता : रातोपाटीको आधिकारिक फेसबुक पेज, इकान्तिपुर डटकमसहित सञ्चारमाध्यम।

तथ्य/निश्कर्ष : सन्दर्भ छुटाइएको / अपूर्ण दावी।  सार्वजनिक भिडियो फुटेज तथा गुगल स्ट्रिट भ्युको तुलनात्मक अध्ययन गर्दा बालेन शाहले फ्याँकेको माला गजेन्द्रनारायण सिंहको शालिक रहेको कम्पाउन्डभित्र पुगेको देखिन्छ। माला एक व्यक्तिले समातेको दृश्य पनि देखिन्छ।

भिडियो विश्लेषण गर्दा माला शालिक रहेको कम्पाउन्डभित्र पुगेको देखिन्छ। तर माला प्रत्यक्ष रूपमा शालिकमै अर्पण भएको वा झुण्डिएको दृश्य भने स्पष्ट छैन। त्यसैगरी बालेनले समर्थकलाई छुट्टै रूपमा माला दिएको प्रमाण पनि उपलब्ध छैन।

त्यसैले ‘शालिकमा टाढैबाट माला फ्याँके’ भन्ने दावी र ‘शालिकमा नभई समर्थकलाई माला दिएका थिए’ भन्ने दावी दुवै उपलब्ध दृश्य प्रमाणबाट पूर्ण रूपमा पुष्टि हुँदैनन्।

उपलब्ध प्रमाणका आधारमा दुवै दावी अपूर्ण र सन्दर्भ छुटाइएको देखिन्छन्। यो निष्कर्ष सार्वजनिक भिडियो फुटेज, स्थिर तस्बिर तथा गुगल स्ट्रिट भ्युको तुलनात्मक अध्ययनका आधारमा निकालिएको हो।

(इकान्तिपुरले पछि समाचार अपडेट गरी रास्वपा सप्तरीका सभापति डम्बर साहको भनाई राखेको छ जसमा वरिष्ठ नेता शाह हतारमा भएकाले गाडीबाटै सम्मान गर्दै गजेन्द्रनारायण सिंहको सालिकमा माला अर्पण गरेको उल्लेख गरी सन्दर्भ उल्लेख गरेको देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add